सेयर बजार यतिबेला नयाँ लगानीकर्ताले नै धानेका हुन्, अब बजारको ट्रेन्ड नै बदलिंदैछ

06 Dec,2016
  • ishwari_rimal_12_8_2016_1_36_53.jpg
                                                        इश्वरीप्रसाद रिमाल 
 
नेपाली पैसा 
 
काठमाडौं : निश्चय नै सेयर बजार यतिबेला करेक्सन मुडमा छ । 
 
करेक्सन कति अंकसम्मको भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । बजार केही तलमाथि हुँदा आत्तिने र मात्तिने गरिहाल्नु उपयुक्त हुँदैन । यो स्वभाविक प्रक्रिया भित्र पर्छ । 
अस्थिर राजनीतिका कारण लगानीकर्ता यतिबेला केही झस्किएको अवस्था छ ।

हामीले राजनीतिलाई जतिसुकै बेवास्ता गर्न खोजे पनि त्यसो सम्भव छैन । मुलुकको राजनीतिले जबसम्म एउटा निश्चित दिशा समाउँदैन्, त्यतिबेलासम्म लगानीकर्ता कसरी ढुक्क हुन सक्छन् र ? यसकारण यतिबेला सेयर बजारलाई अस्थिर राजनीतिले पनि            अप्ठेरोमा पारेको छ ।

यसबाहेक बैंकमा तरलता अभावजस्तो देखिएको छ । तरलता अभाव कतिसम्म गहिरिन्छ भन्ने यकिन छैन । हुन सक्छ यो, ठूलै समस्याका रुपमा देखापर्न सक्छ वा अल्पकालीनमात्र हुन पनि सक्छ । तरलता अभाव कुन तहमा जान्छ भनेर ठोकुवा गरिहाल्ने अवस्था देखिएको छैन । बजारले अहिले त्यसरी नै बुझिरहे जस्तो पनि देखिन्छ ।

यतिबेला बजार केही करेक्सन हुनुमा भारीमात्रामा आएको हकप्रद सेयर प्रमुख कारण हो । यो हकप्रद र बोनस सेयरको आपूर्ति थेग्न केही समय लाग्न सक्छ । फेरि भारीमात्रामा हकप्रद सेयर आएपछि त्यसमा लगानी गर्न पैसा चाहिन्छ । पैसा हकप्रद भर्न छुट्याउनुपरेपछि दोस्रो बजारमा खरिद गर्ने क्षमतामा ह्रास आउँछ । यसले पनि बजारमा थोरै असर पुर्याएको हो । 
 
अर्को महत्वपूर्ण पक्ष, हेर्नुस् भारु प्रतिबन्धको असर परेको छैन भनेर जतिसुकै बचाउ गर्न खोजिए पनि त्यो सम्भव छैन । खुला सिमाना र व्यापार परनिर्भरताका कारण भारुको ठूलै प्रभाव छ । मोदी सरकारले भारु एक हजार र पाँच सय रूपैयाँमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको हो ।

चारपाँच वटा समस्या एकसाथ देखिंदा त्यसले सेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको हो । यी समस्या आइरहँदा बजारमा केही करेक्सन देखिनुलाई लगानीकर्ताले सामान्यरूपमै लिनुपर्ने हुन्छ । बजारमा घटबढ निरन्तरको चक्र हो । घटेको बजारमा केही सकारात्मक परिदृश्य विकास भएपछि फेरि माथि लागिहाल्छ । यसैकारण बजार घट्दैमा निराश भइहाल्नु हुँदैन भन्ने मेरा मान्यता हो । 
 
यसबाहेक हाम्रो बजारले केही नीतिगत अनि प्राविधिक पक्षमा सुधार खोजिरहेको छ नि । जस्तो अनलाइन कारोबारको कुरा छ । पूर्णरूपमा अनलाइन कारोबार सुरु हुने हो भने त्यसले निश्यच पनि बजारमा नयाँ खाले तरंग ल्याउन सक्छ । तर पूर्णरुपमा अनलाइन कारोबार सुरु हुन अझै केही समय लाग्ने मैले देखेको छु । 
 
अनलाइन कारोबार गर्न नयाँ कानुन चाहिन्छ । अहिलेसम्म लगानीकर्तालाई खासै कानुन नै छैन । ब्रोकरलाई मात्र कानुनले बाँधे पुग्ने अवस्था छ । तर जब आफैं किनबेच नै गर्न सक्ने अधिकार लगानीकर्तालाई दिइन्छ भने त उसलाई बाध्ने गतिलो ऐन ल्याउनुपर्ला । त्यसको केही समय लाग्न सक्छ । 
 
निश्चय नै सेयर लगानीकर्ता राजधानी सीमित छन् । यसको दायरा फराकिलो बनाउनुपर्छ । तर विकट ग्रामीण क्षेत्रमा अहिले नै सेयर चेतना फैलाउन त्यति सहज छैन । विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवलजस्ता सहरका जनताले सहज तरिकाले कारोबार गर्न पाउनुपर्छ । बैंकलाई ब्रोकर लाइसेन्स दिने हो भने पहिला उनीहरू राजधानी बाहिर जानुपर्छ । जहाँसम्म गैरआवासीय नेपालीको लगानीको विषय छ । 
 
वैधानिक तवरबाट लगानी भित्रिंदा सकारात्मक असर पर्छ । तर यसको अर्थ अहिले पनि एनआरएनको लगानी नभएको चाहिँ होइन । यहाँ भएका परिवार, नातेदार वा अन्य कसैको नाममा लगानी भइरहेको छ । 
 
बजार घट्न थालेपछि म्युचुअल फन्डको भूमिकामा निकै प्रश्न पनि उठ्यो । तर मलाई अहिलेकै अवस्थामा घट्दो बजारमा म्युचुअल फन्डले केही गर्लान् जस्तो लाग्दैन । म्युचुअल फन्डहरूले बजार निर्माताको भूमिका निर्वाह गर्छन्, बजारमा माग र आपूर्तिमा तालमेल ल्याउन सक्छन् जस्तो लाग्दैन । 
 
किन भने म्युचुअल फन्डलाई मार्केट मेकरजस्तो भूमिका निर्वाह गर्ने हामीले कानुन र विधि नै बनाउन सकेनौं । आइपीओ छुट्याइदिइएको छ । अन्य लगानीकर्ताले सरह सेयर बजार बढेका बेला किन्ने अनि बजार तल झर्न थालेपछि पैसा होल्ड गरेर बसे पनि अहिलेको अवस्थामा यिनीहरूलाई केही गर्न सकिने अवस्था छैन । 
 
नागरिक लगानी कोषलाई बजार निर्माताका रुपमा भित्र्याए पनि यसले कुनै चमत्कार नै मच्चाइहाल्ने अवस्था छैन । नाफा घाटा हिसाब गर्ने भएकाले घट्दो बजारमा उसले पनि किन सेयरमा जोखिम लिन्छ भनेर ठोकुवा गर्न सकिंदैन । 
 
अब बजार धान्ने यदि कोही छन् भने ती नयाँ र छरिएर रहेका लगानीकर्ता नै हुन् । यतिबेला अधिकांश ठूला लगानीकर्ताले सेयर बेचिसकेका छन् । म्युचुअल फन्डले पनि अधिकांश हिस्सा बेचेका हुन सक्छन् । अनि, यस्तो बेलामा दैनिक झन्डै एक अर्ब हाराहारीमा सेयर कारोबार भइरहेको छ । यो सोचनीय विषय छ । 
 
यही कारण पनि हो, सेयर बजार अब क्र्यास हुँदैन भनेर ठोकुवा गर्न सक्नुको आधार । अनि, बजारलाई यिनै नयाँ, साना र छरिएर रहेका लगानीकर्ताले पिँधसम्म आउन दिंदैनन् । 
सेयर बजारको चहलपहलमा अहिले पनि कमी आएको छैन ।

यसको अर्थ, सेयर अब सर्वसाधारणमा पुगिसकेको छ । तल्लो तहले यसको स्वाद फेर्न थालिसकेको छ भन्ने यसको प्रस्ट संकेत हो । त्यही भएर बजार अहिले करेक्सन मुडमा भए पनि क्र्यास हुने गरी तल झर्दैन ।  
 
सेयर बजारको प्रवृत्ति विगतको भन्दा निकै फरक देखिएको छ । यसपटकको बुल र बियरिस दुवै अनुमानभन्दा केही पृथक रहे । बजार कति तलसम्म जान्छ भनेर अहिले कुनै पनि प्रकारले अनुमान गर्न सकिने अवस्था छैन । बजारको प्रवृत्ति नै फरक छ । त्यही भएर बुल र बियरिस साइकल पनि फरक हुन सक्ने देखिएको छ ।   

(सेयर बजारका निकै अनुभवी विश्लेषक एवं ब्रोकर रिमालसँग नेपाली पैसाले गरेको कुराकानीमा आधारित । )