म्युचुअल फन्ड कम्पनीले चाहेमा बजारको गति परिवर्तन गर्न सक्छन्, तर किन हुँदैछन् गुमनाम

02 Jan,2017
  • dilip_1_2_2017_5_36_45.png
दिलिपकुमार मुनंकर्मी
 
काठमाडौं : मंसिरदेखि ओरालो लागेको सेयर बजार पुसको १३ गतदेखि बल्ल केही थामिएको अवस्था छ । हुनतः अझै पनि ढुक्क हुने अवस्था छैन तर बजारको स्वभावले केही आशा भने पक्कै जगाएको छ । मंसिर १ गते १६९९ विन्दुमा रहेको नेप्से सूचक १४०० मुनिसम्म झरेर अहिले फेरि १४८० अंक माथि आइपुगेको छ । यस अवधिमा धेरै लगानीकर्ताले विविध कारणले परलमूल्य भन्दा कममा सेयर बेचेर करोडौं रूपैयाँ घाटा व्यहोरेका होलान भने केहीले किनबेच गरेर सेयर कित्ता बढाएका हुन सक्छन् । लगानी गरेर सम्पत्ति बढाउन (वेल्थ माक्सिमाइजेस) को उद्देश्य राखेका लगानीकर्ताले घट्दो बजारमा सस्तोमा राम्रा कम्पनीको सेयर खरिद गरेर पक्कै पनि भविष्यको लागि मुनाफा र धनआर्जनको सुनिश्चितता गरेका होलान् । कारोबारीलाई भने यो समय निकै कठिन भएको हुनसक्छ । तैपनि टाठाबाठाले केही कमाएका पनि होलान् । 
 
लगानीकर्ता हुन् वा कारोबारी जसले सेयर सञ्चित (होल्ड) गरेर बसेका छन्, उनीहरुमध्ये धेरै कमको मात्र पोर्टफोलियो हरियो बाँकी होला नभए धेरैको अवस्था कति प्रतिशतले रातो भन्ने नै हो । यसरी सेयर सञ्चित गर्ने लगानीकर्ता वा कारोबारीको अहिलेको समस्या भनेको बेचौं निकै घाटा हुन्छ र सामान्यतः लगानी वा कारोबार घाटा खान गरिँदैन्, थप किनौं भने पैसा छैन । ऋण नै लिउँ भने पनि सेयरको मूल्य घटेकाले मात्र होइन बैंकमा भनिएको तरलता अभावले सहज ऋण पाउन निकै मुस्किल छ । त्यसैले कारोबारीले अब बजार बढ्ने अवस्था पर्खिनुको विकल्प छैन । थप लगानी गर्न चाहनेले अनौपचारिक क्षेत्रबाट ऋण लिने वा बजार केही बढेपछि वा तरलतामा केही सहज भएपछि बैंकबाट थप ऋण लिनुपर्ने अवस्था छ ।
 
यी त भए सामान्य लगानीकर्ता वा कारोबारीको अवस्था, तर अहिले बजारमा विद्यमान सातवटा म्युचुअल फन्डको अवस्था के कस्तो होला त ? धेरैको जिज्ञासाको विषय पनि यही देखिन्छ । किनभने यिनीहरुसँग लगानीका लागि ठूलो रकमको साथै प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) मा आरक्षणका साथै कारोबारमा समेत छुट पाउँदै आएका छन् । म्युचुअल फन्डहरू बजारबाट सानोसानो रकम संकलन गरी विभिन्न प्रकारका लगानी उपकरणमा लगानी गरेर लगानीकर्ताको सम्पत्ति बढाउने उद्देश्य सहित स्थापित भएका हुन् । यिनीहरू विशेषगरी थोरै रकम भएका तर सेयरमा सीधै लगानी गर्न असमर्थ साना लगानीकर्ता लक्षित हुन्छन् । यिनीहरुले लगानी गर्ने भनेको सेयर, डिबेन्चर÷ऋणपत्र, मुद्दतिमा बचत वा अन्य सम्पत्ति नै हुन् । यिनीहरू सदैव उपलब्ध रकमको उच्चतम प्रतिफल आउने गरी लगानी गर्न लागिपर्छन् ।  
 
यी कम्पनीहरूले प्रकाशित गरेको मंसिर मसान्तको विवरण हेर्दा विद्यमान म्युचुअल फन्डहरूको बैंक मौज्दात हेर्दा लगानी गर्न डराएका वा जोखिम लिन नचाहेका हुन् कि जस्तो पनि देखिन्छ । भर्खरै बजारमा आएकाले नबिल इक्विटी फन्डसँग सबैभन्दा बढी ९४.४७ करोड रुपैयाँ बैंकमा छ, जुन स्वभाविकै पनि हुन सक्छ । तर पुरानामध्ये सबैभन्दा बढी नबिल व्यालेन्स फन्ड १ ले करिव ४६.४७ करोड रुपैयाँ र सबैभन्दा कम लक्ष्मी भ्यालु फन्डले करिब १५ करोड रूपैयाँ बैंकमा निक्षेप राखेको छ ।
 
 अहिले बजारमा रहेका सबै म्युचुअल फन्डहरुले गरी लगानीकर्ताबाट कुल ६ अर्ब ५० करोड रूपैयाँ संकलन गरेका छन् । यी कोषमध्ये करिब ३१८.९६ करोड रुपैयाँ (जोखिम व्यवस्थापनका लागि आवश्यक तरलता समेत) अर्थात् औसत करिब ५८.७६% रकम बैकको वचत खातामा रहेको छ (हेरौं तालिका १) । यसरी बैंकको वचत खाताको साथै यिनीहरुले उल्लेख्य रकम मुद्दति खातामा समेत राखेका छन् । लगानी व्यवस्थापनका हिसाबले कोषको निश्चित प्रतिशत न्यूनतम प्रतिफल आउने गरी मुद्दतिमा राख्नुलाई केही हदसम्म ठीकै मान्न सकिएला तर ५८% हाराहारी रकम बचत खातामा थन्क्याउनुलाई कति जायज मान्न मिल्ला ?
 
तालिका १ :  हाल सञ्चालनमा रहेका म्युचुअल फन्डहरू, तिनको कोषको आकार र बैंकमा मौज्दात (मुद्दति बाहेक) 

      स्रोतः मंसिर मसान्तको प्रकासित विवरण
 
अहिले कायम म्युचुअल फन्डहरुमध्ये मंसिर मसान्तमा प्रतिइकाई खुद सम्पत्तिको मूल्य सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ को २५.३७ रुपैयाँ र सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत योजना १ को ९.३४ रुपैयाँ रहेको छ । यिनीहरुको औसत प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५.४० रुपैयाँ रहेको छ ।  (हेरौं तालिका २) 
 
तालिका २ : मंसिर मसान्तमा म्युचुअल फन्डहरूको प्रतिइकाई खुद सम्पत्तिको मूल्य 


     स्रोतः मंसिर मसान्तको प्रकासित विवरण
 
हुनतः गत कात्तिकको प्रतिइकाई खुद सम्पत्तिको मूल्य सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको २८.४१ रुपैयाँ र सबैभन्दा कम नबिल इक्विटी फन्डको ९.८१ रुपैयाँ थियो  ( पढौं तालिका ३) ।
 
तालिका ३ : मंसिर मसान्त र कात्तिक मसान्तको प्रतिइकाई खुद सम्पत्तिको मूल्यको तुलनात्मक अवस्था
        स्रोतः मंसिर मसान्तको प्रकासित विवरण
 
गत पुस १४ वा १३ गते कारोबार भएको मूल्यको आधारमा यी म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पत्तिको मूल्यलाई तुलना गरेर हेर्ने हो भने सबैभन्दा बढी नबिल ब्यालेन्स फन्ड १ को ११.२५% ले र सबैभन्दा कम नबिल इक्विटी फन्डको ०.८१ % ले घटेको देखिन्छ । कात्तिकको तुलनामा मंसिरमा औसतमा ८.८९% ले म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य घटेको छ । यदि म्युचुअल फन्डमा लगानी गर्ने हो भने लगानीका दृष्टिकोणले कुन चाहिँ बढी फाइदाजनक होला त ? यसको लागि बजार मूल्य र प्रतिइकाई खुद सम्पत्तिको मूल्यको तुलनामा बढी छुट भएको तुलनात्मक रुपमा बढी फाइदाजनक हुन्छ ।

उपलब्ध सातमध्ये सबैभन्दा बढी बजार मूल्य सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ को २३.७२ रुपैयाँ र सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत योजना १ को १०.३० रुपैयाँ रहेको छ । तर प्रतिइकाई खुद सम्पत्तिको मूल्यको तुलनामा १८.११ % कम बजार मूल्यको आधारमा सिद्धार्थ इक्विटी ओरियन्टेड फन्ड सबैभन्दा सस्तो वा लगानीको पहिलो प्राथमिकतामा रहेको छ भने सबैभन्दा महँगो १०.२८ % बढी बजार मूल्यको साथ ग्लोबल आईएमई समुन्नत योजना १ रहेको छ ।
 
तालिका ४ : मंसिर मसान्तको प्रति इकाई खुद सम्पत्तिको मूल्य र बजार मूल्यको तुलनात्मक अवस्था
 
  
स्रोतः मंसिर मसान्तको प्रकासित विवरण र बजारमूल्य नेप्सेको वेबसाइटबाट साभार ।
 
निष्कर्षमा के भन्न सकिन्छ भने म्युचुअल फन्डहरुले पनि लगानीकर्ता वा कारोबारीको रुपमा लगानी र मुनाफा गर्ने हुन् र उनीहरुको पनि मुख्य लगानीको क्षेत्र भनेको सेयर त्यो पनि दोस्रो बजारमा खरिदबिक्री नै हो भन्ने प्रस्ट हुन्छ । तुलनात्मकरूपमा आमलगानीकर्ता वा कारोबारीको तुलनामा उनीहरुसँग तुलनात्मक रुपमा ठूलो कोष हुने अनि नियमित ठूलो रकमको कारोबार गर्न सक्ने हुँदा  सेयर दलालको प्राथमिकतामा पर्ने गरेको देखिन्छ । यस्ता कम्पनीको पहुँच ठूलो हुने तथा कानुनी रुपमा समेत केही सुविधा प्राप्त गरेकाले कारोबारमा सहज र कम मूल्य पर्ने निश्चित छ । 
 
यसकारण पनि बजारमा यिनीहरुको महत्वपूर्ण र हस्तक्षेपकारी भूमिका रहनेमा दुईमत छैन । यिनीहरुले चाहेमा बजारको धारलाई परिवर्तन गर्न र मार्गनिर्देश गर्न सक्ने अवस्था छ । तर पनि मंसिरदेखि आजसम्म बजारमा देखिएको अनिश्चितता र अप्राकृतिक उतारचढाबलाई नियन्त्रित दिशामा हिँडाउन यिनीहरुको उल्लेख्य भूमिका देखिएको छैन । यतिमात्र होइन, केही म्युचुअल फन्डले धमिलो पानीमा माछा मार्ने प्रवृत्ति देखाएका आवाजसमेत उठनुले म्युचुअल फन्ड कम्पनीहरूप्रति आमलगानीकर्ताको धारणा नकारात्मक हुँदै गएको अवस्था छ । यिनीहरुसँग उपलब्ध कोषको केही हिस्सा मात्र पनि बजारलाई सकारात्मक दिशा दिन परिचालित गरिएको भए बजारले यतिबेला अर्कै उचाइ लिने निश्चित थियो ।

साथै, यी कम्पनीहरूको प्रतिइकाई खुद सम्पत्तिको मूल्य पनि बढ्ने सुनिश्चित थियो । तर दुर्भाग्य यिनीहरुको प्रतिइकाई खुद सम्पत्तिको मूल्य औसतमा १.५० रुपैयाँ अर्थात् ८.८९ % ले घटेको छ । अब पुसको बाँकी आधा महिनामा यिनीहरुले बजारको विकास र विस्तारका लागि के कस्तो भूमिका निर्वाह गर्नेछन् त्यो हेर्न बाँकी नै छ, तर आशा गरौं म्युचुअल फन्ड कम्पनीहरूले पनि जानाजान आफ्नो सम्पत्ति घटाउन अग्रसर हुनेछैनन् ।

           यस्तो छ म्युचुअल फन्डको लगानीसम्बन्धी कानुनी प्रावधान 

परिच्छेद – ८ दफा -३६ , लगानीको सिमा (१) योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा देहाय बमोजिमको सिमा भित्र रहि गर्नु पर्नेछ :- (क) कुनै एक संगठित सस्थाको साधारण शेयरमा त्यस सस्थाको कुल चुक्ता पूजीको दश प्रतिशत भन्दा बढी नहुने गरि , (ख) कुनै एक संगठित सस्थाले निष्कासन गरेको अग्राधिकार शेयर वा डिबेन्चरको बिस प्रतिशत भन्दा बढी नहुने गरि , (ग) कुनै एक संगठित सस्थाको धितोपत्र योजनाको कुल रकमको दश प्रतिशत भन्दा बढी नहुने गरि, (घ) अन्य सामुहिक लगानीकोष अन्तर्गतको योजनामा आफ्नो योजनाको बिस प्रतिशत भन्दा बढी नहुने गरि, (ङ) बैक निक्षेपमा योजनाको कुल सम्पतिको दश प्रतिशत भन्दा बढी नहुने गरि, (च) मुद्रा बजार उपकरणमा योजनाको कुल सम्पतिको दश प्रतिशत भन्दा बढी नहुने गरि, बिस्तृत विवरणको लागि सेबोनको website मा उपलब्ध सामुहिक लगानी कोष नियामावली २०६७ “ हेर्नु होला | सामुहिक लगानी कोष नियामावली २०६७ को परिच्छेद ८ को दफा ३६ को उपदफा (ङ ) अनुसार Mutual Fund हरुको बैक मौज्दात उपरोक्त कानुनि प्राबधान अनुसार मेल खान्छ त ?
 

 (लेखक लगानीकर्ता एवं सेयर बजार विश्लेषक हुन् ।)