Market Closed

पुँजीका आधारमा हेर्दा कस्तो देखिन्छ बैंकहरुको वितरणयोग्य नाफा, कुनको धेरै ?

03 May,2021
  • bank_dis_5_3_2021_7_53_13.jpg
नेपाली पैसा
 
काठमाडौं : २७ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कोरोना महामारीको समयमा पनि समग्रमा बैंकहरुको प्रगति उत्साहजनक देखिएको छ । अधिकांश बैंकको खुद नाफासँगै वितरणयोग्य नाफा पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानी, प्रतिसेयर आम्दानी, रिजर्भ लगायतका अरु महत्वपूर्ण सूचकहरुमा पनि बैंकहरुले औसतमा प्रगति गरेका छन् । तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुले गरेको प्रगतिबाट सेयर बजारका लगानीकर्ताहरु समेत निकै उत्साहित देखिएका छन् ।

यसैक्रममा यहाँ, बैंकहरुले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार चुक्ता पुँजीका आधारमा वितरणयोग्य नाफा कति देखिन्छ भन्ने जानकारी दिन खोजेका छौं । सामान्यरुपमा बुझ्दा वितरणयोग्य नाफा भनेको सेयर लगानीकर्ता वा सेयरहोल्डरलाई बाँड्न मिल्ने मुनाफा हो भनेर बुझ्न सकिन्छ । तथापि, वितरणयोग्य नाफा शीर्षकमा रहेको सबै रकम पनि वितरण भने हुँदैन । अर्थात, जति वितरणयोग्य नाफा छ त्यो सबै बैंकहरुको पूर्णरुपमा लाभांश दिने क्षमता हो भन्न पनि मिल्दैन । 

बैंकहरुले वितरणयोग्य नाफाबाट समाजिक उत्तरदायित्व, जनरल रिजर्भ, डिबेन्चर रिडेम्सन रिजर्भलगायतका विभिन्न कोषमा तथा शीर्षकहरुमा यँहीबाट रकम छुट्याउनुपर्छ । अनिमात्र बैंकहरुले के कति लाभांश वितरण गर्छन् भन्ने विषयको जानकारी हुन्छ । तर सामान्य हिसाबमा भने वितरणयोग्य शीर्षकमा रहेको रकम सेयरहोल्डरलाई बाँड्ने रकम भनेर बुझ्न सकिन्छ । सामान्यरुपमा आम लगानीकर्ताले त्यसरी नै बुझ्दै आएको अवस्था पनि हो । यसैसन्दर्भमा यहाँ तेस्रो त्रैमाससम्मको वितरणयोग्य नाफालाई हेरिएको छ ।

तर चालु आर्थिक वर्षको अझै ३ महिना बाँकी रहेकाले उक्त समयमा बैंकहरुको वितरणयोग्य थप बढ्ने देखिन्छ । आर्थिक वर्ष सकिएपछि परिस्कृत वित्तीय विवरणमा देखिएको वितरणयोग्य नाफा मात्रै वास्तविकरुपमा लाभांश लगायत अन्य विभिन्न शीर्षकमा बाँडफाँटका लागि योग्य हुनेछ । यहाँ तेस्रो त्रैमाससम्म चुक्ता पुँजीका आधारमा वितरणयोग्य नाफा कति देखिन्छ भनेर सामान्य जानकारी मात्र दिन खोजिएको हो ।

 
सूचीकृत बैंकमध्ये सबैभन्दा धेरै वितरण योग्य नाफा नबिलको
 
सूचीकृत २६ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै वितरणयोग्य नाफा क्षमता नबिल बैंकको देखिएको छ । तेस्रो त्रैमाससम्म नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रुपैयाँ छ । चुक्ता पुँजीलाई आधार मान्दा उक्त वितरणयोग्य नाफा पुँजीको २८.२०% हुन जान्छ । यता, पुँजीका आधारमा राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ३३.१३% देखिन्छ ।

यसको वितरणयोग्य नाफा ३ अर्ब ४ करोड ३२ लाख रुपैयाँ छ । तथापि, यो बैंक नेप्सेमा सूचीकृत भने भएको छैन । चैत मसान्तसम्म ११ वाणिज्य बैंकले चुक्ता पुँजीको आधारमा सरसर्ती हेर्दा १०% भन्दा बढी वितरणयोग्य नाफा गरेका छन् । यस्तै, १४ बैंकको भने वितरणयोग्य नाफा १०% भन्दा कम देखिन्छ । वितरणयोग्य नाफा रकममा तुलना गर्दा चुक्ता पुँजीको आधारमा हेर्न भने बिर्सिनु हुँदैन । वितरणयोग्य नाफासँगै लगानीकर्ताले डाइलुटेट प्रतिसेयर आम्दानी पनि हेर्नुपर्छ । 

Post Your Comment