Market Closed

फाइनान्स कम्पनीहरुको समग्र नाफा ५४.४४% ले वृद्धि

23 Nov,2021
  • profit_nes_11_23_2021_7_34_28.jpeg
इशारा कोइराला
 
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको समग्र खुद नाफा ५४.४४% ले बढेको छ । यसअवधिमा नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीले ४३ करोड ३६ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा यी फाइनान्सहरुले २८ कोड ८ लाख २० हजार रुपैयाँ नाफा कमाएका थिए । असोज मसान्तसम्म आइपुग्दा धेरै कम्पनीको खुद ब्याज आम्दानी, प्रतिसेयर आम्दानीलगायतका प्रमुख सूचकमा वृद्धि देखिएको छ । 
 
यसअवधिमा चुक्ता पुँजी आइसीएफसी फाइनान्सको सबैभन्दा धेरै रहेको छ । जगेडा कोष र खुद ब्याज आम्दानीमा गुडविल फाइनान्स अघि छ । यता, खुद नाफा र प्रतिसेयर आम्दानीमा बेस्ट फाइनान्स अगाडि रहेको छ । हेरौं, कुन कम्पनीको अवस्था कस्तो ?
 
फाइनान्स कम्पनीहरुको औसत चुक्ता पुँजी १२.७३% ले बढ्यो : आइसीएफसी फाइनान्सको धेरै 
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा समग्रमा १५ फाइनान्स कम्पनीको चुक्ता पुँजी १२.७३% ले बढेर ११ अर्ब ७० करोड ७६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी आइसीएफसी फाइनान्सको रहको छ । यसको चुक्ता पुँजी १०.५५% ले बढेर १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा ११ फाइनान्सको चुक्ता पुँजी बढेको छ भने ४ फाइनान्सको पुँजी गत वर्षकै यथावत रहेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा नेपाल फाइनान्स रहेको छ । यसको पुँजी २६३% ले बढेर ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । नेपाल फाइनान्सले यसै वर्ष ललितपुर फाइनान्सलाई एक्वायर गरेको र १२५% हकप्रद सेयर जारी गरेकाले चुक्ता पुँजीमा आकर्षक वृद्धि भएको हो । 

 
जगेडा कोष २९.२२% ले बढ्यो : गुडविल फाइनान्स अघि
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुको समग्र जगेडा कोष अघिल्लो वर्षको तुलनामा २९.२२% ले बढेर ५ अर्ब ३७ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष फाइनान्सहरुको जगेडा कोषमा ४ अर्ब १६ करोड २७ लाख २६ हजार रुपैयाँ थियो । सबैभन्दा धेरै जगेडा कोष गुडविल फाइनान्सको रहेको छ ।

यसको जगेडा कोष १७२.५५% ले बढेर १ अर्ब ५ करोड १५ लाख ५३ हजार रुपैयाँ पुगेको छ । यो नै सबैभन्दा धेरै जगेडा कोष बढ्ने कम्पनी हो । एक वर्षको अवधिमा ११ फइनान्स कम्पनीको जगेडा कोष बढेको छ भने ४ कम्पनीको जगेडा कोष घटेको छ । 

 
खुद ब्याज आम्दानी समग्रमा १८.७१% ले बढ्यो : गुडविलकै अग्रता
 
 समग्रमा १५ फाइनान्स कम्पनीको खुद ब्याज आम्दानी १८.७१% ले बढेको छ । यसअवधिमा १५ फाइनान्स कम्पनीले ७८ करोड ५२ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएका छन् । अघिल्लो वर्ष यसैअवधिमा फाइनान्स कम्पनीले ६६ करोड १४ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएका थिए ।

सबैभन्दा धेरै खुद ब्याज आम्दानी गुडविल फाइनान्सले कमाएको छ । यसको खुद ब्याज आम्दानी १३०.२५% ले बढेर १४ करोड ३० लाख ९३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, आइसीएफसी फाइनान्सको खुद ब्याज आम्दानी ११ करोड ३ लाख २८ हजार रुपैयाँ छ । यसअवधिमा १२ फाइनान्स कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने ३ कम्पनीको घटेको छ । 

 
फाइनान्स कम्पनीहरुको नाफा ५४.४४% ले बढ्यो : धेरै बेस्ट फाइनान्सको 
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा समग्रमा फाइनान्स कम्पनीहरुको खुद नाफा ५४.४४% ले बढेर ४३ करोड ३६ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष फाइनान्स कम्पनीहरुले २८ करोड ८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

सबैभन्दा धेरै खुद नाफा कमाउनेमा बेस्ट फाइनान्स रहेको छ । यसअवधिमा यसले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा यो ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानमा थियो । यसअवधिमा ९ कम्पनीको खुद नाफा बढेको छ भने ६ कम्पनीको नाफा घटेको छ । 

 
प्रतिसेयर आम्दानीमा पनि बेस्ट फाइनान्स अगाडि
 
 सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बेस्ट फाइनान्सको रहेको छ । यसको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८१ पैसाले बढेर ५८ रुपैयाँ ४७ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्ने कम्पनी हो । एक वर्षको अवधिमा ८ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ७ कम्पनीको घटेको छ । 

 

Post Your Comment