Market Closed

एक वर्षमा बैंकहरुको व्यवसाय कति भयो विस्तार ?

19 Jul,2021
  • bank_img_7_19_2021_8_48_49.jpg
नेपाली पैसा
 
काठमाडौं : गत आर्थिक वर्षको अन्तिम २ सातामा वाणिज्य बैंकहरुमा निक्षेप संकलन ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमा मात्रै २ साताको अवधिमा १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार १८ गतेसम्म वाणिज्य बैंकमा ४० खर्ब ४६ अर्ब रुपैयाँ रहेकोमा असार मसान्त (असार ३१ गते) सम्ममा यो निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

अन्तिम साता (असार २५ गतेदेखि असार ३१ गते) सम्म वाणिज्य बैंकहरुको निक्षेप ८२ अर्बले बढेको छ भने कर्जा लगानी ४२ अर्बले मात्रै विस्तार भएको छ । त्यसअघिको साता निक्षेप ७३ अर्बले बढेको थियो भने ऋण ११ अर्बले विस्तार भएको थियो । सरकारी खर्चमा व्यापक वृद्धिका साथै बैंकहरुले ब्याज भुक्तानी गरेका कारण अन्तिम साता निक्षेपमा सुधार देखिएको हो । निक्षेपमा भएको ब्याज भुक्तानी खातामै जम्मा हुँदा त्यो पुनः निक्षेपमै गणना हुन्छ ।

असार महिनामा निक्षेप तथा कर्जाको अवस्था 

 
निक्षेप एकाएक बढ्दा बैंकमा अधिक तरलताको अवस्था 
 
नयाँ आर्थिक वर्षको सुरुवातसँगै वित्तीय प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार (साउन ३ गते) सम्म १ खर्ब २७ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । गत आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेपछि वित्तीय प्रणालीमा एक्कासी तरलता वृद्धि भएको केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

यसअघि गत असार ९ गतेसम्म बैंक तथा वित्तीय संस्थामा जम्मा ३२ अर्ब रुपैयाँ मात्रै अधिक तरलता रहेको थियो । करिब १ महिनाको अवधिमा तरलता ह्वात्तै बढेको हो । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था आएपछि यसले सेयर बजारमा भने सकारात्मक प्रभाव अपेक्षा गरिएको छ । 
 
१ वर्षको अवधिमा कुन बैंकको व्यवसाय कति बढ्यो ?
 
एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ७ खर्ब ११ अर्ब रुपैयाँले बढेको छ । असार ३१ गतेसम्ममा वाणिज्य बैंकहरुमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यता, १ वर्षको अवधिमा कर्जा लगानी पनि ८ खर्ब १५ अर्ब रुपैयाँले बढेको बैंकर्स संघले जनाएको छ । वाणिज्य बैंकहरुले असार मसान्तसम्ममा ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

एक वर्षको अवधिमा सबै वाणिज्य बैंकको कर्जा लगानी बढेको छ भने स्टान्डर्ड चाटर्ड बैंक बाहेक सबै बैंकको निक्षेप संकलन पनि बढेको छ । स्टान्डर्ड चार्टर्ड बैंकको भने निक्षेप संकलन २ अर्ब रुपैयाँले घटेको छ । हेरौं, कुन बैंकले कति गरे निक्षेप संकलन अनि कति भयो कर्जा प्रवाह ?

Post Your Comment