किन हुँदैछ सेयर बजारको घाँटी निमोठ्ने हर्कत ? मुलुक बनाउने हो भने बजार जोगाउनैपर्छ

02 Dec,2016
  • analraj_0_12_2_2016_4_28_18.jpg
                                                             अनलराज भट्टराई 
 
नेपाली पैसा 
 
काठमाडौं : नीतिनिर्माताले अबको २० वर्षपछिलाई हेरेर काम गर्नुपर्छ । 
 
अबको १० वर्षपछि सेयर बजारलाई कहाँ पुर्याउने अनि २० वर्षपछि हाम्रो सेयर बजारलाई विश्वका बजारसँग तुलना गर्दा कस्तो होला भन्ने सोचेर नीतिनिर्माताले काम गर्ने हो । हामीकहाँ नीतिनिर्माता त केबल बजार बढ्दा विज्ञप्ति निकाल्ने अनि घटेपछि फेरि विज्ञप्ति नै जारी गर्ने, यत्तिमै सीमित देखियो । 
 
यतिबेला हाम्रो सेयर बजार निकै अस्थिर देखिएको छ । शिशु अवस्थामा रहेको बजारको घाँटी निमोठियो भने यो फेरि माथि उठ्न सक्दैन । पछिल्लो मोटामोटी अध्ययनलाई आधार मान्ने हो भने सहरी क्षेत्रका महिलाको ४० प्रतिशत बचत यतिबेला सेयर बजारमा लगानी भएको छ । 
 
महिला विस्तारै सेयर बजारमा आउने संकेत देखिएको छ । सहरी क्षेत्रमा मात्र होइन, ग्रामीण भेगका महिलालाई पनि सेयर बजारमा ल्याउन सरकारले सम्बोधन गर्न सक्नुपर्छ । महिला सहभागिता नबढेसम्म सेयर बजारको दीगो विकास हुनै सक्दैन । 
 
पुँजी बजार पुँजी संकलन गर्ने सबैभन्दा भरपर्दो आधार हो । यदि, हामी पुँजी संकलनको गतिलो आधार तय गर्न महिला सहभागिता बढाउन चाहन्छौं भने उनीरूले सेयर किन्दा कर छुट दिनैपर्छ । 
 
हाल पाँच प्रतिशत पुँजीगत लाभकर लिने गरिएकोमा महिलाले सेयर किन्दा केही समयसम्म पूरै यो कर छुट दिने अनि निश्चित अवधिपछि तीन प्रतिशतमात्र लिने व्यवस्था गर्न सकिन्छ । यस्तै, निश्चित सीमा तोकेर त्यो लगानीसम्मलाई कर छुट दिंदा पनि हुन्छ । जस्तो, अहिले १० लाख रूपैयाँसम्मको कारोबारमा कर छुट भन्न सकिन्छ । 
 
जबसम्म महिला सेयर बजारमा प्रवेश गर्दैनन् तबसम्म वास्तविकरूपमा यो बजारको विकास हुनै सक्दैन । महिलाले सेयर किनेमात्र उनको छोराछोरीले यो बजारका बारेमा थाहा पाउन सक्छन् । 
 
हामीकहाँ पुरुषले त आफ्नो कारोबार सबै परिवारलाई जानकारी गराउने प्रचलन नै अत्यन्त कम छ नि । यसर्थ, महिला सहभागिता बढाउन पोलिसी रेसपोन्स हुनैपर्छ । 
 
मुलुक बनाउन हामीलाई पुँजी चाहिएको छ । पुँजी दुई प्रकारले जुटाउन सकिन्छ । एउटा आन्तरिक पुँजी अनि अर्को बाह्य । बाह्य लगानी भित्र्याउन त्यति सजिलो छैन । यसमा पनि नीतिगत समस्या छन् । यसआधारमा सजिलो आन्तरिक पुँजी संकलन गर्नमै हुन्छ । आन्तरिक पुँजी परिचालन गर्ने माध्यम भनेको सेयर बजार नै हो । 
 
सेयर बजारको विकास हुने हो भने हामी माथिल्लो तामाकोशीजस्ता सयौं परियोजना बनाउन सक्छौं । ४० हजार मेगावट बिजुली उत्पादन गर्न सके हामी सबै नेपाली समृद्ध हुँदैनौ र ? तर यसका लागि सेयर बजारप्रति सर्वसाधारणको विश्वास बढ्नुपर्यो । बजारमा अनावश्यक चलखेल गरेर बिगार्ने काम गर्नुभएन । 
 
सेयर बजारमा दीर्घकालीन लगानीकर्तालाई छुट, सहुलियतका कार्यक्रम ल्याएर आकर्षित गर्न आवश्यक छ । हामीकहाँ यतिबेला बजार निर्माताको निकै ठूलो अभाव खट्किएको छ । जनताको पैसा सदुपयोग गर्न, बजारमा अनावश्यक चलखेल हुन नदिन बजार निर्माता अनिवार्य छ । 
 
अरबौं रूपैयाँ कोष भएका बजार निर्माता आउने हो भने अहिले भइरहेको अनावश्यक चलखेल स्वतः रोकिन्छ । यसमा पनि भूमिका सरकार र नियामक निकायकै हुने हो । 
यदि, बजार अनावश्यकरूपमा घटाइयो भने सरकार आफैंले सेयर किनेर बजारलाई बिग्रिनबाट जोगाउन सक्छ । फेरि भाउ बढेपछि बिक्री गरे भइहाल्यो । 
 
जस्तो भन्सारमा न्यून बिजकीकरण भएका वा त्यस्तै, अन्य तरिकाले गडबडी गरिएका सामान सरकार आफैंले खरिद गर्न सक्छ भने सेयर बजारमा चाहिँ किन सक्दैन ? यसका लागि नीतिगत व्यवस्था हुनुपर्यो । धितोपत्र बोर्ड, अर्थमन्त्रलायले यसबारेमा अब पनि नसोचे काम कहिले गर्ने ? 
 
हामीकहाँ म्युचुअल फन्डहरूको भूमिका प्रभावकारी देखिएन । बजार तहसनहस हुन लाग्दा पनि पैसा होल्ड गरेर बस्न मिल्छ, म्युचुअल फन्डले । यदि बजारलाई दिगो बनाउन भूमिका निर्वाह नगर्ने हो भने म्युचुअल फन्डलाई किन आइपीओ छुट्याउने ? अनि किन कर छुट दिने भन्ने गहन प्रश्न खडा हुँदैछ । 
 
पुँजी बजारलाई अघि बढाउन नेपाल राष्ट्र बैंकको भूमिका उत्तिकै महत्वपूर्ण छ । राष्ट्र बैंकले तरलता अभाव हुन नदिन तत्काल कदम चाल्न सक्छ । बैंकको पुँजी दुई अर्ब हुँदा कायम गरिएको ८० प्रतिशतको सीडी रेसियो अहिलेसम्म किन त्यही कायम गर्नुपर्यो ? पुँजी आठ अर्ब पुग्न लागिसकेको छ । अब तत्काल यसलाई ८५ प्रतिशत बनाउनुपर्छ । 
 
यसबाहेक, मार्जिन लेन्डिङमा पनि राष्ट्र बैंक त्यतिधेरै कठोर हुनुपर्ने कुनै आवश्यकता देख्दिन । बैंकहरू आफैं जोखिम बहन गर्न सक्षम छन् । कर्जा प्रवाहमा फ्रि फ्लोको व्यवस्था गरे पनि बैंकहरूले नै जोखिम व्यवस्थापन गर्छन् भन्ने मलाई लाग्छ । 
 
हेर्नुस न्, दैनिक दुई अर्बभन्दा बढीको कारोबार भइसकेको हाम्रो बजार अझै काठमाडौंको चक्रपथभित्र सीमित छ । नियामक यहीँ सीमित छन्, बजार सञ्चालक यहीँ अनि ब्रोकर पनि चक्रपथ भित्र सीमित । 
 
देशका दूरदराजमा बसेका व्यक्तिले सेयर किन्न नपाउने ? उनीहरू कारोबार गर्न काठमाडौं नै आउनुपर्ने बाध्यता रहेसम्म बजारको विकासको कल्पना नगरे पनि हुन्छ । 
 
बजारको विकास गर्ने मनाशाय भएमा तत्काल वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्छ । चक्रपथको चौघेरमा सीमित बजारलाई देशव्यापी बनाउनुपर्छ । गाउँगाउँमा सेयर बजारसहित वित्तीय साक्षरता कार्यक्रम अघि बढाइनुपर्छ, अनि महिला सहभागितमा जोड दिनैपर्छ । 
 
यी सबै काम गर्न सबैभन्दा पहिला पोलिसी रेन्सपन्स हुनुपर्छ । यसका लागि अर्थमन्त्रालय, धितोपत्र बोर्ड, राष्ट्र बैंक र स्टक एक्सचेन्जको भूमिका रहन्छ । 
 
जहाँसम्म अहिलेको बजारका बारेमा कुरा गर्दा मलाई निकै दुःख लागिरहेको छ । बजारलाई अस्थिर बनाउने काम भएको छ । कृतिम बाटोबाट बजारमा हलचल पैदा गर्न खोजिंदैछ । दैनिक एक अर्बभन्दा बढीको कारोबार भइरहेको बजारलाई बियरिस भनेर बिगार्न खोजिंदैछ । 
 
मुलुक बनाउन स्रोत चाहिएको छ । त्यो स्रोत भनेको पुँजी बजारबाट मात्रै संकलन गर्न सम्भव छ । यसका लागि बजारको दिगो विकास हुनुपर्छ । बजारप्रति आमलगानीकर्ताले विश्वास गर्न सक्ने वातावरण तय गरिनुपर्छ । 
 
(तत्कालीन कमर्ज एन्ड ट्रस्ट बैंकका सीईओसमेत रहेका भट्टराई सेयर बजारका बारेमा गहन अध्ययन गर्छन् । उनै भट्टराईसँग नेपाली पैसाले गरेको कुराकानीमा आधारित । )