Market Closed

ब्रोकर छान्ने नेप्सेको अधिकार खोस्दै धितोपत्र बोर्ड

21 Apr,2021
  • sebon_ims_4_21_2021_8_27_59.jpg
इशारा कोइराला
 
काठमाडौं : नयाँ ब्रोकरलाई लाइसेन्स दिने चर्चासँगै नियामक नेपाल धितोपत्र बोर्डले आफैं सेयर ब्रोकर छान्ने व्यवस्था गर्न लागेको छ । यसबारेमा अहिले धितोपत्र बोर्डमा छलफल भइरहेको बोर्ड स्रोतले बताएको छ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकर छानेर अनुमतिपत्रका लागि मात्र धितोपत्र बोर्डमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई परिमार्जन गरेर छनोटको सबै अधिकार बोर्डमै लैजाने तयारी भइरहेको धितोपत्र बोर्ड स्रोतले बतायो ।

धितोपत्र बोर्डले आफूले नियमन गर्ने संस्थाले छनोट गरेको कम्पनीलाई लाइसेन्स दिन अलि नसुहाएको भन्दै यो व्यवस्था परिमार्जन गर्न छलफल थालेको हो । तथापि, यसमा धितोपत्र बोर्डभित्रै एकमत हुन सकेको छैन । बोर्डमा पनि मत बाझिएको स्रोतको भनाई छ । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासहित एक समूहले भने आफ्नो अधिकारको हनन् भएको भन्दै ब्रोकर छनोटको सम्पूर्ण अधिकार बोर्ड आफैंले लिनुपर्ने धारणा राखेको स्रोतले बतायो ।

बोर्डकै अर्को समूहले भने नेप्से पनि सरकारी निकाय नै भएको अनि नियमावलीमा पनि प्रस्ट व्यवस्था भएकाले ब्रोकर छनोटको जिम्मा नेप्सेलाई नै दिनुपर्ने धारणा राखेका छन् । ब्रोकर छनोटको व्यवस्था बोर्ड आफैंले गर्नका लागि धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ परिमार्जन गर्नुपर्छ । अहिले यो नियमावली परिवर्तन गर्न धितोपत्र बोर्डमा छलफल भइरहेको छ ।

धितोपत्र नियमावली, २०६४ मा नेप्से (धितोपत्र बजार) ले बजारको आवश्यकता अनुसार ब्रोकरको संख्या यकिन गर्ने व्यवस्था छ । नेप्सेले उपलब्ध भौतिक सुविधा, आवश्यकता तथा धितोपत्रको प्रतिस्पर्धी बजार निर्माण पक्षलाई दृष्टिगत गरी थप्नुपर्ने धितोपत्र दलाल र धितोपत्र व्यापारीको संख्या यकिन गर्ने व्यवस्था नियमावलीमा रहेको छ ।

तर अहिले आफूले नियमन गर्ने संस्थालाई लाइसेन्स दिने काम धितोपत्र बोर्डको भएको भन्दै नियमावली संंशोधन लागि छलफल भएको हो । तथापि, यसको अन्तिम टुंगो लाग्न भने बाँकी छ । नियमावली संशोधन गरेर बोर्डले ब्रोकर छान्ने अधिकार लिने वा नेप्सेलाई नै ब्रोकर छान्ने अधिकार दिने भन्ने टुंगो नलागेसम्म नयाँ ब्रोकरको लाइसेन्स खुला गर्ने काम पनि अघि बढ्न नसक्ने देखिएको छ । यसआधारमा पनि तत्कालै नयाँ ब्रोकरलाई लाइसेन्स खुला गर्ने प्रक्रियामा समेत विलम्ब हुने देखिएको छ । 
 
ब्रोकर लाइसेन्सका लागि संस्थापक, सञ्चालक तथा कार्यकारी प्रमुखको पूर्ण विवरण, निवेदक कम्पनी वा संगठित संस्थाको विवरण र कागजात आवश्यक हुन्छ । यस्तै, कुनै कम्पनी वा संगठित संस्था धितोपत्र व्यापारीको संस्थापक भए उक्त कम्पनी वा संगठित संस्थाको विवरण र आवश्यक कागजात चाहिन्छ । यसैगरी, धितोपत्र दलालको स्वामित्व ग्रहण गर्ने व्यक्तिको लगानीको स्रोतसम्बन्धी विवरणलगायत कागजात पनि पेस गर्नुपर्ने व्यवस्था नियमावलीमा रहेको छ । 
 
यसरी निवेदनसाथ प्राप्त विवरण तथा कागजात जाँचबुझ गर्दा रीतपूर्वक नदेखिए बोर्डले थप विवरण वा कागजात माग गर्न सक्ने व्यवस्था नियमावली रहेकाले पनि सबै अधिकार बोर्डले लिनुपर्छ भन्ने नरहेको सेयर बजारका जानकारहरुले बताएका छन् । अहिले नयाँ लाइसेन्स दिने तयारी चलिरहँदा बोर्डले लाइसेन्स दिने अधिकार आफूतिर ल्याउन खोज्नुले झन् शंका उब्झिएको एक सेयर बजार विश्लेषकले बताए । 
 
उनले भने, ‘अहिले नयाँ ब्रोकरलाई लाइसेन्स दिने तयारी भइरहेको बेला नेप्सेमा रहेको लाइसेन्स दिने अधिकार बोर्डमा ल्याउन खोज्नुले थप आशंका उब्झाएको छ ।’ सुरुदेखि नै नेप्सेले गर्दै आएको काम एकाएक अनि उपयुक्त कारणबिनै धितोपत्र बोर्डले लिन खोज्नुले नेप्सेको अधिकारमाथिकै हस्तक्षेपका रुपमा पनि कतिपयले व्याख्या गर्न थालेका छन् । धितोपत्र बोर्डले ९ वर्षपछि नयाँ ब्रोकरलाई लाइसेन्स खुलाउने तयारी गरेको हो । 
 

Post Your Comment