Market Closed

निषेधाज्ञामा पनि बैंकमा भीडभाड उस्तै, कर्मचारीलाई भ्याइनभ्यई : किन भयो यस्तो ?

11 May,2021
  • bank_1_5_11_2021_7_50_49.jpg
इशारा कोइराला
 
काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको भीड लाग्न थालेको छ । नषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाहरुमा एकाएक सेवाग्राहीको भीड लाग्न थालेको हो । उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएसँगै सरकारले बैंकका एक चौथाई शाखाबाट अिनि एक चौथाई कर्मचारीबाटै सेवा प्रदान गर्न निर्देशन दिएको थियो । योसँगै बैंक तथा वित्तीय संस्थाले सीमित कर्मचारी राखेर सीमित शाखा मात्रै सञ्चालनमा ल्याएका छन् ।

सीमित शाखामात्र सञ्चालनमा आएपछि वित्तीय संस्थाहरुमा एकाएक सेवाग्राहीको भीडभाड बढेको हो । थोरैमात्र शाखा खुल्ने भएपछि सेवाग्राहीहरु यसरी खोलिएका बैंक शाखामा गएर घन्टौंसम्म लाइन बस्न बाध्य भएका छन् । सोमबार सानिमा बैंकको महाराजगन्ज शाखामा पुग्दा सेवाग्राहीको निकै भीड लागेको थियो । त्यहाँ अधिकांश सेवाग्राही बैंक खाताबाट पैसा निकाल्न आएका थिए भने केही रेमिटेन्स लिन ।

उक्त शाखामा भेटिएकामध्ये धेरैजसो सेवाग्राही ५५ वर्ष माथिका छन् । उनीहरु मध्ये धेरैले अनलाइन (प्रविधि) को प्रयोग नजानेर बैंकमा नै धाउन बाध्य हुनुपरेको बताए । यस्तै काठमाडौं कपन बस्ने ललिता गुरुङ आफ्नो बेलायत बस्ने छोराले पठाइदिएको रेमिटेन्स झिक्न महाराजगन्जसम्म आइपुग्नुपर्यो । उनले भनिन्, ‘कपनदेखि महाराजगन्जमा आइपुग्दासम्म कँहीकतै मनिट्रान्सफर र बैंक खुलेका रहेनछन् ।’

महाराजगन्जसम्म पैदल यात्रा गर्दै आएकी उनले बैंकमा सेवाग्राहीको भीड भएका कारण करिब एक घण्टा लाइन बसेपछि मात्रै पैसा निकाल्न पाइन् । उनले भनिन्, ‘पैसा निकाल्न मिल्छ भनेर यहाँसम्म आइपुगें । यहाँ आएर पनि एक घण्टा लाइनमा बसेर मात्र बल्ल पैसा निकाल्न सकें ।’ 
 
यता, सोमबार नै सेन्चुरी कमर्सियल बैंक धुम्बाराही शाखामा भेटिएका राम वाग्लेले  ऋणको किस्ता बुझाउन बैंकमा आएको बताए । उनले भने, ‘बैंकबाट लिएको ऋणको किस्ता बुझाउने अन्तिम दिन आज (सोमबार) हो । नजिकका बैंक शाखाहरु बन्द भएकाले यहाँसम्म आउनुपर्यो ।’ उनी टोखादेखि धुम्बाराहीको शाखासम्म पुगेका हुन् । बैंकमा न्यून मात्रै कर्मचारी भएकाले काम पनि निकै ढिला भएको छ ।

उनीहरु त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । अहिले धेरै सेवाग्राही आफ्नो नजिकको शाखा नोखोल्दा निकै टाढासम्म जान बाध्य भएका छन् । कोरोना कहरमा झन् बढी सास्ती थपिएको छ । भीडभाड पनि उस्तै । यसबाट रोग फैलिन सक्ने त्रास पनि अझै वृद्धि भएको छ । 
 
बैंकका कर्मचारीलाई भ्याइनभ्यई
 
सानिमा बैंक महाराजगन्ज शाखाकी एक कमर्चारीका अनुसार बैंकमा एक चौथाई कर्मचारी मात्रै उपस्थित भएर काम गर्ने निर्देशन आएसँगै बैंकका कर्मचारीलाई भ्याइनभ्याई भएको छ । उनले भनिन्, ‘थोरै कर्मचारीबाट काम गर्नुपर्ने भएकाले सेवाग्राहीले घन्टौं कुर्नुपरेको छ भने हामीलाई पनि भ्याइनभ्याई भएको छ ।’ त्यस्तै, कृषि विकास बैंक ठमेल शाखाकी एक कर्मचारीले पनि निषेधाज्ञामा झन् आफूहरुलाई कामको चाप परेको बताउँछिन् ।

उनले भनिन्, ‘निषेधाज्ञामा थोरै कर्मचारीबाट काम गर्नुपर्ने भएकाले हामीहरुलाई भ्याइनभ्याई नै भएको छ ।’ तथापि, बैंकमा सीमित कर्मचारी मात्रै हुने भएकाले बैंकले कर्मचारीलाई ‘रोटेसन’ अनुसार काम लगाउने गरेका छन् । बैंकहरुले आफ्नो वेबसाइट र प्रायःजसो सबै शाखा कार्यालयहरुमा बैंकको शाखा खोल्ने स्थान र दिन र समयका बारेमा भने जानकारी दिएका छन् ।

केन्द्रीय बैंकले अनलाइन प्रविधिको बढीमात्रामा प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गर्दै आएका छन् । तर उचित ज्ञानको अभावको कारण अझै पनि सबै सेवाग्राहीले प्रविधिको प्रयोग गर्न जानिसकेको अवस्था भने छैन । तथापि, एक वर्षको अवधि (गत वर्षको लक डाउनदेखि अहिलेसम्म) प्रविधिको प्रयोग गर्ने सेवाग्राहीको संख्यामा भने उल्लेख्य मात्रामा वृद्धि भएको तथ्यांकले देखाएको छ । 
 
 
 

Post Your Comment