Market Closed

हाइड्रोपावर कम्पनीहरुले कसरी गर्दैछन् प्रगति, प्रमुख सूचक कस्ता छन् ?

10 Feb,2021
  • profit-1024x672_2_10_2021_8_03_36.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा सूचीकृत १५ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । पुस मसान्तसम्म अधिकांश कम्पनीको प्रमुख सूचकहरुमा वृद्धि भएको छ । वित्तीय विवरण सार्वजनिक गर्नेहरुमध्ये धेरैले नाफा तथा प्रतिसेयर आम्दानी वृद्धि गर्दै अघि बढेको देखिन्छ । यसैगरी, रिजर्भ फन्डहरुमा पनि सुधार हुँदै गएको छ । हाइड्रोपावरको प्रमुख आम्दानीको स्रोत विद्युत बिक्री हो ।

यसैगरी, बैंक निक्षेप लगायतका अन्य केही स्रोतहरु पनि महत्वपूर्ण हुन सक्छन् । अझै सूचीकृत २२ कम्पनीको भने वित्तीय विवरण आउन बाँकी रहेको छ । यीमध्ये केही कम्पनीले भने विगत लामो समयदेखि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । हाल नेप्सेमा ३७ हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । यीमध्ये वित्तीय विवरण सार्वजनिक गर्ने १५ कम्पनीको वित्तीय अवस्था हेरौं : 
 
७ कम्पनीको चुक्ता पुँजी बढ्यो 
 
वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीमध्ये ७ को चुक्ता पुँजी गत वर्षको भन्दा बढेको छ । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा अपि पावर कम्पनी रहेको छ । यसको पुँजी ६२.०६% ले बढेर १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी भने चिलिमे हाइड्रोपावरको रहेको छ । चिलिमेको चुक्ता पुँजी १०% ले बढेर ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । 

 
६ कम्पनीको जगेडा कोष बढ्यो
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ६ कम्पनीको जगेडा कोष बढेको छ । अरुण काबेली हाइड्रोपावरको जगेडा कोष सबैभन्दा धेरै ९०५.५९% ले बढेर २७ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै जगेडा कोष भएको जलविद्युत कम्पनी भने बुटवल पावर कम्पनी रहेको छ । यसको जगेडा कोषमा ३ अर्ब ९२ करोड ७८ लाख ५२ हजार रुपैयाँ छ । ४ कम्पनीको भने जगेडा कोष भने ऋणात्मक देखिएको छ । 

 
७ कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्यो
 
पुस मसान्तसम्म आइपुग्दा ७ वटा हाइड्रोपावर कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको छ । यसअवधिमा विद्युत् बिक्रीबाट आम्दानी सबैभन्दा धेरै बढाउनेमा अरुण काबेली हाइड्रोपावर रहेको छ । यसको विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानी २४३.१०% ले बढेर ३८ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । विद्युत् बिक्रीबाट सबैभन्दा धेरै आम्दानी गर्नेमा चिलिमे हाइड्रोपावर रहेको छ । यसअवधिमा चिलिमेले विद्युत् बेचेर ६३ करोड ९९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ ।


 
१० हाइड्रोपावरको नाफा बढ्यो
 
पुस मसान्तसम्म आइपुग्दा १० हाइड्रोपावर कम्पनीको खुद नाफा बढेको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा बढ्नेमा अरुण काबेली परेको छ । यसको नाफा ३२६.१०% ले बढेर १८ करोड २६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै नाफा कमाउनेमा चिलिमे हाइड्रोपावर रहेको छ । चिलिमेले ३९ करोड २४ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खानिखोला हाइड्रोपावर भने ६ करोड ६८ लाख ९७ हजार रुपैयाँ नोक्सानमा छ । 



१० हाइड्रोपावरको प्रतिसेयर आम्दानी बढ्यो
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १० कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । प्रतिसेयर आम्दानी सबैभन्दा धेरै अरुण काबेली हाइड्रोपावरले बढाएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५ पैसाले बढेर वार्षिक २४ रुपैयाँ ३६ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको कम्पनी हो । खानिखोला हाइड्रोपावरको प्रतिसेयर आम्दानी भने २८ रुपैयाँ ७३ पैसा ऋणात्मक छ । 

 
नोट : हिमालयन पावर पार्टनरले वित्तीय विवरण सार्वजनिक गरे पनि प्रमुख सूचक उल्लेख गरेको छैन । 
 

Post Your Comment