Market Closed

बैंक अध्यक्षहरुले अर्थमन्त्रीलाई भेटेर भने–तत्काल ब्रोकर लाइसेन्स दिनुहोस्

21 Jul,2021
  • cbfin_7_21_2021_8_49_06.jpeg
नेपाली पैसा 
 
काठमाडौं :  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले बैंकका सहायक कम्पनीहरुलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । बैंकहरुको अध्यक्षको यस संस्थाले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स दिनुपर्ने माग गरेको हो । लामो समयदेखि बैंकलाई ब्रोकर लाइसेन्स दिने भनिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

केन्द्रीय बैंकले पनि बैंकलाई सहायक कम्पनीमार्फत लाइसेन्स खुला गर्न सहमति दिइसकेको छ । तर पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले विलम्ब गरेपछि यसले मूर्तरुप लिन नसकेको हो । नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको, पुँजीगत आधार एवं संस्थागत सुशासनमा अब्बल रहेको अनि बैंकहरुको मुलुकभर सञ्जाल रहेकाले तत्काल सहायक कम्पनीमार्फत सेयर कारोबार गर्न दिनुपर्ने सीबीफीनको माग ्रहेको छ ।

देशैभर छरिएर रहेका बैंकका शाखा कार्यालयमार्फत बैंकका सहायक कम्पनीहरूले ग्रामीण इलाका एवं दूरदराजमा समेत पुँजी बजार विस्तार गर्न सक्ने र वित्तीय पहुँच अभिवृद्धिमा योगदान गर्ने सक्ने प्रशस्तै सम्भावना रहेको उल्लेख गरिएको छ । सीबीफीनको विज्ञप्तिमा भनिएको छ, ‘लगानी सुरक्षित गर्न, पुँजी बजारको विकास गरी वित्त बजारलाई समेत अझ पारदर्शीरूपले सञ्चालन गर्नसमेत सहयोग पुग्ने भएकाले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था यथासम्भव छिटो गरिनुपर्छ ।’
 
यसैगरी, तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थालाई थप सुविधासहित प्रोत्साहन गर्नसमेत माग गरिएको छ । जरिवाना लाग्ने समय सीमा थप गरी २०८० आसार मसान्तसम्म पुर्‍याउन पनि भनिएको छ । प्रदेश तथा स्थानीय तहको बैंक खाता वाणिज्य बैंकहरूमा मात्र सञ्चालन हुने हालको व्यवस्थालाई नीतिगत परिवर्तन गरी पायक पर्ने विकास बैंक तथा वित्तीय संस्थामा समेत खाता सञ्चालन गर्न सक्ने गरी व्यवस्था गर्न पनि माग गरिएको छ ।

मर्ज तथा एक्विजिसनमा जान चाहने बैंक तथा वित्तीय संस्थाहरूलाई सुविधा दिन पनि भनिएको छ । लाभांश करमा दिइएको ५ प्रतिशत छुटलाई ५ वर्षसम्म निरन्तरता दिइनुपर्नेलगायत माग पन िअघि सारिएको छ । 
  
 

Post Your Comment