‘बिमा र लघुवित्तले अपेक्षा पूरा नगर्दा अलिकति निराशा बढेको हो,’ अन्जनराज पौड्यालको विश्लेषण

19 Dec,2016
  • anjan_12_19_2016_6_49_48.jpg
                                                                                              अन्जनराज पौड्याल

नेपाली पैसा 

 
काठमाडौं : यतिबेला सेयर बजार सिजनल बियरिस हो वा साइक्लिक बियरिस भन्ने दुविधा धेरैमा देखिएको छ । 
 
बजारको समग्रतालाई अध्ययन गर्दा यही हो भनेर ठोकुवा गरिहाल्न सक्ने अवस्था पनि देखिएको छैन । निश्चय नै बजार यतिबेला ओरालो लागेको छ । तर हामीले किन बजार ओरालो लाग्यो भनेर केही तथ्य बुझ्न आवश्यक छ । 
 
विगत वर्षहरूमा एकाध कम्पनीले मात्र दसैंतिहार अघि साधारण सभा गर्दथे । तर यसपटक राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि गर्नुपर्ने प्रावधानका कारण छिटो बोनस, हकप्रद, एफपीओलगायतका लाभांश दिन धेरै कम्पनीहरूले छिटो साधारण सभा गरे । 
 
राम्रा कम्पनीको साधारण सभा बजार बढिरहेको अवस्थामा भयो । धेरै टाठाबाठा लगानीकर्ताले यस्ता कम्पनीले दिने लाभांश तथा हकप्रद सेयर पनि किने । धेरैले नाफा बुक गरे । नाफा भएपछि केही समूह विस्तारै बाहिरिनेक्रम सुरु भयो । 
 
बजार निरन्तर बढिरहेको थियो । खासै ठूलो करेक्सन नआई १८८१ विन्दुसम्म पुग्यो । एक दिन त बजार अवश्य करेक्सन हुनु नै थियो । बजारले यही मौका खोजिरहेको थियो । यही बेला बैंकको ब्याजदर विस्तारै बढ्न थाल्यो । 
 
बैंकले सेयर कर्जामा अलि कडाई गर्न थाले । अनि, यही समयमा मोदी सरकारले भारु एक हजार र पाँच सय नोट प्रतिबन्ध लगायो । हामीकहाँ राजनीतिक अन्योलता पनि बढ्न थाल्यो ।
 
बजारलाई नकारात्मक असर पुग्ने गतिविधि एकपछि अर्को हुन थालेपछि एकपटक नाफा बुक गरिसकेका लगानीकर्ता तत्काल पुनः लगानी गर्न हिच्किचाउने अवस्था देखियो । त्यही भएर अहिले बजार सुस्त भएको हो । 
 
यतिबेला संस्थागत लगानीकर्ता पर्ख र हेर को अवस्थामा छन् । तर सँगै राम्रा कम्पनीको सेयर भाउ घटाएर खाने समूह पनि उत्तिकै सक्रिय भने छ । 
 
सेयर बजार अलिबढी प्रभावित हुनुमा बिमा र लघुवित्त कम्पनीमा लगानीकर्ताको केही हदसम्म निराशा बढ्नु पनि हो । 
 
वर्षौदेखि बिमा कम्पनीको चुक्ता पुँजी बढाउने आशमा चर्को भाउ तिरेका लगानीकर्ताले बिमा समितिले पुँजी बढाउने निर्णय नगर्दा अविश्वास पैदा भयो । बिमा कम्पनीको पुँजी पाँच अर्बसम्म पुग्न सक्छ भन्ने आशमा धेरैले महँगो मूल्य तिरेर किने । 
 
यसैगरी, लघुवित्त कम्पनीको चुक्ता पुँजी पनि बाहिर हल्ला आए जसरी बढाइएन । यसबाट पनि एक तहका लगानीकर्तामा निराशा पैदा भएको थियो । यसले बिमा र लघुवित्त कम्पनीको भाउमा सुस्त किसिमले गिरावट आउन थाल्यो । 
 
उता, बैंकमा चाहिँ आपूर्ति ह्वात्तै बढ्दा असर गरेको हो । झन्डै ६० प्रतिशत हाराहारीमा आपूर्ति बढ्दा यसलाई थेग्न सक्ने संयन्त्र तयार हुन सकेन । आपूर्ति पक्ष बलियो भएपछि भाउ केही तल झर्नु स्वभाविक हो । 
 
बैंकको चुक्ता पुँजी धेरै बढेकाले पनि लगानीकर्ता केही सचेत भएका हुन् । दुई अर्बको बैंक आठ अर्बको भएपछि कुन अनुपातमा नाफा बढाउला र लगानीकर्तालाई कति प्रतिशत लाभांश दिन सक्लान् भनेर पनि धेरैले प्रतीक्षा गर्न थाल्दा बजार केही सुस्त हुन थालेको हो । 
यसबाहेक बजार घटाउनमा अप्रत्यक्ष तर ठूलो भूमिका भारु प्रतिबन्धको परेको छ । भारु कारोबारीको अवस्था नाजुक हुँदा उनीहरूले सेयरमा गरेको लगानी झिक्नुपर्ने अवस्था आएको अनुमान छ । बजार तल झार्ने महत्वपूर्ण कारक यो पनि हो । 
 
बजार अल्पकालीन बियरिस हो वा दीर्घकालीन भनेर बुझ्न केही दिनको कारोबार रकमलाई हेर्नुपर्छ । ५०–६० करोडको कारोबार निरन्तर भइरहेमा बजार धेरै नबढे पनि धेरै घट्न  सक्दैन । तर कारोबार रकम अझै तल झर्नेक्रम देखियो भने त्यसले असर गर्ने देखिन्छ । 
 
हकप्रद र एफपीओ भर्न पैसाको जोहो गर्नुपरेकाले नाफा भएका सेयर दोस्रो बजारबाट बिक्री गर्ने प्रवृत्ति देखियो । यसले पनि बजारमा केही असर पुर्याएको हो । सँगै आगामी दिनमा राजनीति कता जान्छ त्यसले पनि निकै हदसम्म बजारको भविष्य निर्धारण गर्न सक्ने देखिन्छ । 
 
बजार वियरिस नै भएपनि निकै तल्लो विन्दुमा आउन सक्ने देखिंदैन । राम्रा कम्पनीको भाउ अलिसस्तो भाउमा किन्ने लगानीकर्ताको यतिबेला पनि कुनै कमी छैन । यो घट्दो बजारको सबैभन्दा राम्रो पक्ष हो ।

लगानीकर्ता सेयर बजारप्रति आकर्षित छन् भन्ने यसले देखाउँछ । यसर्थ, अब केही समय हेरौं, बजार सिजनल बियरिस हो वा साइक्लिक भन्ने थाहा भइहाल्छ । ब्रोकरलाई तत्काल उपत्यका बाहिर कारोबार खुला गरी डिलरसीपको काम गर्न दिने हो भने फेरि बजारमा नयाँ उछाल आउन सक्छ । 
 
बजार निर्माता आउन सकेमा घट्दो भाउमा उनीहरूले सेयर खरिद गर्न सक्छन् । बजारको तल झर्नेक्रम रोकिन सक्छ । यतिबेला दीर्घकालीन हिसाबले लगानी गर्नुपर्छ । 
 
दीर्घकालमा भने बजारको भविष्य राम्रो देखिन्छ । अल्पकालीन लगानीकर्ताका लागि मात्र डर हो । विगतको वियरिस ट्र्न्डमा जस्तो अहिले राम्रा कम्पनी किन्नेक्रम ठप्प भएको छैन । छानिरोजी सेयर किनिरहेकाले बजार अलिफरक ढंगले अघि बढेको आभाष हुन थालेको छ । 
 
(स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष पौड्यालसँग नेपाली पैसाले गरेको कुराकानीमा आधारित । )