केशव श्रेष्ठ लेख्छन्– बजार बियरिस हुँदैमा आत्तिनु पर्दैन, यसरी गरौं प्रतिरक्षात्मक लगानी

12 Dec,2016
  • keshav_1_12_12_2016_6_04_54.jpg
                                                                                                   केशव श्रेष्ठ 
नेपाली पैसा 
 
काठमाडौं : अहिले सेयर बजार बियरिस ट्रेन्डमा गएको भन्ने बुझाई सुरु भएको छ । 
 
यस्ता बजारमा धेरै उतारचढाव हुने सेयरहरू बढी जोखिमपूर्ण हुने गर्छन् । यस्तो अवस्थथामा कम उतारचढाव हुने अर्थात् स्टान्डर्ड डेभिएसन कम भएका सेयरहरूको छनोट गर्न सक्नुपर्दछ । आधारभूत तथ्यांकहरू बलिया भएका र मूल्य तुलनात्मकरूपमा कम भएका सेयरहरू छान्नु राम्रो हुन्छ । 
 
तर यसको अर्थ आधारभूत तथ्यांक मात्रै हेर्ने भन्ने चाहिँ होइन । कम्पनीको कमजोर व्यवस्थापन र नराम्रो कार्यसम्पादनले गर्दा कुनै आधारभूत तथ्यांक बलिया भएपनि अरु पक्षहरू कमजोर हुन सक्छन् । 
 
जस्तै मूल्य आम्दानी अनुपात कम हुनु राम्रो हो तर कम्पनीको कार्यसम्पादन नै गतिलो नभएर बजार मूल्य बेस्सरी घटेको अवस्था रहेछ भने त्यसले मूल्य अनुपात घटाइदिन्छ । त्यसैले मूल्य अनुपात मात्रै हेरेर निर्णय लिनु पनि ठीक नहुन सक्छ । 
 
बियरिस बजारमा मूल्य तह कतिसम्म घट्छ भन्ने यकिन गर्न गाह्रो हुने भएकाले पुँजीगत लाभको आशामा लगानी गर्नु बढी जोखिमपूर्ण हुन सक्छ । अहिले पनि कतिपय कम्पनीहरूले लाभांश घोषणा गरिसकेको तर बुक क्लोज गर्न बाँकी रहेको अवस्था छ ।
 
 त्यस्ता कम्पनीहरूको आधारभूत तथ्यांकहरू बलिया छन् र विगतको व्यवस्थापकीय गतिविधि राम्रा छन् भने बियरिस बजारको लागि ती सेयरहरू किन्नु राम्रो हुन्छ । घट्दो बजारमा लगानीकर्ताले मुनाफाको अपेक्षा पुँजीगत लाभबाट भन्दा पनि नियमित बोनस सेयर वा नगद लाभांशबाट राख्नु उचित हुन जान्छ । 
 
सेयर बजारमा दिन दोब्बर अनि रात चौबर नाफा हुन्छ भन्ने मानसिकता त्याग्नु ठीक हो । औसत बजारबाट जोखिमरहित आम्दानी (ब्याजदर) भन्दा बढी कमाई सेयर बजारबाट गर्दा पनि जितेकै मान्नुपर्छ । 
 
उदाहरणका लागि अहिले मुद्दति खातामा १० प्रतिशत वार्षिक प्रतिफल बैंकहरूले दिन थालेका छन् । कुनै कम्पनीले २० प्रतिशत बोनस सेयर वा नगद लाभांश दिएका छन् भने के घाटा भयो र ? 
 
अर्को कुरा, अहिले मुद्दति खातामा रकम राखे ब्याज अर्को एक वर्षपछि आउने हो । तर लाभांश घोषणा भएका तर बुक क्लोज हुन बाँकी कम्पनीको सेयर किन्दा आगामी तीन–चार महिनामै उक्त प्रतिफल पाइनेछ । 
 
बुक क्लोज हुने बित्तिकै बोनस सेयरको हिस्सा बेच्न पनि सकिनेछ । बोनस सेयर दिएपछि घटेको मूल्यमा बेच्दा पनि बैंकको मुद्दति खाताको भन्दा पनि बढी दरमा प्रतिफल र त्यो पनि तीन–चार महिनामै कमाउँदा सेयर बजारमा जितिएन र ? 
 
घटेको भाउको सेयर पहिलेकै मूल्यस्तरमा फर्किन समय अवश्य लाग्छ । तर राम्रा कम्पनीको मूल्य फर्कन छिटो हुन्छ भने नराम्रा कम्पनीको ढिलो । आफ्नो लगानीको प्रतिफल उठाइसकेपछि कुर्न पनि सक्नुपर्छ । सधैं दुवै हातमा लड्डू खोजेर पनि भएन । 
 
कुर्ने समयमा बजारलाई राम्रोसँग नियालिरहन सकिन्छ । बजारको मूड परिवर्तन हुँदा लगानीको ढाँचामा पनि परिवर्तन ल्याउन सकिन्छ । घट्दो बजारमा थोरै भए पनि दीर्घकालीन सोचले होल्ड त गर्नैपर्छ । बजारले बढ्दो स्वरुप देखाउन थालेमा छिटो लगानी बदल्न सकिहालिन्छ । 
 
यसर्थ, घट्दो बजारबाट आत्तिनुको सट्टा यस्तै रणनीतिहरू प्रयोग गरी बजारमा टिकिराख्ने कि ? 
 
         (लेखक सेयर बजार विश्लेषक एवं लगानीकर्ता हुन् । )