आइपीओ र एफपीओमा फेरि सुरु भयो धमाका, चार कम्पनीले पाए सेयर बिक्री गर्ने अनुमति

13 Dec,2016
  • ipo_12_13_2016_10_42_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : आइपीओ र एफपीओमा फेरि केही समय धमाका सुरु हुने भएको छ ।

यो सातामात्रै धितोपत्र बोर्डले एफपीओ र आइपीओ ल्याउन चारवटा कम्पनीलाई अनुमति दिएको छ । धितोपत्र बोर्डले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, हिमालयन पावर पाटर्नर, छ्याङदी हाइड्रोपावरलाई आइपीओ ल्याउन स्वीकृति दिएको हो । 
 
यसमध्ये सिनर्जीले सर्वसाधरणमा आइपीओ ल्याउनेछ भने छ्याङदी र हिमालयन पावरले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि मात्र आइपीओ जारी गर्न लागेको हो । 
 
यसैगरी, धितोपत्र बोर्डले नेपाल एसबीआई बैंकलाई प्रतिकित्ता नौ सय ७१ रूपैयाँको प्रिमियम भाउमा एफपीओ सेयर जारी गर्न पनि अनुमति दिएको छ । 
 
सिनर्जी पावरले एक सय रूपैयाँ अंकित मूल्यको २१ लाख कित्ता आइपीओ सर्वसाधारणमा बिक्री खुला गर्दैछ । 
 
उता, हिमालयन पावर पाटर्नरले स्थानीय बासिन्दालाई १० करोड ६५ लाख ४१ हजार सात सय रूपैयाँको सेयर निष्कासन गर्न लागेको हो । यसैगरी, छ्याङदीले पनि स्थानीयलाई दुई करोड ७० लाख रूपैयाँको आइपीओ बिक्री गर्नेछ । 
 
नेपाल एसबीआई बैंकले भने ६७ हजार सात सय ६७.८७ कित्ता एफपीओ निकट भविष्यमा ल्याउने योजना बनाएको हो । एसबीआईको प्रिमियम भाउ धितोपत्र बोर्डले अनुमोदन गरिसकेको छ ।