Market Closed

२१ वाणिज्य बैंकहरुमध्ये कुन सबैभन्दा तगडा ? प्रमुख सूचकहरुका आधारमा विश्लेषण गर्नुहोस्

05 Aug,2022
  • profit_nes_q4_8_5_2022_8_28_26.jpg
नेपाली पैसा 
 
काठमाडौं : नयाँ आर्थिक वर्ष लागेसँगै नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा, अहिलेसम्म २१ वटा वाणिज्य बैंकहरुले असार मसान्तसम्मको रिपोर्ट सार्वजनिक गरेका छन् । प्रकाशित विवरण अनुसार समग्रमा बैंकहरुको रिपोर्ट सन्तोषजनक देखिएको छ । बैंकहरुले पुँजी सँगसँगै नाफा लगायत अन्य महत्वपूर्ण सूचकमा सुधार गरेका छन् ।

रिपोर्ट सार्वजनिक गरेका बैंकहरुको चुक्ता पुँजी औसतमा १५% ले बढेको छ । समीक्षा अवधिसम्म २१ बैंकहरुको चुक्ता पुँजी २ खर्ब ९७ अर्ब ३१ करोड भन्दा धेरै पुगेको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यिनीहरुको पुँजी २ खर्ब ५७ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, अधिकांश बैंकहरुले जगेडा कोषको आकार पनि बढाएका छन् ।

अघिल्लो आर्थिक वर्षको रिपोर्ट सार्वजनिक गरेका २१ वाणिज्य बैंकहरुको रिजर्भ कोेषमा कुल १ खर्ब ४८ अर्ब ३० करोड रहेकामा अहिले बढेर १ खर्ब ७१ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । साथै, २१ बैंकहरुले १ खर्ब ३४ अर्ब ४७ करोड खुद ब्याज आम्दानी गरेर ६४ अर्ब १५ करोड १३ लाख खुद नाफा कमाउन सफल भएका छन् । २१ बैंकहरुमध्ये अधिकांशको खुद नाफा, रिजर्भ कोष, खुद ब्याज आम्दानी तथा प्रतिसेयर आम्दानीमा सुधार भएको छ ।

अधिकांश सूचकमा ग्लोबल आइएमई, एनआइसी एसिया, राष्ट्रिय बाणिज्य र नबिल बैंक अगाडि रहेका छन् । कुनै पनि बैंकको नाफा, रिजर्भ, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफालगायतका प्रम्ुख सूचकहरुलाई हेर्दा चुक्ता पुँजीमा ख्याल गर्नैपर्ने हुन्छ । पुँजीका आधारमा अरु सूचकहरु कस्ता छन् भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । 
 
चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको धेरै

 
असार मसान्तसम्म आइपुग्दा सबै भन्दा धेरै चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको रहेको छ । यसको पुँजी २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । साथै, नेपाल बंगलादेश बैंकलाई गाभेपछि नबिल बैंकको चुक्ता पुँजी पनि २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुगेको छ । यसको पुँजी ६४.९२% ले बढेको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले ४६.६९% ले पुँजी बढाएको देखाएको छ । यता, एनआइसी एसिया बैंकको पुँजी भने अघिल्लो आर्थिक वर्षकै यथावत रहेको छ । नेपाल एसबीआई बैंकको ३.५% ले पुँजी वृद्धि भएको छ । समग्रमा बैंकहरुको चुक्ता पुँजी ३ खर्ब हारहारी पुगेको छ ।
 
जगेडा कोष नबिल बैंकको धेरै

 
असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै जगेडा कोष नबिल बैंकको देखिएको छ । यसको जगेडा कोष ६८.११% ले बढेर २६ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । नेपाल बंगलादेश बैंकलाई गाभेपछि यसको रिजर्भ बढेको हो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट, कृषि विकास तथा ग्लोबल आइएमई बैंकको रिजर्भ १० अर्ब भन्दा माथि रहेको छ ।

सबै भन्दा कम जगेडा कोष माछापुच्छ्रे बैंकको रहेको छ । यस अवधिसम्म ६ बैंकहरुको रिजर्भ घटेको छ । जसमध्ये लक्ष्मी बैंकको जगेडा कोष १३.८६% ले घटेको हो । २१ बैकहरुको जगेडा कोषमा १ खर्ब ७१ अर्ब ४८ करोड रुपैयाँ जम्मा भएको छ ।
 
खुद ब्याज आम्दानीमा एनआइसी एसिया बैंक अगाडि

 
असार मसान्तसम्ममा २१ बैंकमध्ये एनआइसी एसिया बैंकको खुद ब्याज आम्दानी सबैभन्दा धेरै ११ अर्ब ७७ करोड २१ लाख रुपैयाँ रहेको छ । त्यसपछि, ग्लोबल आइएमईको १० अर्ब भन्दा माथि रहेको छ । २१ बैंकहरुले यस अबधिसम्म १ खर्ब ३४ अर्ब ४७ करोड ८० लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन्।् । जसमध्य स्टान्डर्ड चार्टर्ड बैंकले सबै भन्दा कम ३ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रकाशित विवरण अनुसार सबै बैंकको खुद ब्याज आम्दानी बढेको देखिएको छ । 
 
खुद नाफामा राष्ट्रिय वाणिज्य बैंक अगाडि 

 
विवरण सार्वजनिक गर्ने २१ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको खुद नाफा ३७.३८% ले बढेको हो । त्यसपछि, ग्लोबल आइएमई बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । २१ बैंकहरुमध्ये ३ वटाको मात्र नाफा घटेको छ । जसमध्य कृषि विकास बैंकको २३.७४%, हिमालयन बैंकको १७.२२% र सानिमा बैंकको १.०२% ले नाफा घटेको हो । बैंकहरुले यस अवधिसम्म ६४ अर्ब १५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन् ।
 
वितरणयोग्य नाफा नबिल बैंकको धेरै

 
यस अवधिसम्म सबै भन्दा धेरै वितरणयोग्य नाफा नबिल बैंकको रहेको छ । यसको वितरणयोग्य नाफा ९ अर्ब १२ करोड १ लाख रहेको छ । यसको वितणयोग्य नाफा ११९.९६% ले बढेको हो । नेपाल बंगलादेश बैंक गाभिएपछि यसको वितरणयोग्य नाफामा बढोत्तरी देखिएको हो । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट, स्टान्डर्ड चार्टर्ड, नेपाल एसबीआइ बैक र एनसीसी बैंकको वितरणयोग्य नाफादर १००% भन्दा धेरैले बढेको छ । २१ बैंकमध्ये ६ वटाको मात्र वितरणयोग्य नाफा घटेको छ । जसमा सनराइज बैंकको ५७.४३% घटेको हो ।
 
प्रतिसेयर आम्दानीमा एनआइसी एसिया बैंकको अग्रता 

 
एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ३९ रुपैयाँ १३ पैसा रहेको छ । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९५ पैसाले बढेको हो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३४ रुपैयाँ ९० पैसा, एभरेष्ट बैकंको २७ रुपैयाँ १ पैसा, नबिल बैंकको २६ रुपैयाँ ८८ पैसा रहेको छ । २१ बैंकमध्ये ८ वटा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । जसमध्य कृषि विकास बैंकको १२ रुपैया ७२ पैसा तथा हिमालयन बैंकको ८ रुपैयाँ ९२ पैसाले घटेको हो । सबै भन्दा कम लक्ष्मी बैंकको १३ रुपैयाँ ८८ पैसा प्रतिसेयर आम्दानी रहेको छ ।  
 
 

Post Your Comment