Market Closed

वाणिज्य बैंकहरुमा सीसीडी रेसियो र तरलता अवस्था कस्तो छ ?

07 Apr,2021
  • bank_cash_4_7_2021_7_40_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुको औसत कर्जा पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७७.८७% रहेको छ । यसले वाणिज्य बैंकहरुसँग पर्याप्त मात्रामा लगानी योग्य रकम रहेको देखाउँछ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिमार्फत वाणिज्य बैंकको सीसीडी रेसियोको सीमा ८५% पुर्याएको थियो । तर, अहिले कुनै पनि वाणिज्य बैंकहरुको सीसीडी रेसियो ८५% पुगेको छैन ।

अहिले कर्जा प्रवाहलाई आक्रामक बनाएका वाणिज्य बैंकको सीसीडी रेसियो पनि ७९% देखि ८०% सम्मको सीमामा रहेको केन्द्रीय बैंकले जनाएको छ । यसले अझै वाणिज्य बैंकहरुसँग सीसीडी रेसियोको सीमा न्यूनतम पनि ५% बाँकी रहेको देखाउँछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी योग्य रकमको आभाव हुन थाल्यो भनेर भ्रम फिजाउने काम भइरहेको एक वाणिज्य बैंकका सीइओले बताए ।

उनले भने, ‘अहिलेको सीसीडी रेसियोलाई नै हेर्ने हो भने पनि बैंकहरुसँग लगानी गर्न प्रर्याप्त पुँजी रहेको देखिन्छ ।’ अहिले कुनै पनि बैंकको सीसीडी रेसियो ८०% भन्दा माथि नरहेको उनले बताए । विगतका वर्षमा लगानी योग्य पुँजी अभाव हुँदै धेरै बैंकको सीसीडी रेसियोले सीमा नाघ्ने गरेको थियो । अहिले त्यो अवस्था नरहेको उनले बताए ।
 
कोरोनाले शिथिल पारेको अर्थतन्त्रका केही क्षेत्र चलायमान भएपनि अझै सबै क्षेत्र पूर्ण रुपमा चलाएमान नहुँदा बैंक तथा वित्तीय संस्थामा प्रयाप्त मात्रामा तरलता रहेको जानकारहरुले बताउँदै आएका छन् । नयाँ ऋणको मागमा कमी आउनु र लगानीका धेरै क्षेत्र शिथिल हुँदा सबै पैसा बैंकमा थुप्रिएको बैंकरहरूको बुझाई छ । दोस्रो चरणको कोरोनाको सन्त्रास फैलिएकाले पनि कतिपय व्यवसायीले तत्कालका लागि ऋण लिन बन्द गरेका छन् ।

भारतमा दोस्रो चरणको कोरोना महामारीकै रूपमा फैलिन थालेको छ । भने, कति राज्यमा त लकडाउन नै भएको छ । त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । यस्तो अवस्थामा बैंकमा ऋण माग्न आउनेको संख्यामा कमी आएकाले पनि बैंकमा पैसा थन्किएको हो । 
 
बैंक तथा वित्तीय संस्थामा कति छ तरलता ?
 
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक (चैत २४ गतेसम्म) बैंक तथा वित्तीय संस्थामा ४८ अर्ब रुपैयाँ तरलता रहेको केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । यसले पनि बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी प्रसस्त रहेको देखाउँछ । तथापि, कोरोनाको कारण सरकारले गरेको लकडाउनमा बैंक तथा वित्तीय संस्थामा २ सय खर्बभन्दा बढी तरलता थियो ।

यसले अर्थतन्त्रका केही क्षेत्र चलायमान भएसँगै बैंकहरुको कर्जा प्रवाह बढेको देखाउछ । यद्दपि, फागुन अन्तिम साताको तुलनामा चैत अन्तिम साता तरलता बढेको छ । फगुन अन्तिम साता करिब ३४ अर्ब रुपैयाँ रहेको तरलता चैत अन्तिम साता ४८ अर्ब रुपैयाँ पुगेको छ । यता, नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले चैत २० गतेसम्म ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

चैत १३ गतेसम्म बैंकहरुले ३८ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । यसरी हेर्दा एक साताको अवधिमा निक्षेप संकलन ४० अर्ब रुपैयाँ बढेको छ । केही महिना यता सुस्त रुपमा मात्र वृद्धि भएको निक्षेप संकलन यो साता भने ह्वातै बढेको हो । यसले पनि तरलतामा सहयोग पुर्याएको छ ।
 

Post Your Comment