अर्थमन्त्री कृष्णबहादुर महरा भन्छन्– ‘मार्जिन लेन्डिङको सीमा बढाउन म गभर्नरसँग तुरुन्तै कुरा गर्छु’

28 Nov,2016
  • mahara_2_11_28_2016_10_27_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ता सोमबार बिहानै अर्थमन्त्रीकहाँ पुगेका छन् । 
 
नरोकिने गरी घट्न थालेको सेयर बजारलाई तत्काल सम्हाल्न लगानीकर्ताले अर्थमन्त्रीलाई आग्रह गरे । उनीहरूले अहिलेको अवस्थामा बजारलाई थप तल जान नदिन मार्जिन लेन्डिङको सीमा बढाउनुपर्ने बताए । 
 
यसबाहेक अनलाइन कारोबार, ब्रोकरलाई राजधानीबाहिर सेवा विस्तार गर्न तत्काल काम गर्नुपर्ने सुझाव दिए ।

लगानीकर्ताको कुरा सुनिसकेपछि अर्थमन्त्री कृष्णबहादुर महराले भने, तपाईहरू नआत्तिनुस, म छिट्टै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग मार्जिन लेन्डिङका विषयमा कुरा गरिहाल्छु ।
 
 मार्जिन लेन्डिङको सीमा बढाउन आग्रह गर्छु । बजार सुधारका काम पनि तत्काल अघि बढ्नेछ । ’ त्यसो त राष्ट्र बैंकले मार्जिन लेन्डिङ ५० प्रतिशत कायम गरेको छ ।

लगानीकर्ताले यसलाई बढाएर ७० प्रतिशतसम्म पुर्याउनुपर्ने माग गरेका हुन् । 
मार्जिन लेन्डिङको सीमा नबढाए सेयरको घटेको मूल्यको आधारमा बैंकहरूले ऋण तिर्नका लागि अब धमाधम मार्जिन कल गर्न थाल्नेछन् । मार्जिन कल हुन थालेपछि सेयर बजार झनै तल झर्ने सम्भावना हुन्छ । 
 
सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले संघले सोमबार बिहानै अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेको बताए । ‘मार्जिन लेन्डिङको सीमा बढाउन अर्थमन्त्रीले तत्कालै गभर्नरलाई भेटेर कुरा गर्ने भन्नुभएको छ,’ उनले भने । 
 
यसबाहेक बजार सुधारका थुप्रै काम गर्ने जानकारी पनि अर्थमन्त्रीले गराएको उपाध्यक्ष फुल्लेलले नेपााली पैसालाई बताए ।