भारतमा कोरोना भाइरस संक्रमितका लागि नयाँ औषधि प्रयोग गर्न अनुमति

18 May,2021
  • to_dg_5_18_2021_10_32_06.jpg
 
नयाँ दिल्ली : कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई कोभिड–१९ संक्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन रूपमा अनुमति दिएको हो । कोभिडबाट अतिप्रभावित राजधानी दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ ।

सरकारले जारी गरेको विज्ञप्तिमा औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको उल्लेख छ । तर केही आलोचकहरूले कोभिड उपचारका लागि उक्त औषधिलाई आपतकालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्यांक उपलब्ध नभएको बताएका छन् । टू–डीअक्सी–डी–ग्लुकोज (टू–डीजी) औषधि डिफेन्स रिसर्च डिभलप्मन्ट अर्गनाइजेशन (डीआरडीओ) ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो ।
 
भारतमा कोभिड–१९ संक्रमणबाट मृत्युदरमा अपेक्षा गरिए अनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो । “क्लिनिकल परीक्षणका नतिजाहरूले यो मलिक्यूलले अस्पताल भर्ना भएका बिरामीहरूलाई छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ,” विज्ञप्तिमा भनिएको छ । 
 
स्वास्थ्य विज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित तथ्यांकको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको बताएका छन् । उक्त औषधि खासमा क्यान्सर रोगको उपचारका लागि विकास तथा परीक्षण गरिएको तर लामो समयसम्म प्रयोग गर्दा समेत स्वीकृत नगरिएको उनीहरूले औँल्याएका छन् ।
 
रासस–एएफपी 

Post Your Comment