Market Closed

सेयर बजारमा करेक्सन : लगानीकर्ताको तीब्र चासो, नेप्से अब कता जाला ?

26 Feb,2021
  • bull_beas_4_2_26_2021_1_51_59.png
नेपाली पैसा 
 
काठमाडौं : यस साता राजनीतिक अस्थिरताको असर नेप्सेमा पनि देखिएको छ । गत साताको तुलनामा ३.१३% ले घटेर यस साता नेप्से सूचक २५५४.१४ विन्दुमा बन्द भएको छ । गत साता नेप्सेको अन्तिम विन्दु २६३६.६८ थियो । बिहीबार ६.०९८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।

सेयर बजारमा यसअघि राजनीतिले पनि केही प्रभाव पारेको विश्लेषणहरु भएको थियो । तर यही साता प्रमुख राजनीतिक मुद्दाको छिनोफानो भएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेको छ । यसर्थ, बजार राजनीति भन्दा पनि स्वभाविक करेक्सनमा गएको अर्कोथरिको विश्लेषण छ ।

किन भने नेप्से सूचकले सजिलै २६०० विन्दु पार गरेको थियो । सूचक यो उचाईमा आइपुग्दासम्म खासै ठूलो अंकमा करेक्सन भएको थिएन । त्यसैले अझै उचाई बनाउनुअघि नेप्से सामान्य करेक्सन मुडमा गएको भन्नेहरु पनि बजारमा रहेका छन् ।



बजारको स्वभाविक करेक्सनबाट आम लगानीकर्ता आत्तिनु नपर्ने विश्लेषकहरु बताउँछन् । करेक्सनपछि बजार थप बलियो हुनेछ । अनि, अर्को उचाई तय गर्नका लागि नेप्सेलाई सजिलो हुनेछ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले पनि अहम भूमिका खेल्ने भएकाले सर्वसाधारण लगानीकर्ता बजारप्रति सकारात्मक हुन आवश्यक छ ।

केही दिन बजार करेक्सन भए पनि फेरि माथि जान सक्ने अनुमान धेरैको रहेको छ । किन भने बजारको बुलिस चक्र जारी छ । ब्याजदर सस्तो छ । सेयर कर्जा सजिलै पाइने अवस्था छ । सेयर बजारसम्बन्धी नीतिनियमहरु सुधारोन्मुख रहेका छन् । बजार प्रविधिमैत्री बनिरहेको छ । 
 
दैनिक कारोबार रकम 
 
यस साताभर दैनिक कारोबार रकम घट्दो क्रममा देखिएको छ । बिहीबार सबैभन्दा न्यून ६.०९८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने आइतबार सबैभन्दा धेरै ८.८३ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो । औसतमा यस साता दैनिक ७.७२ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

 
सूचीकृत समूहहरुको प्रदर्शन 
 
यस साता हाइड्रोपावर बाहेक बाँकी सबै समूहमा गिरावट आएको छ । हाइड्रोपावर समूह भने गत साताको तुलनामा ३.४०% ले बढेको छ । बैंकिङ समूहमा सबैभन्दा धेरै ४.६४% ले गिरावट आएको छ । त्यसपछि, जीवन बिमा समूह ४.६२% र विकास बैंक समूह ३.४६% ले घटेका छन् ।

 
धेरै कमाउने 
 
यस साता धेरै कमाउनेको सूचीमा चन्द्रागिरी हिल्सका लगानीकर्ताहरु अग्रस्थानमा आएका छन् । चन्द्रागिरीको सेयर भाउ ५३.८८% ले बढेको छ । त्यसपछि, नेपाल फाइनान्स १५.५९% र नेसनल हाइड्रोपावर कम्पनी १५.३३% ले बढेका छन् ।

 
धेरै गुमाउने 
 
यस साता लाइफ इन्सुरेन्स कर्पोरेसनका लगानीकर्ताको सम्पतिमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको सेयर भाउ एक साताको अन्तरालमा १८.११% ले घटेको छ । त्यसपछि, निर्धन उत्थान लघुवित्तको भाउ १२.६८% र कर्पोरेट डेभलपमेन्ट बैंकको भाउ १०.२१% ले घटेको छ । तर लाइफ इन्सुरेन्स कर्पोरेसन र निर्धनको बोनस सेयरमा भाउ समायोजन भएपछि बढी गिरावट देखिएको हो ।

 

Post Your Comment