Market Closed

पाँच विकास बैंकहरुले यसरी देखाए शुभ संकेत

22 Apr,2021
  • profit_nse_4_22_2021_8_07_49.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा सूचीकृत ५ राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । त्यस्तै, प्रतिसेयर आम्दानी पनि बढेको छ । अन्य महत्वपूर्ण सूचकहरुमा पनि सुधार भएको छ । कोभिडका बीचमा पनि विकास बैंकहरुले राम्रो प्रगति हासिल गरेका छन् ।

यसले सेयर बजारका लगानीकर्तालाई पनि उत्साहित बनाएको छ । त्यसो त रिपोर्ट आउन अझै धेरै कम्पनी बाँकी रहेका छन् । तै पनि प्रारम्भिक संकेत भने निकै सकरात्मक देखिएको छ । क्रमशः पुँजी वृद्धि गरिरहेका बैंकहरुले सोही आधारमा निक्षेप संकलन, कर्जा प्रवाह वृद्धि गरेका छन् ।

ब्याज तथा अन्य आम्दानीहरु पनि बढाउँदै लगेका छन् । इपीएस, नेटवर्थ तथा रिजर्भ लगायतमा पनि सुधार हुँदै गएको छ । तुलनात्मक अध्ययनमा नाफा, रिजर्भ, खुद ब्याज आम्दानी वा अन्य महत्वपूर्ण सूचकलाई तुलना गर्दा चुक्ता पुँजीलाई पनि ध्यान दिनुपर्छ । हेरौ कुन बैंकको अवस्था कस्तो : 
 
४ विकास बैंकको चुक्ता पुँजी बढ्यो
 
चैत मसान्तसम्म आइपुग्दा ४ राष्ट्रियस्तरका विकास बैंकको चुक्ता पुँजी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा गरिमा विकास बैंक रहेको छ । गरिमाको चुक्ता पुँजी १३.४९% ले बढेर ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै चुक्ता पुँजी भने मुक्तिनाथ विकास बैंकको रहेको छ । यसको पुँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ छ ।

मुक्तिनाथले गत वर्षको नाफाबाट लगानीकर्तालाई ११.२५% बोनस सेयर दिएको थियो । उक्त बोनसलाई तेस्रो त्रैमासको वित्तीय विवरणमा भने समावेश गरेको छैन । जसका कारण यसको पुँजी यथावत् देखिएको छ । 

 
२ बैंकको जगेडा कोष बढ्यो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २ बैंकको जगेडा कोष बढेको छ । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष ज्योति विकास बैंकले बढाएको छ । ज्योतिको जगेडा कोष १७.७७% ले बढेर ८५ करोड २१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै जगेडा कोष महालक्ष्मी विकास बैंकको १ अर्ब ५७ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको छ । 

 
५ वटैको खुद नाफा वृद्धि 
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५ वटै विकास बैंकको खुद नाफा वृद्धि भएको छ । सबैभन्दा धेरै नाफा बढाउनेमा भने कामना सेवा विकास बैंक रहेको छ । यस बैंकको खुद नाफा १७२.०१% ले बढेर ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ पुगेको छ । यता, चैत मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा भने
मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथको खुद नाफा ४८.७५% ले बढेर १ अर्ब ५६ करोड ३० लाख रुपैयाँ पुगेको छ । 

 
४ बैंकको प्रतिसेयर आम्दानी बढ्यो
 
चैत मसान्तसम्म आइपुग्दा ४ विकास बैंकको प्रतिसेयर आम्दानी बढेको छ । महालक्ष्मी विकास बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ १५ ले घटेर १६ रुपैयाँ १० पैसामा सीमित भएको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा कामना सेवा विकास बैंक रहेको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १६ पैसाले बढेर २९ रुपैयाँ ४७ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको विकास बैंक हो । 

 
 
 

Post Your Comment