छोटेलाल रौनियार लेख्छन्–लगानीकर्ताको हित विरुद्ध षड्यन्त्र हुन थाल्यो अब संघर्षमा उत्रिनुपर्छ

25 Dec,2016
  • chotte_lal_foto_12_25_2016_1_54_48.jpg
                                                                                      छोटेलाल रौनियार
                                                                             सेयर लगानीकर्ता एवं विश्लेषक

 
 
वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकरहरुलाई देशभरि पठाउने, ब्रोकरमार्फत मार्जिन ल्यान्डिङ, अनलाइन ट्रेडिङ सिष्टम स्थापना गर्ने, गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउने, क्लियरिङ बैंक थप्ने लगायतका कुराहरु धितोपत्र बोर्ड र नेप्सेकै अधिकारीहरुले समग्र सेयर बजार सुधार र अन्तर्राष्ट्रियस्तरको बनाउन अघि सारेका कार्यक्रम हुन् । 
 
सेयर लगानीकर्ता संघले यी कुराहरु चाँडै पूरा हुनु नेपालको सेयर बजारको विस्तार, सुधार र आमलगानीकर्ताको हितका लागि अनिवार्य छ भनेर जोड दिँदै समय समयमा त्यहाँ धाएर जतिसक्दो छिटो लागू होस् भनेर ध्यानाकर्षण पनि गराउँदै आएको हो । तर आज धितोपत्र बोर्ड र नेप्सेकै तर्फबाट यी कुराहरुलाई पन्छाउने प्रयास भइरहेको छ भन्ने सूचना बाहिर आउँदा हामीहरू आश्चर्यचकित भएका छौं । 
 
अहिले ५० जना ब्रोकरलाई पोस्न ५० लाख लगानीकर्ताको हितमा लात हान्ने काम हुन लाग्दा लगानीकर्ता संघको सल्लाहकारको हैसियतले म गम्भीर भएर लगानीकर्ता साथीहरुलाई प्रश्न गर्दैछु कि एकताबद्ध भएर प्रतिरोध गर्ने कि मूकदर्शक बनेर हासिल हुनै लागेको उपलब्धि गुम्ने दिने ?
 
मैले नेपालको सेयर बजारमा सुनौलो युग अर्थात (गोल्डेन ईरा) सुरु हुँदैछ भनेर यसै भनेको हैन । माथि भनिएका विषयहरू कार्यान्वयन भएमा नेपालको सेयर बजार व्यापक, पारदर्शी हुने मात्रै होइन यसले उत्साह, उमंग थपेर अर्को ऐतिहासिक उचाई पनि लिनेछ । तर, ती कामहरू भएनन् भने हामी फेरि पनि बर्षौसम्म पछौटैपनको शिकार भइरहने छौ । अहिले पाएको उपलब्धि समेत गुम्ने खतरा छ ।

 केही ब्रोकरहरू नियमनकारी निकायलाई धम्क्याएर, प्रलोभनमा पारेर, विभिन्न हथकण्डा अपनाएर आफू अनुकूल निर्णय गराउन खोजिरहेका छन् । उनीहरू कार्टेलिङ र मोनोपोली (एकाधिकार) गरेर नेपालको सेयर बजारलाई आफ्नो मुठ्ठीमा सीमित राखिरहने तथा गुलाम बनाउने प्रयास गर्दैछन् । उनीहरू समग्र बजारलाई आफ्नो कब्जामा राखेर यो बजारलाई आधुनिक फड्को मार्नै नदिने अभिष्ट बोेकेर हिँडिरहेका छन् ।

यसमा सबै ब्रोकरले यसो गरे त म भन्दिन, कतिपय ब्रोकरहरू लगानीकर्ताको हितमै काम गरिहेका छन् तर केही खराब नियत राखेका ब्रोकरहरू अत्यन्त निन्दनीय हर्कत गरिरहेका छन् । उनीहरू मुलुकको समग्र सेयर बजारको सिद्धान्त र लाखांै लगानीकर्ताको हित विपरीत लागेर पाप गरिरहेका छन् । म सोध्न चाहन्छु, वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिँदा केही ब्रोकरलाई तत्काल केही असर पर्ला तर यसबाट समग्र सेयर बजारको कहाँनेर अहित हुन्छ ? के धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंक यिनै केही सीमित ब्रोकरको कब्जामा बसेर आमलगानीकर्ताको हितमा कदम चाल्न डराएका हुन त ?
 
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की धेरै डाइनामिक व्यक्तित्व हुनुहुन्छ । वास्तवमा उहाँ आएपछि नै नेपालको सेयर बजारले आधुनिक फड्को मारेको हो । उहाँले आम लगानीकर्ताको हितमा धेरै राम्राराम्रा कदमहरू चाल्नु भएको छ । उहाँले चालेका कदम दुरगामी परिणाम ल्याउने खालको  भएको सबैलाई अनुभूति भएकै छ । नेप्सेका महाप्रबन्धक सिताराम थपलिया पनि वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन दृढ रहनु भएको हामीसँगको भेटमा व्यक्त धारणाले प्रष्ट पार्छ ।

त्यस्तै, गभर्नर डा. चिरञ्जीवी नेपाल अर्को डाइनामिक पर्सनालिटी हुनुहुन्छ । क्रान्तिकारी मौद्रिक नीति ल्याएर उहाँले नेपालको बैंकिङ क्षेत्रलाई व्यवस्थित गर्ने साहस देखाउनु भयो । बाफिया विरुद्ध चलखेल हुँदा उहाँले दृढतापूर्वक कदम चालेर समग्र सेयर बजार र बैंकिङ क्षेत्रको इतिहासमा अमिट छाप छाड्ने काम गर्नुभएको छ । बिमा समितिले नेपालका बिमा कम्पनीहरूको संस्थागत सुशासन, बिमा बजार विस्तार र पुँजी वृद्धिका लागि भूमिका खेलेकोमा पनि यहाँ बिर्सिनु हुन्न् तर जत्ति गर्नुपर्ने हो, त्यति चाँहि गर्न सकेको छैन, उसका आफ्नै बाध्यता र अप्ठेराहरू होलान् । डा. फत्तबहादुर केसी आफैले ल्याएको प्रस्ताव बिमाको पुँजी वृद्धिको निर्णय गराउन सक्नु भएन । 
 
राष्ट्र बैंकको पुँजी वृद्धिको निर्णय आउनु भन्दा धेरै अघि नै उहाँले निर्जीवनको चार अर्ब र जीवन बिमाको पाँच अर्ब पुँजी हुनुपर्ने कुरा ल्याउनु भएको हो । यसमा बिमा समिति पछि परेकै हो, अब नयाँ आउने नेतृत्वले चाँडै गर्ला भन्ने आशा राखौं । सेयर लगानीकर्ता संघ यसका लागि सँधै खबरदारी गरिरहने छ । उहाँहरू नेपालको बैंकिङ क्षेत्र, बिमा र सेयर बजारका अभिभावकहरू हुुनुहुन्छ । उहाँहरूको एकताबद्ध प्रयासले सेयर बजारलाई आधुनिकीकरण गर्न नेतृत्वदायी भूमिका खेलेको छ ।

तर यसो हुँदाहुँँदै पनि अहिले आएर किन उहाँहरू लरबरिन थाल्नुभएको छ ? उहाँहरुको कदमलाई आमलगानीकर्ता, समग्र सेयर बजार र विश्वभरि रहेका गैरआवासीय नेपालीले नजिकबाट हेरिरहेका छन् र राम्रो कदमको प्रतीक्षा गरिरहेका छन् । कतै कमजोरी, अलमल र षड्यन्त्र भयो भने त्यस विरुद्ध सशक्त कदम चाल्न पनि उनीहरू तम्तयार भएर बसेका छन् ।  यो चेतावनी हैन, खबरदारी हो । बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स, ब्रोकरहरुलाई देशभरि पठाउने, ब्रोकरमार्फत मार्जिन ल्यान्डिड, अनलाइन ट्रडिङ सिष्टम स्थापना, गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउने, क्लियरिड. बैंक थप्ने विषय मध्ये एउटालाई अगाडि बढाएर अरुलाई ढिला गर्ने काम कुनै हालतमा हुनुहुन्न, यसो भएमा हामीलाई मान्य हुने छैन । यी कामहरू यथाशीघ्र  भएमा नेपालको पुँजी बजारलाई आधुनिक बनाई विस्तार गर्न ठूलो आधार मिल्ने छ । 
 
यी ६ वटा परिवर्तनले बजारमा साँच्चिकै गोल्डेन ईरा सुरु हुनेछ
१. वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिएमा नेपालको सेयर बजारमा केही ब्रोकरहरूको मोनोपोली, कार्टेलिङ, सिन्डिकेट अनि बजारलाई असर पार्ने चलखेल खत्तम भएर जानेछ र बजारलाई स्वच्छ, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउन सहयोग पुग्नेछ । वाणिज्य बैंकको सहायक कम्पनीले धेरै पुँजी परिचालन गरी सस्तो कमिसन लिएर सेयर कारोबारको अवसर दिने हुँदा त्यसको फाइदा हामी लगानीकर्ताले नै पाउँछौ । 
 
अहिले सेयर दलालहरूले जसरी मनोमानी गरिहेका छन्, ब्रोकर थपिएपछि त्यो बन्द हुन्छ । ब्रोकर कमिसन घटाउँदा नै उनीहरूको जुन व्यवहार देखियो, त्यसैबाट प्रष्ट हुन्छ, उनीहरू कार्टेलिङ गरिरहेका छन् । भोलि अनलाइन कारोबार हुँदा जिल्ला–जिल्लामा पुगेका वाणिज्य बैंकका शाखाबाट सेयर कारोबार गर्न पाइँदा हाम्रा लगानीकर्ता साथीहरूलाई फाइदा हुन्छ । अनेक झन्झट हट्छ, बजार विस्तार भएर जान्छ ।

अहिले २० लाख चुक्ता पुँजी भएका ब्रोकर कम्पनीले एक करोडको पूर्वाधार थप्न सक्दैनन् तर वाणिज्य बैंकलाई ५–१० करोडको पूर्वाधार थप्नु कुनै ठूलो कुरा होइन, धेरैले सहायक कम्पनी खोलिसके, क्यापिटल खडा गरेर सामूहिक लगानी कोषका इकाईहरू बेचिसके । अर्बौको सम्पति जोडिसकेका छन् । वाणिज्य बैंकहरूले आफ्नो संस्थागत छविलाई दाउमा राखेर, अर्बौको लगानी जोखिममा पारेर यसरी सेयर बजारमा कदापि चलखेल गर्ने छैनन्, हामी लगानीकर्ताको सम्पति झन् सुरक्षित हुनेछ । 
 
२. अहिलेका सेयर ब्रोकरलाई तत्काल देशभरि पठाउँदा सेयर कारोबारबाट वञ्चित उपत्यका बाहिरका लाखौं लगानीकर्तालाई सेयर बजारमा प्रवेश गर्न सहज हुनेछ । यसबाट बजारलाई स्थायित्व प्रदान गर्न सहयोग पुग्ने, उपत्यका बाहिरका नयाँ लगानीकर्तालाई अवसर र सेवा सुविधा उपलब्ध हुनेछ । यसबाट ब्रोकरको कारोबार र सञ्जाल समेत बढ्न गई उनीहरूलाई पनि फाइदा हुनेछ । 
 
३. सेयर दलालमार्फत नै मार्जिन ल्याडिङको व्यवस्था हुँदा हामी लगानीकर्ता र ब्रोकर दुवैलाई फाइदा हुन्छ । यसले सेयर बजारमा परिचालन गर्ने कर्जा छिटोछरितो रुपमा लगानीकर्तालाई उपलब्ध हुनेछ र त्यसबाट हुने आम्दानीले ब्रोकर पनि लाभान्वित हुनसक्ने छन् । तर यसमा पनि ब्रोकरको मोनोपोली कायम नहुने गरी गर्नुपर्छ र कर्जाको दुरुपयोग नहुने ग्यारेन्टी गरिनुपर्छ । 
 
४. अनलाइन ट्रेडिङ सिष्टम स्थापना गर्दा अहिले ब्रोकरहरूले गरिरहेको मिस गाइडिङ, सेयर किन्न आदेश दिदा नकिनिदिने, बेच्न खोज्दा नबिचेदिने, भाऊ बढेको बेला आफ्नै सेयर मात्रै बेच्ने, मूल्य बढाएर किनिदिने, एकमुष्ठ बेच्न सकिने भए पनि कमिसनको लोभमा टुक्रा गरेर बेचिदिने लगायतका समस्या हटेर जान्छ । दुर्गम गाउँदेखि विदेशमा रहेका नेपालीले समेत आफ्नै मोबाइल र कम्प्युटरबाट किनबेच गर्नसक्ने हुन्छ । अहिले ५० जना ब्रोकरको हातमा रहेको बजार लाखौंको हातमा पुग्नेछ । वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्सबिना अनलाइन सिष्टम लागू हुनै सक्दैन । सेयर किन्दा बैंकमा रहेको खाताबाट पैसा काटिने र सेयर बेच्दा बैंक खातामा सीधै पैसा जम्मा हुनेछ । अहिले जस्तो पैसा लिन ब्रोकरको कार्यालयमा ताकेता गर्नुपर्ने र चेक लगेर बैंकमा जम्मा गर्न लाइन बस्नुपर्ने छैन । 
 
५. अनलाइन ट्रेडिङ सिष्टम भएपछि नेपालका ग्रामीण क्षेत्र, विदेशमा रहेका गैरआवासीय नेपाली र विदेशमा रहेका नेपाली नागरिकले पनि विदेशबाटै नेपालको सेयर बजारमा सहभाागी भएर दैनिकरुपमा सेयर किनबेच गर्न सक्नेछन् । यसले बजारमा लगानीकर्ताको संख्या र रकम थपिन गई बजार विस्तार हुनेछ । 
 
६. नयाँ सुबिधा सहित क्लियरिङ बैंकको संख्या थपिएपछि सेयर कारोबारको रकम राफसाफ र भुक्तानीमा ब्रोकरलाई धेरै सुविधा हुनेछ ।

त्यसैले यी कामहरू चाँडै होस् भनेर हाम्रो सेयर लगानीकर्ता संघले बारम्बार दबाब सिर्जना गर्दै आएको हो । यसमा कुनै छलकपट भयो भने धितोपत्र बोर्ड, नेप्से र सेयर ब्रोकरको कार्यालय घेर्न, अनसन बस्न र अरू शान्तिपूर्ण संघर्षका कार्यक्रमहरू सशक्तरुपमा गर्नका लागि तयारी अवस्थामा रहन म सबै लगानीकर्ता साथीहरूलाई आव्हान गर्छु । लगानीकर्ता नै बनेर हाम्रो हित विपरीतका कदमहरू चाल्न खोज्नेहरूलाई सघाउने संदिग्धहरुलाई पहिचान गरेर सतर्क अवस्थामा रहन पनि जरुरी देख्छु ।