Market Closed

मेरो सेयरबाट अब यसरी छुट्याउनुहोस् कारोबारी र लगानीकर्ता

18 Jul,2021
  • Short-Term-Capital-Gains-_6_25_2021_8_13_57_7_16_2021_8_13_02_7_18_2021_7_11_50.png
नेपाली पैसा

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था गरेको छ । जसअनुसार नयाँ आर्थिक वर्ष अर्थात् साउन १ गतेबाट यो प्रावधान लागू भएको छ । तथापि, साउन १ र २ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द थियो । तसर्थ, आज साउन ३ गतेको कारोबारबाट लगानीकर्ताले सेयर स्वामित्वको आल्पकालीन र दीर्घकालीन समयावधि छुट्याउनुपर्ने भएको छ ।

नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिको लगानीलाई ७.५०% र १ वर्ष भन्दा बढी अवधि होल्ड गर्नेलाई ५% लाभकर लाग्ने छ । जसअनुसार अबदेखि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा सेयर मौज्दात रहेको समयावधिसमेत गणना गर्नुपर्नेछ । आफ्नो स्वामित्वमा रहेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधिसम्म रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्यासमेत खुलाई इडीआइएस गर्न सीडीएसले लगानीकर्तालाई आग्रह गरेको हो । 

यसको लागि सीडीएसले मेरो सेयर एपमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरी आइतबार साउन ३ गते बेलुका ७ बजेदेखि सञ्चालनमा ल्याएको जनाएको छ । मेरो सेयरको मोबाइल एप प्रयोग गर्ने लगानीकर्ताले प्लेस्टोर मार्फत मेरो सेयर एप अपडेट गरी उक्त सेवा प्रयोग गर्न अनुरोध गरिएको छ ।

मेरो सेयरबाट यसरी छुट्याउनुहोस् समयावधि

लगानीकर्ताले अबदेखि सेयर बिक्रीपछि इडीआइएस गर्ने बेलामा वेटेड एभरेज गणनासँगै स्वामित्वमा रहेको सेयरको अल्पकालीन तथा दीर्घकालीन समयावधि पनि छुट्याउनु पर्दछ । वेटेड एभरेज गणना गरिसकेपछि समयावधि छुट्याउनु पर्दछ । जसका लागि निम्नलिखित प्रक्रियाहरु रहेका छन् । 

१) आफ्नो स्वामित्वमा रहेको धितोपत्रको स्वामित्व अवधि गणना गर्नका लागि ‘माइ पर्चेज सोर्स’ अप्सनमा क्लिक गर्नुहोस् र त्यसभित्र रहेको ‘माइ होल्डिङ्स’ मा क्लिक गर्नुुहोस् ।

२) ‘माइ होल्डिङ्स’ मा आफूले बिक्री गरेको प्रत्येक सेयर छनौट गरी ‘सर्च’ थिच्नुहोस् ।

३) सर्च गरिसकेपछि तपाईको स्वामित्वमा रहेको सेयर संख्या बराबरको कारोबार विवरण डिस्प्ले हुन्छ । त्यसमा सिस्टमले ३६५ दिनभन्दा पुरानो सेयरलाई दीर्घकालीन (लङ टर्म) मानेर ‘एलटी’ र ३६५ दिनभन्दा कम अवधिका नयाँ सेयरलाई अल्पकालीन (सर्ट टर्म) मानेर ‘एसटी’ संकेत देखाउँछ । यस सिस्टममा रहेको सबै सेयरलाई सेलेक्ट गरी ‘प्रोसिड’ बटन क्लिक गर्नुपर्दछ ।

४) सिस्टमले दिएको विवरण अनुसारको होल्डिङ अवधिमा असहमति भएमा ‘युजर डिफाइन्ड होल्डिङ डेज’ अप्सन मार्फत आफैं विवरण पेश गर्न सकिनेछ । तर, ‘रिमार्कस्’ मा आफूले होल्ड गरेको वास्तविक समयावधिको प्रमाण पेश गर्नुपर्दछ । यति गरिसकेपछि ‘प्रोसिड’ बटन थिच्नुपर्दछ ।

५) यदि तपाईंको स्वामित्वमा रहेको सेयर मर्जर एक्विजिसनमा गएको कारण कर छुट हुने समयावधिमा छ भने ‘युजर डिफाइन्ड मर्जर फ्लाग’ सेलेक्ट गरी ‘रिमार्कस्’ मा खुलाउनु पर्दछ । त्यसपछि ‘प्रोसिड’ बटनमा क्लिक गर्नुहोस् ।

६) त्यसपछि सहमति जनाउने चेकबक्समा सेलेक्ट गरी अपडेट बटनमा क्लिक गर्नुहोस् । यसरी तपाईंको सेयर अल्पकालीन तथा दीर्घकालीनमा विभाजन हुन्छ ।

७) यसरी आफ्नो स्वामित्वमा रहेको धितोपत्रको समयावधि विभाजन गरिसकेपछि पुनः ‘माइ इडीआइएस’ मा क्लिक गरी ‘ट्रान्स्फर सेयर’ मा क्लिक गर्नुहोस् ।

८) त्यसपछि, सेटलमेन्ट आइडीसँगै रहेको भिउ डिटेल्समा क्लिक गरी बिक्री कारोबारलाई सेलेक्ट गरी प्रोसिड गर्नुहोस् । त्यसपछि तपाईंले बिक्री गरेको सेयरलाई मर्जर एक्विजिसनका कारण कर छुट हुने, दीर्घकालीन र अल्पकालीन स्वामित्वमा रहेको संख्यामा बाँडफाँट गरिन्छ । त्यसपछि इडीआइएसका लागि कन्फर्म गर्नुहोस् ।

९) यस विधि अनुसार अपटेड गरेको विवरण तपाईंको राफसाफ सदस्यलाई प्राप्त हुन्छ । योही विवरण अनुसार राफसाफ सदस्यले तपाईंको कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नेछन् । 
 
ब्रोकरले के गर्नुपर्छ ?

अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था भएसँगै सेयर दलाल (ब्रोकर) ले पनि अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ता छुट्याउनु पर्छ । लगानीकर्तालाई सेयर बिक्री गर्दा आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागतको भारित औसतसँगै बिक्री गरेको सेयरको स्वामित्व अवधि समेत स्वघोषणा गर्न लागाउनुपर्छ ।

लगानीकर्ताले आफूसँग भएको सेयर स्वामित्व हस्तान्तरणको मितिको आधारमा अवधि वर्गीकरण गर्नका लागि मेरो सेयर एपको प्रयोग गर्न लगाउनुपर्छ । जसका लागि लगानीकर्तालाई सुसूचित गराउन सीडीएसले भनेको छ । लगानीकर्ताले मेरो सेयरमा राखेको विवरण ब्रोकरले डाउनलोड गरेर आफ्नो ब्याक अफिस सफ्टवेयरमा राख्न लगाउनु पर्छ ।

लगानीकर्ताले स्वघोषणा गरेर प्रदान गरेको धितोपत्रको विवरणलाई पुँजीगत लाभकर गणना गर्नका लागि सीडीएसको सीएनएसमा प्रत्यक बिक्री कारोबारमा कर छुट हुने संख्या, दीर्घकालीन तथा अल्पकालीन स्वमित्वको संख्या अनिवार्य रुपमा उल्लेख गर्नुपर्छ । उक्त उल्लेखित विवरण ब्रोकरको आफ्नो ब्याक अफिस सफ्टवेयरमा राखेर सीडीएसको ढाँचामा फाइल तयार गरेर अपलोड गर्नुपर्ने सीडीएसले जनाएको छ । 
 

Post Your Comment