Market Closed

सुरु भयो ब्रोकर रहित सेयर कारोबारको बहस : व्यवहारमा कति सम्भव होला ?

02 Apr,2021
  • brokerless_4_2_2021_8_34_14.jpg
इशारा कोइराला 
 
काठमाडौं : पुँजी बजार प्रविधिमैत्री भएसँगै अब नेपाली लगानीकर्ताले ब्रोकार रहित सेयर कारोबारको माग गर्न थालेका छन् । अनलाइन प्रणालीको विकास, लगानीकर्तामा सचेतना वृद्धि लगायतका कारण पनि यस्तो माग आउन थालेको हो । कतिपयले अन्तर्राष्ट्रिय प्रचलनको समेत उदाहरण दिने गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले अहिले नेपालको पुँजी बजारले प्रविधिमा फड्को मारेको भन्दै अबको दिनमा ब्रोकर रहित सेयर कारोबार सेवा सुरु हुनुपर्ने बताए ।

उनले भने, ‘अहिलेका ब्रोकर कम्पनीहरुले अपेक्षा अनुसार प्रभावकारी रुपमा भूमिका निवाह गर्न सकेका छैनन् । ब्रोकर कमिसन पनि उच्च हुँदा लगानीकर्तालाई धेरै भार परेको छ ।’ अहिले लगानीकर्ताले सेयर कारोबार गर्दा कुनै न कुनै ब्रोकरको माध्यमबाटै गर्नुपर्छ । धितोपत्र व्यवसायमा ग्राहकको सम्पत्ति सुरक्षा, ग्राहकको नाममा नामसारी गरेर ल्याइदिने, किनबेच गर्ने र कारोबार भएको रकमको सुनिश्चितताको जिम्मेवारीसमेत ब्रोकरहरुकै हुन्छ ।

यसआधारमा लगानीकर्तालाई केही सहज भने भइरहेको छ । तर कतिपय अवस्थामा लगानीकर्ताहरुले ब्रोकरहरुमाथि पनि विभिन्न आरोप र गुनासो गर्ने गरेका छन् । तथापि, ब्रोकर मध्यस्थकर्ता हुँदा कारोबार गर्नेलाई सजिलो भने पक्कै भएको छ । 
 
 छिमेकी मुलुक भारतको सेयर बजारमा साना लगानीकर्ताले समेत ब्रोकर रहित कारोबार गर्न सक्ने अवधारणा नियामक निकाय भारतीय प्रत्याभूति तथा विनिमय बोर्ड (सेबी) ले अघि सारेको छ । तथापि, भारतीय बजारमा एक दशकभन्दा अघिदेखि नै संस्थागत लगानीकर्ताले ब्रोकर रहित सेयर कारोबार गर्न पाउँदै आएका छन् । 
 
उक्त प्रणालीलाई डाइरेक्ट मार्केट एक्सेस (डीएमए) नामकरण गरिएको छ भने संस्थागत लगानीकर्ताले स्टक एक्सचेन्जबाट सोझै कारोबार प्रणालीमा प्रवेश गर्न पाउँछन् । यसका लागि संस्थागत लगानीकर्ताको कारोबार प्रवृष्टि ब्रोकरले नगरे पनि ग्राहक पहिचानलगायतको विवरण भने राख्ने गर्छ ।
 
अहिले नेपालमा पनि अधिकांश लगानीकर्ताले अनलाइनको प्रयोग गर्ने हुँदा ब्रोकर रहित कारोबार सम्भंव रहेको अध्यक्ष रौनियारले बताए । ब्रोकररहित कारोबार भयो भने लगानीकर्ताले ब्रोकर कमिसन बापत तिर्नुपर्ने ठूलो रकमको बचत हुने उनले बताए । तथापि, यसका लागि नेप्सेको सिस्टममा.भने अपग्रेड गर्नु पर्नेछ । साथै, नेपालमा यस सम्बन्धी कानुनी प्रावधान पनि छैन ।

यसर्थ, धितोपत्र सम्बन्धी नियम, कानुनमा पनि परिमार्जन गर्नुपर्ने हुन्छ । ब्रोकर रहित सेयर कारोबारका लागि अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको भने छैन यता, लगानीकर्ता माझ ब्रोकर रहित सेयर कारोबारको चर्चा भइरहँदा नियामक निकायले भने खासै चासो दिएको छैन ।

नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार ब्रोकर रहित सेयर कारोबारका लागि बोर्डले अहिलेसम्म कुनै योजना बनाएको छैन । बरु ब्रोकरको संख्या थप्ने र शाखा विस्तार गर्ने मनसायमा बोर्ड रहेको छ । यता, नेप्सेले पनि ब्रोकर रहित सेयर कारोबारका विषयमा बहस सुरु भए पनि नेपाली लगानीकर्ताले तत्कालै यस्तो सुविधा पाउने सम्भावना कम रहेको जनाएको छ । 
 
कसरी हुन्छ ब्रोकर रहित सेयर कारोबार ? 
 
अहिले लगानीकर्ताले सेयर कारोबार गर्दा कुनै न कुनै ब्रोकरको माध्यमबाट मात्रै कारोबार गर्नुपर्छ । कानुनीरुपमै ब्रोकरमार्फत मात्र कारोबार गर्न पाइने व्यवस्था छ । ब्रोकर रहित सेयर कारोबार कार्यान्वयनमा आयो भने लगानीकर्ताले ब्रोकरलाई मध्यस्तकर्ता राख्नुपर्ने जरुरी हुँदैन ।

लगानीकर्ताले कारोबारका लागि आफूलाई आवश्यक पर्ने लगइन र पासवर्ड सोझै नेप्सेबाट लिन सक्नेछन् । तर, त्यसका लागि नेप्सेले सिस्टम अपग्रेड र केही पूर्वाधार तयारीमा थोरै लगानी थपे पुग्छ । कारोबारका लागि पनि छुट्टै नियम बनाउनुपर्छ ।
 

Post Your Comment