मर्जरपछि निक्षेप र कर्जा लगानीमा उल्लेख्य वृद्धि भएको छ

06 Dec,2015
मर्जरपछि निक्षेप र कर्जा लगानीमा उल्लेख्य वृद्धि भएको छ
रेशमबहादुर थापा
प्रमुख कार्यकारी अधिकृत
फेवा विकास बैङ्क

पोखरामा प्रधान कार्यालय रहेको फेवा विकास बैङ्क राष्ट्रियस्तरको सबल बैङ्कका रूपमा स्थापित भएको छ । पोखरामै प्रधान कार्यालय रहेको फेवा फाइनान्स र विश्व विकास बैङ्क गत आर्थिक वर्षमा मर्ज भएर फेवा विकास बैङ्क बनेको हो । बैङ्कले राष्ट्रियस्तरको बिजनेश युनिभर्सल डेभलपमेण्ट बैङ्कसँग मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । यसैक्रममा मर्जरमा जानुको कारण, बैङ्कको वर्तमान वित्तीय अवस्था, लगानीको सम्भावना र चुनौतीलगायत विषयमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापास“ग आर्थिक अभियानका पोखरा संवाददाता सुरेन्द्र पौडेलले गरेको कुराकानी सार ;

फेवाको वित्तीय अवस्था कस्तो छ ?
पोखरामा प्रधान कार्यालय रहेको फेवा विकास बैङ्क राष्ट्रियस्तरको सक्षम र सबल बैङ्क हो । साधारणसभा हुनुभन्दा अगाडि अहिले बैङ्कको पूँजी ८१ करोड ६२ लाख १५ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ९ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल छौं । खुद मुनाफा ४ करोड ६६ लाख रुपैयाँ छ । मुख्य कार्यालयसहित २७ शाखा र १६ ओटा एटीएमबाट वित्तीय सेवा प्रदान गरिरहेका छौं । निकट भविष्यमै म्याग्दीको बेनी र कास्कीको तालचोकमा शाखा विस्तार गर्दै छौं । देशभरका शाखाहरूमार्फत १ लाख २५ हजारभन्दा बढी ग्राहकलाई सरल र सहज रूपमा वित्तीय सेवा प्रदान गर्न हामी सफल छौं ।

फेवा फाइनान्स र विश्व विकास बैङ्क मर्जर भएपछिको बैङ्कको अवस्था कस्तो छ ?
पोखरामै प्रधान कार्यालय रहेको फेवा फाइनान्स र विश्व विकास बैङ्क मर्जर भएर हामी राष्ट्रियस्तरको विकास बैङ्कको रूपमा कार्यरत छौं । मर्जरपश्चात् हालसम्मको वित्तीय अवस्थाको विश्लेषण गर्दा हामी निकै सफल छौं । उत्साहजनक रूपमा सफलता मिलिरहेको छ । आपसमा मन मिलेको र राम्रो काम गरिरहेको वित्तीय संस्था एक भएकाले पनि सफलता प्राप्त गर्न सहज भएको हो । मर्जरपश्चात् निक्षेप र कर्जा लगानीमा उल्लेख्य वृद्धि भएको छ । क्षेत्रीयस्तरको बैङ्क र राष्ट्रियस्तरको फाइनान्स मर्जर भई राष्ट्रियस्तरको विकास बैङ्क बन्न पाउँदा कर्मचारी, लगानीकर्ता र आमग्राहक निकै खुशी हुनुहुन्छ । यसले हामीलाई थप उत्साह मिलेको छ ।

राष्ट्रियस्तरको विकास बैङ्क बनेको छोटो समयमै अर्को बैङ्कसँग मर्जरमा जाने तयारी गर्नुको कारण के हो ?
नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिअनुसार पनि हामीले आगामी २ वर्षभित्रै पू“जी वृद्धि गरी साढे २ अर्ब रुपैयाँसम्म पुर्‍याउनुपर्नेछ । यही क्रममा फेवा र विश्व एक भएका हौं । असल साथी खोज्ने क्रममा पोखरामै प्रधान कार्यालयबाट वित्तीय सेवा शुरू गरी अहिले काठमाडौंमा प्रधान कार्यालय भएको बिजनेश युनिभर्सल डेभलपमेण्ट बैङ्क पाएका छौं । फेवा विकास र बिजनेश युनिभर्सलबीच मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । हामीले आगामी चैतसम्म दुई वित्तीय संस्था मर्ज गरी २०७३ वैशाखदेखि एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छौं । मर्जरका लागि बोर्डबाट भएको निर्णय सही र समय सान्दर्भिक छ । पूँजी बढाउन सबैभन्दा उत्तम उपाय मर्जर नै भइरहेको अवस्थामा दुवै राम्रा बैङ्क आपसमा गाभिनु निकै प्रशंसनीय र उदाहरणीय छ ।

बिजनेश युनिभर्सलसँग मर्जरमा गएपछिको वित्तीय अवस्था कस्तो रहन्छ ?
बोनस शेयर समायोजन हुनुअघि नै अहिले हामी दुवैको पूँजी १ अर्ब ७५ करोेड ९ लाख रुपैयाँ पुग्छ । असोज मसान्तसम्मको निक्षेप १६ अर्ब ४३ करोड रुपैयाँ र कर्जा १४ अर्ब ५ करोड रुपैयाँ छ । खुद मुनाफा ८ करोड ७४ लाख रुपैयाँ छ । दुई वित्तीय संस्थाका ४१ ओटा शाखा सञ्जाल पुग्छन्, जसले गर्दा देशभर सहज रूपमा वित्तीय सेवा प्रदान गर्न सजिलो हुनेछ । मर्जरपश्चात् नयाँ योजनाका साथ शाखा विस्तार गरी कारोबार झन् व्यापक बनाउन सकिन्छ । सबल र सक्षम वित्तीय संस्थाको रूपमा थप गुुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित मर्जर हुन लागेका हौं ।

पूँजी वृद्धि गर्नैपर्ने बाध्यकारी अवस्था सृजना भएको छ । राष्ट्र बैङ्कको यो नीतिलाई के भन्नुहुन्छ ?
बैङ्कहरूले ४ गुणा पूँजी वृद्धि गर्नुपर्ने बाध्यकारी अवस्था सृजना गरी राष्ट्र बैङ्कबाट जारी भएको मौद्रिक नीतिको शुरूमा विरोध पनि भएकै हो । पूँजी वृद्धि गर्न आवश्यक भए पनि समय थोरै भयो भन्ने कुरा आएको थियो । पूँजी वृद्धि आवश्यक थियो/थिएन भन्ने बहस गर्नुभन्दा पनि संस्था ठूलो हुनैपर्छ भन्ने मेरो पनि मान्यता हो । हरेक बैङ्कर्स तथा बैङ्कको उच्च ओहोदामा रहनेहरूले संस्था बलियो बनाउन मर्जरलाई उच्च प्राथमिकता दिन शुरू गरिसकेका छन् । मर्जरमा गइसकेपछि संस्था ठूलो हुन्छ । मर्जरबाट बनेको ठूलो र सबल बैङ्कले जोखीम व्यवस्थापन पनि सहज रूपमा गर्न सक्छ । ठूलाठूला योजनाहरूमा लगानीको वातावरण पनि बन्छ । सबै वित्तीय संस्थाका लागि पू“जी वृद्धि र मर्जर राम्रो अवसर हो ।

दुई बैङ्क मर्जर हुँदा बढ्ने सञ्चालन जोखीमप्रति कत्तिको सचेत हुनुहुन्छ ?
वित्तीय संस्था आपसमा मर्जर हुँदा सञ्चालन जोखीम अवश्य पनि बढ्छ । जोखीम सही तरीकाबाट सामना गरी सम्भावनाका अवसर सृजना गर्नुपर्छ । जोखीमको सही व्यवस्थापन गर्नेतर्फ हामी सबै सचेत छौं । खराब नियत भएमात्र जोखीम बढी हुने हो । मन मिलेको समूहले सञ्चालन गरेको वित्तीय संस्था मर्जर हुँदा जोखीम कम हुन्छ । लगानीकर्ता र कर्मचारीको उचित व्यवस्थापन गरेर मर्जरमा जाँदा सम्भावना र अवसर प्रशस्त छन् । पूँजी वृद्धिका लागि अबको दिनमा मर्जर अनिवार्य आवश्यकता नै भएकाले सञ्चालन जोखीमसँग डराएर होइन, जोखीमप्रति सचेत बनेर अवसरहरूको खोजी गरिनुपर्छ ।

गत वैशाखमा गएको भूकम्प र अहिले जारी भारतीय नाकाबन्दीले वित्तीय क्षेत्रलाई कस्तो असर गरेको छ ?
गत वैशाखमा गएको भूकम्पले नेपालको अर्थतन्त्र निकै कमजोर बनायो । देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रत्यक्ष प्रभावित बन्यो । भूकम्पबाट शिथिल नेपालको अर्थतन्त्रमा अहिले जारी भारतीय नाकाबन्दीबाट झनै बढी प्रभाव परेको छ । भूकम्पपछि आर्थिक गतिविधि केही चलायमान नै थियो । अहिले दैनिक जीविकोपार्जन तर्फमात्र मानिसको दैनिकी सीमित बनेको छ । आर्थिक गतिविधि शून्यजस्तै छ । लगानी गर्ने ठाउँ घटेका छन् । बैङ्कहरूमा तरलता बढेको छ, लगानीका लागि माग नै आएको छैन । जनतासँग भएको पैसा पनि घर–घरमा थन्किएर बसेको छ । नाकाबन्दी जारी रहँदा मङ्सिरमात्र होइन, पुससम्म पनि वित्तीय संस्थाले मार नै खेप्नुपर्ने देखिन्छ । पूँजी पर्याप्त भए पनि माग नै छैन ।
    
बैङ्किङ क्षेत्रका चुनौती के–के देख्नुभएको छ ?
बैङ्किङ क्षेत्रमा बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धा, उद्योग व्यापार क्षेत्रमा भएको सङ्कुचन, लगानीमैत्री वातावरणको अभाव, राजनीतिक अस्थिरता पनि यस क्षेत्रका मुख्य चुनौती हुन् । यस क्षेत्रमा बढ्दै गएको जालसाची ठगी पनि थप चुनौतीका रूपमा देखापरेको छ ।

सञ्चालन जोखीम न्यूनीकरण गर्न के–कस्ता रणनीति अपनाउनुपर्ला ?
निक्षेपकर्ता, लगानीकर्ता, कर्मचारी तथा तिनमा आश्रित परिवारलगायतसँग संस्थाको भविष्य जोडिएको हुन्छ । संस्थामा जोखीम बढ्दै जाँदा निक्षेपकर्ताको निक्षेप, लगानीकर्ताको लगानी र कर्मचारी तथा तिनका आश्रित परिवारको भविष्य पनि जोखीममा पर्छ । तसर्थ, बैङ्कमा आइपर्न सक्ने विभिन्न किसिमका जोखीमप्रति हामी सचेत हुनुपर्छ । प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, दक्ष कर्मचारीको व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग, समयमै नियमित आन्तरिक लेखापरीक्षण तथा त्यसको समीक्षालगायत अन्य प्रभावकारी माध्यमको प्रयोग गर्दै जोखीम कम गर्नुपर्छ ।