सेयर बजार विश्लेषक रविन्द्र भट्टराई भन्छन् – दीर्घकालीन लगानीकर्ताले किन चिन्ता लिने ?

28 Nov,2016
  • rabindra_11_28_2016_5_46_32.jpg
                                                             रविन्द्र भट्टराई 

नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार बेलाबेला तलमाथि भइरहन्छ । यो बजारको नियम पनि हो । दीर्घकालीन लगानीकर्ता बजार घट्दा आत्तिनुपर्ने हुँदैन । 
 
केही समय हुने कागजी नोक्सानका बारेमा त्यति साह्रो चिन्ता पनि लिनुपर्दैन । तर जसले अल्पकालीन कारोबार वा भनौं टे«ेडिङ गरेको छ, त्यस्ताका लागि भने बजार घट्दा चिन्ताकै विषय बन्छ । 
 
धेरैजसो अल्पकालीन कारोबारीले बैंकबाट ऋण लिएका हुन सक्छन् । यस्तो बेला बजार ओरालो लाग्दा उनीहरूमा बजार झनै् तल झर्छ कि भन्ने थप चिन्ता बढ्न जान्छ । 
 
सेयर भाउ थप तल झरेमा बैंकले मार्जिन कल गर्ने डर हुन्छ । त्यही भएर घट्दो बजारमा ट्रेडरहरू आत्तिएर सेयर बिक्री गर्न सुरु गर्छन् । कतिपय अवस्थामा जति भाउ पायो त्यतिमा बिक्री गर्ने प्रवृत्ति पनि देखिन्छ, त्यही भएर बजार झन तल जान थाल्छ । 
 
अल्पकीलन लगानीकर्तालाई यस्तो बेला सेयर बिक्री गर्नुबाहेक अन्य विकल्प पनि हुँदैन । सेयरको लगानीमा ऋणको अंश अत्याधिकमात्रामा हुने गर्छ । अरबौं रूपैयाँसम्म बैंकबाट ऋण लिएर लगानी गर्नेहरू पनि हुन्छन्, बजारमा । बजार केही घट्ने बित्तिकै यस्तै ऋण लिनेबाट सेलिङ प्रेसर बढ्ने गर्छ । 
 
लगानीकर्ताले ख्याल गर्नुपर्ने अर्को महत्वपूर्ण पक्ष के हो भने पूर्ण बुलिस वर्षमा बाहेक हाम्रो सेयर बजारमा जहिले पनि सिजनल प्रभाव पर्छ । यतिबेला बजार घट्नुमा सिजनको पनि प्रभाव हो । 
 
अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । हकप्रद, एफपीओ लगायतका औजार पनि बाहिर आइसकेका छन् । यस्तो बेला बजार केही करेक्सन हुनुलाई हामीले सामान्यरूपमा लिन सक्नुपर्छ । 
 
सेयर बजारलाई यतिबेला बैंकले ब्याजदरको पनि केही चाप परेको देखिन्छ । बैंकले आठ–नौ प्रतिशतसम्म ब्याज अफर गर्न थालेपछि जोखिम लिन नचाहने लगानीकर्ता त्यतातिर डाइभर्ट हुने सम्भावना हुन्छ । यसको पनि बजारमा केही प्रभाव पर्न गएको पक्षलाई हामीले भुल्नु हुँदैन । 
 
सेयर बजारमा मनोविज्ञानको अत्यन्तै ठूलो हात रहन्छ । बजार घट्न थाल्यो भनेपछि लौ अब झन् घट्छ भनेर बिक्री गर्न हतारिने प्रवृत्ति हुन्छ । यसैगरी, बढ्न सुरु गरेपछि किन्नै पाइन्न भन्ने जस्तो गरी दौडिहाल्ने प्रवृत्ति पनि केहीमा रहन्छ । 
 
यसर्थ, अहिले बजार अस्थिर हुनुमा लगानीकर्ताको मनोविज्ञानको निकै ठूलो हात छ । मोदी सरकारले भारु प्रतिबन्ध गर्दाको केही असर पक्कै देखिएको छ । अहिले नेप्सेले केही हदसम्म यसको पनि प्रेसर खेप्नुपरेको हो । 
 
फेरि बजार बढ्दा भन्दा घट्दा छिटो दौडिने गर्छ । चार वर्ष लागेर उच्चतम बिन्दुमा पुगेको बजार न्यूनतम बिन्दुमा ओर्लिन त्यति नै समय लाग्दैन । त्यो भन्दा निकै कममा झर्न सक्छ । अर्थात् ओरालो लाग्ने गति छिटो र त्यसको तुलनामा उक्लिने गति अलिढिलो हुन्छ । 
 
घटबढ बजारको नियम हो । बुझेर लगानी गरौं । आत्तिने र मात्तिने दुवै प्रवृत्ति घातक हुन्छ । दीर्घकालीन लगानीकर्ताले बजारमा हुने उतारचढाव वा भनौं बेलाबेला आउने हावाहुरीले केही पनि असर गर्दैन । तर अल्पकालीन कारोबारी भने सजग हुनैपर्छ । 
 
                  (विश्लेषक भट्टराईसँग नेपाली पैसाले गरेको कुराकानीमा आधारित ।)