Market Closed

सेयर बजारमा अत्याधिक त्रास र लोभबाट जोगिन के–के गर्ने अनि के नगर्ने ?

03 Mar,2021
  • fear_and_greed_3_3_2021_7_50_19.jpg
समिर गौतम 
 
काठमाडौं : सेयर बजारमा सफलतापूर्वक लगानी गर्न धेरै ज्ञान र सीपहरु आवश्यक हुन्छन् । यसमा कम्पनीको आधारभूत विश्लेषण गर्ने क्षमता र सेयर बजारको ट्रेन्ड पत्ता लगाउने क्षमताहरु निकै महत्वपूर्ण मानिन्छन् । तर यी दुई प्रविधिक सीपहरु भन्दा पनि अझै महत्वपूर्ण पक्ष भनेको लगानीकर्ताको मानसिकता हो । सेयर बजारबाट पैसा कमाउने कि गुमाउने भनेर निर्धारण गर्ने सबैभन्दा ठूलो तत्व नै लगानीकर्ताको मनोविज्ञान हो ।

मनोभावलाई नियन्त्रणमा राख्ने, छिटो सोच्ने र अनुशासनमा बस्ने लगायतका अभ्यासहरु व्यापार मनोविज्ञान (ट्रेडिङ साइकोलोजी) भित्र पर्दछन् । सेयर कारोबारीहरुले सधैं छिटो साच्नुपर्ने र सीघ्र निर्णय लिनुपर्ने हुन्छ । छोटो समयमै सेयर खरिदबिक्री गर्नका लागि दिमागको निश्चित उपस्थिति हुन जरुरी हुन्छ ।

आफ्नो कारोबार योजनामा अनुशासित भएर अडिग रही प्रोफिट बुक गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तसर्थ, कारोबारको समयमा मनोभावनालाई बीचमा प्रवेश गराउनु निकै हानिकारक हुन सक्छ । जो कोही सेयर लगानीकर्ता वा कारोबारीले मुख्य दुई वटा मुख्य मनोभावनालाई बुझ्न जरुरी हुन्छ । ती हुन् ः डर र लोभ ।
 
 डर र त्रासलाई चिन्ने
 
जब सेयर लगानीकर्ता वा कारोबारीले कुनै कम्पनी वा समग्र अर्थतन्त्रका बारेमा नकारात्मक समाचार सुन्दछन्, तब प्राकृतिकरुपमै डर पैदा हुन्छ । डरकै कारण सेयर काराबार गर्नेले आवश्यकता भन्दा बढी प्रतिकृया जनाउने र भएको सेयर बिक्री गरी नगदमा परिणत गर्ने सम्भावना रहन्छ । यसरी केही नोक्सान त कम गर्न सकिएला, तर नाफा कमाउनबाट वञ्चित हुने सम्भावना पनि उत्तिकै रहन्छ । 
 
सेयर कारोबार गर्नेले डर के हो बुझ्न जरुरी हुन्छ । डर सम्भावित खतराप्रति प्राकृतिक प्रतिकृया हो । सेयर कारोबारको हकमा यस्तो खतरा नाफाको सम्भावनासँग जोडिएको हुन्छ । सेयर कारोबारीले डर के को हो ? अनि, यस्तो डर किन लागेको हो ? भन्ने विषयमा गहन सोच र विचार पुर्याउनुपर्छ । तर यस्तो विचार नकारात्मक समाचार तथा सूचना बाहिर आउनुभन्दा अघि नै गर्नुपर्छ, बीचमा  वा आइसकेपछि होइन ।
 
समयभन्दा अगावै घटनाक्रमलाई विचार पुर्याउने हो भने त्यसमा कसरी प्रतिकृया जनाउने सहज हुन जान्छ । जसबाट लगानी तथा कारोबार निर्णयमा डर हावी हुन पाउँदैन । यद्दपि, हरेकलाई त्यसो गर्न सहज नहोला, तर आफ्नो पोर्टफोलियो तथा आफू स्वयंको स्वास्थ्य मजबुत बनाउनका लागि भने यो पक्कै महत्वपूर्ण हुन्छ ।
 
अत्याधिक लोभमाथि विजय 
 
अत्याधिक लोभी लगानीकर्ता जहिले पनि अन्तिम समयसम्म बढ्दो मूल्यको फाइदा उठाउने दाउमा हुन्छन् । तर ढीलो वा चाँडो जब बजार घट्न थाल्छ तब लोभी लगानीकर्ताहरु फन्दामा पर्दछन् । लोभलाई जित्न सहज भने छैन । अझै राम्रो फाइदा गरौं, अझै धेरै भाउ बढोस् भन्ने प्रविृत्त अधिक लोभका कारण नै जन्मिन्छ । 

कतिपय अवस्थामा ज्यादा लाभकै कारण प्राप्त भइसकेको फाइदालाई पनि गुमाउनुपर्ने सम्भावना रहन्छ । तसर्थ, सेयर कारोबारीले आफूमा भएको यस्तो लोभी प्रवित्तिलाई पहिचान गर्नुपर्दछ । विवेकमा आधारित निश्चित र तर्कसंगत कारोबार योजना बनाउनुपर्छ । उक्त योजना अनुसार अनुशासनमा पनि बस्नुपर्दछ । यसो गर्दा कारोबारका बीचमा लोभी प्रवृत्तिमा कमी आउन हुन्छ ।
 
भावनामा आधारित कारोबार निर्णय लिनबाट कसरी जोगिने ?
 
यसका लागि मुख्य दुई वटा उपाय निकै प्रभावकारी हुन सक्दछन् :
 
नियम बनाउने 
 
सेयर लगानीकर्ता वा कारोबारी दुवैले निश्चित कारोबारको नियम बनाउनुपर्छ ।  जब मनोवैज्ञानिक तत्वहरु हावी हुने देखिन्छ, सोही नियमलाई अनुसरण गर्नुपर्दछ । आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता (रिस्क–रिवार्ड) पहिचान गरी कारोबारलाई दिशानिर्देश गर्नुपर्दछ । कारोबारमा भावनात्मक तत्वले असर नगरोस भन्नका लागि नाफाको लक्ष्य निर्धारण गर्नुपर्दछ । नोक्सान रोकथाम (स्टप लस) गर्ने लक्ष्य तय गर्नुपर्दछ ।
 
अनुसन्धान र समीक्षा गर्ने 
 
सेयर कारोबार गर्नेले जहिले पनि आफ्नो रुचिका स्टक र इन्डस्ट्रिमा विज्ञ हुन आवश्यक छ । विश्व विख्यात लगानीकर्ताको उदाहरण हर्ने हो भने उनीहरु पनि आफूले बुझेको भन्दा बाहिरको क्षेत्रमा लगानी गर्न हिच्किचाउने गरेको देखिन्छ । दैनिक आउने समाचारहरुलाई ध्यान दिनुपर्छ । तर त्यसबाट प्रभावित भने हुनुहुँदैन । स्वयंलाई शिक्षित बनाउन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

सेयर बजार, लगानी तथा कारोबार सम्बन्धी कुनै सभा, सम्मेलन, गोष्ठी, तालिम लगायत कार्यक्रममा भाग लिने मौका कहिले पनि गुमाउनु हुँदैन । त्यस्ता कार्यक्रमहरु आफूले जानेको वा बुझेको कुरालाई परीक्षण गर्ने थलोहरु पनि हुन् । ज्ञानले डरलाई जित्न पनि ठूलो भूमिका निर्वाह गर्दछ ।
 

Post Your Comment