Market Closed

सिभिल बैंकलाई आधारभूत र प्राविधिक सूचकहरुका आधारमा हेर्दा यस्तो देखिन्छ अवस्था

25 Apr,2021
  • Civil-Bank-Ltd_6_12_2018_12_39_43_1_28_2021_4_25_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० करोड २५ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो । गत वर्ष सिभिले  ३६ करोड ५ लाख रुपैयाँ रुपैयाँमात्र नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ७० करोड ८९ लाख रुपैयाँबाट ९.८७ प्रतिशत घटेर १ अर्ब ५४ करोड रुपैयाँमा आएको छ ।

वैधानिक रिजर्भ १२ करोड ५२ लाख ६८ हजार तथा नियामकीय रिजर्भमा ६ करोड ९४ लाख रुपैयाँ स्थानान्तरणपछि सिभिलको वितरणयोग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँबाट बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ । नेट ट्रेडिङ आम्दानी भने २२.४९ प्रतिशतले बढेर १६ करोड ८९ लाख २२ हजार पुगेको छ । अन्य सञ्चालन आम्दानी पनि ८६.०९ प्रतिशतले बढेर ८ करोड ७१ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

जोखिम व्यवस्थापन कोष पनि ३१ करोड १ लाख रुपैयाँबाट घटेर १७ करोड ७३ लाख ३१ हजारमा आएको छ । यता, कर्मचारी खर्च ०.२९ प्रतिशतले घटेर ७६ करोड ५३ लाख रहेको छ भने अन्य सञ्चालन खर्च ६.९७ प्रतिशत घटेर ३७ करोड २३ लाख रुपैयाँ कायम भएको छ । ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको जगेडा कोषमा १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ सञ्चित छ । 
 
बैंकले निक्षेप ५७ अर्ब ५१ करोड रुपैयाँबाट बढेर रुपैयाँ ८५ अर्ब २५ करोड पुर्याएको छ भने कर्जा पनि ५२ अर्व २० करोड ४२ लाखबाट बढेर ७७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । निष्कृय कर्जा अनुपात २.९६ प्रतिशबाट घटेर १.१३ प्रतिशतमा झरेको छ । सिभिलको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा, मूल्य आम्दानी अनुपात ३०.७ गुणा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३० पैसा रहेको छ । 

सिभिल बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् । 





 
फ्लोरसिट

 
सिभिल बैंकको १ हप्ताको फ्लोरसिट हेर्दा ४५,४९, ५७ तथा ३३ नम्बर ब्रोकरबाट सबैभन्दा बढी खरिद भएको पाइन्छ । यस्तै, ३२,४९, ४२ र ३९ नम्बर ब्रोकरबाट सबै भन्दा धेरै बिक्री भएको देखिन्छ । ब्रोकर नम्बर ४५ ले यस साता करिब सर्वाधिक ३ लाख ३६ हजार कित्ता सेयर खरिद गरेको छ भने ७० हजार ७ सय कित्ता बिक्री पनि भएको छ । ब्रोकर नम्बर ४९ बाट खरिद भएको सेयर प्रायः सबै बिक्री पनि भएको देखिन्छ ।

सरसर्ती हेर्दा ४५, ५७ तथा ३३ नम्बरबाट कारोबार भएको सेयर होल्डिङ भएको देखिन्छ । यद्यपि, अहिले एउटा ब्रोकरबाट किनेर अर्को ब्रोकरबाट बेच्ने प्रचलन पनि हावी छ । त्यस्तै, बजार मूल्य हेर्दा २४० देखि २४४ रुपैयाँमा १४ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसको ब्रोकर कमिसनसँग समायोजन गर्दा २४७ देखि २५२ रुपैयाँ लागत पर्न आउँछ । 
 
इलियट वेभ (प्राविधिक विश्लेषण)

 
सिभिल बैंकलाई इलियट वेभ सिद्धन्तबाट हेर्दा मेजर वेभ ३ को २७५ रुपैयाँ तहमा तथा त्यसपछि करेक्टिभ वेभ ४ मा २१५ रुपैयाँ तहमा चक्र पूरा गरेर वेभ ५ बन्ने क्रममा रहेको देखिन्छ । प्राइमरी वेभ ३ बनेर फिबोनेसी एक्स्टेन्सन ०.३८ प्रतिशत अर्थात २१५ रुपैयाँको तहमा टेवा पाएर वेभ ४ पूरा भएको थियो । अहिले वेभ ५ भित्रको ५ वटा वेभमध्ये वेभ १ बन्ने प्रक्रियामा रहेको देखिन्छ ।

इलियट वेभ सिद्धान्तले लगानीकर्ताको मनोविज्ञानमा हुने लगातारको परिवर्तनलाई मूल्य प्रवृतिमा खोजी गर्दछ । यस सिद्धान्तले आवधिक तथा दीर्घकालीन ट्रेन्ड सेट सप गर्ने आकृति इम्पल्सिभ वेव तथा करेक्सनको संकेतका रुपमा करेक्टिभ वेभमा विभाजन गर्छ ।
 
प्राविधिक विश्लेषण

 
मैनबत्ति आकृति विश्लेषण
 
केही सातादेखि घटेको यस बैकको यस साता मूल्य स्थिर रहेको देखियो । यस साता कारोबार बन्द हुँदा माथिल्लो तथा तल्लो भागमा अग्लो स्याडोसहित रातो आकृतिको साप्ताहिक मैनबत्ति बनेको छ । यसले खरिदकर्ता तथा बिक्रीकर्ता दुवै उत्तिकै हावी भएको संकेत गर्दछ ।
 
दैनिक १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५६ को स्केलमा आएको छ । गत साता आरएसआई ६४ को स्केलमा रहेको थियो । यसले न्युट्रल जोन भन्दा केही माथि रहेको पुष्टि गर्दछ ।
 
मुभिङ एभरेज कन्भरजेन्स डाइभरजेन्स
 
 मार्चको अन्त्यमा एमएसीडी र सिग्नल रेखाले बुलिस क्रस गरेको थियो । यो हालसम्म निरन्तरतामै रहेको छ । यस साता कारोबार बन्द हुँदा दुवै एमएसीडी र सिग्नल रेखा २.५ बिन्दुमा समानान्तर मुभ भइरहेको छ । हिस्टोग्राम सेन्ट्रल लाइन भन्दा माथि रहेपनि घट्दो क्रममै छ । यसले ट्रेन्डको स्ट्रेन्थ केही कमजोर भएको पनि संकेत गर्दछ ।  
 
कमोडिटी च्यानल इन्डेक्स
 
गत बिहीबार कारोबार बन्द भएसँगै कमोडिटी च्यानल इन्डेक्स १०६ को स्केलमा आएको छ । केही दिन अघि पनि १०० को बिन्दुलाई ब्रेक गरेर फेरि तल आएको थियो ।
 
निष्कर्ष 
 
सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ३९.३९ प्रतिशतले वृद्धि गरी ५० करोड २५ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ३१ करोड रुपैयाँ प्रोभिजन गरेकोमा चालु आवको तेस्रो त्रैमासमा १७ करोड ७३ लाख रुपैयाँ मात्र यस शीर्षकमा छुट्याएको छ । यसैले गर्दा निष्कृय कर्जा २.९६ प्रतिशतबाट घटेर १.१३ प्रतिशतमा झरेको हो । बैंकले खर्चतर्फ सामान्य कटौती गरेको देखिन्छ ।

यी सबै कारणले गर्दा खुद ब्याज आम्दानी ९.८७ प्रतिशतले घटे पनि नाफा बढेको हो । यस बैंकले ३ महिना अवधिमा निक्षेप तथा कर्जा प्रवाह भने दुवै ४८ प्रतिशतका दरले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर वितरणका लागि ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ बराबरको नगद वितरण गरेको थियो ।

प्राविधिक सूचकहरुले मिश्रित संकेत गरेको छ । दैनिक १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५६ को स्केलमा आएको छ । यस साता कारोबार बन्द हुँदा एमएसीडी र सिग्नल रेखा दुवै २.५ बिन्दुमा समानान्तर मुभ भइरहेको छ भने हिस्टोग्राम घट्दो क्रममै छ ।
 
सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन । लगानीकर्ताले थप अध्ययन अनुसन्धान गरेरमात्र लगानी सम्बन्धी निर्णय लिनु हुन अनुरोध गरिन्छ ।
 

Post Your Comment