Market Closed

सेयर बजारका लगानीकर्ताले किन कमजोर बनाए मनोबल ?

21 Apr,2021
  • bulls_beas_nes_4_21_2021_3_10_18.png
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा गिरावट आउनेक्रम बुधबार पनि जारी रहेको छ । सर्वसाधारण लगानीकर्ताले मनोबल गिराउँदा बजार कमजोर भएको हो । कोरोना संक्रमण र लक डाउन हुन सक्ने भन्दै लगानीकर्ताहरु त्रसित भएका हुन् । तर यसरी लगानीकर्ता त्रसित हुनुपर्ने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् । लक डाउन भइहाल्ने पनि गत वर्ष जस्तो लामो समय नजाने अनुमान गरिएको छ । यस्तै, सरकार सकेसम्म लक डाउन गर्ने मनस्थितिमा छैन ।

कोरोनाबाट अब त्रसित हुने होइन, सुरक्षाका मापदण्डहरु पालना गरी दह्रो मनोबलका साथ दैनिक कामहरुलाई नियमित गर्नुपर्ने हुन्छ । विगतमा जस्तो सबैतिर ठप्प हुने अवस्था छैन । यस्तै, केही समय सर्वसाधारण लगानीकर्ता त्रसित हुँदा बजार सामान्य तल आए पनि फेरि नेप्सेले गति लिने विश्लेषणहरु भइरहेका छन् । किन भने यस्तो बेला अन्य क्षेत्रमा लगानीका अवसरहरु खुम्चिनेछन् ।

वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थ हुनेछ । ब्याजदर पनि सस्तो छ । सूचीकृत कम्पनीहरुले औसतमा राम्रो नाफा कमाएको वित्तीय विवरणहरु सावर्जनिक गरिरहेका छन् । यी परिदृश्यहरुका आधारमा पनि बजारले अन्ततः गति लिने अनुमान गर्न सकिन्छ । गत वर्ष पनि बजारले केही समयमै बाउन्स ब्याक गरेको विषयलाई लगानीकर्ताले बिर्सिनु हुँदैन । 
 
लगानीकर्ताले अब जोखिम बहन क्षमतालाई ख्याल गर्दै अघि बढ्न सक्नुपर्छ । होल्ड गर्न सक्ने क्षमता भएकाहरुले त्रसित हुनु नपर्ने विश्लेषकरुको भनाई रहेको छ । होल्ड गर्न सक्ने निश्चित अवधिको योजना बनाएर अघि बढ्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्नुपर्छ । कम्पनीको आधारभूत पक्षलाई ख्याल गर्नुपर्छ ।

भविष्यमा नाफा विस्तार गर्न सक्ने अवस्था, व्यवस्थापन तथा सञ्चालकहरुका बारेमा पनि ध्यान दिनुपर्छ । यसो हुन सकेमा प्रत्येक दिन हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन । नेप्से सूचक ३२.४१ अंकले घटेर २६३२.२१ विन्दुमा अडिएको छ । ५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।



१ करोड ३७ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । म्युअुल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेको छ । ४ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । २५ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा निफ्रा अग्रस्थानमा रहेको छ । 


Post Your Comment