उत्तरी नाका सञ्चालन गर्न चीन तयार छ : अर्थमन्त्री

20 Jan,2016

माघ ५, काठमाडौं (अस) । अर्थमन्त्री विष्णु पौडेलले चीनसँग जोडिएका तातोपानीलगायत उत्तरी नाका सहज रूपमा सञ्चालन गर्न चीन सरकार तयार रहेको बताएका छन् । एशियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)को उद्घाटन समारोहमा सहभागी भई मङ्गलवार स्वदेश फर्किएका अर्थमन्त्री पौडेलले पछिल्लो समयमा नेपालको समस्याका विषयमा चीन सरकार जानकार रहेको र त्यस विषयलाई उसले गम्भीरतापूर्वक लिएको बताए । बैङ्कको उद्घाटनपछि आफूले चिनियाँ समकक्षी लोउ जिओयिइसँग पेट्रोलियम पदार्थ आयात गर्न ‘मङ्गोलिया मोडल’ करछूट र सीमा नाकाबाट पेट्रोल उपलब्ध गराउने विषयमा ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

उद्घटन सत्रलार्ई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिङ पिङले अल्पविकसित मुलुकमा परियोजना छनोट गरी खर्च गर्ने उद्देश्यले ५० विलियन डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए । अर्थमन्त्री पौडेलले नेपाललाई सन् २०२२ विकासशील राष्ट्र र सन् २०३० सम्म मध्य आय भएको मुलुकमा पुर्‍याउन लागि यो बैङ्कको सहयोगी भूमिका हुनेछ भन्ने धारणा नेपालका तर्फबाट आफूले राखेको बताए ।

बैङ्कको बोर्ड अफ गभर्नर बैठकले ९ जना एशिया र प्रशान्त क्षेत्रका र तीन जना गैरएशिया क्षेत्रका गरी १२ जनाको बोर्ड अफ डाइरेक्टरको निर्वाचन गरेको र त्यसमा नेपाल निर्वाचित भएको उनले जानकारी दिए ।