Market Closed

ट्रंक तथा डेडिकेटेड लाइन विद्युत महसुल विवाद समाधान गर्न महासंघको आग्रह

21 Jul,2021
  • IMG20210719131554_7_21_2021_8_53_16.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्पा भुसालसँग ट्रंक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद समाधान गर्न आग्रह गरेको छ । अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र प्रतिनिधिमण्डलले मंगलबार नवनियुक्त ऊर्जामन्त्री भुसाललाई भेटेर  ट्रंक तथा डेडिकेटेड लाइन विद्युत् महसुल विवादलाई शिघ्र समाधान गर्न आग्रह गरेको हो ।

महासंघकातर्फबाट उद्योगहरूले आवश्यक विद्युत् नेपाल विद्युत् प्राधिकरणबाट लिंदै आइरहेको र विद्युत् उपभोग गरेवापत प्रचलित कानुन बमोजिम लागेको र लाग्ने महसुल समेत तिर्दै आइरहेको भएतापनि छुट बिल/रकम भनी करोडौं/अरबौं रकम उल्लेख गरी भुक्तानी गर्न सम्बन्धित उद्योगहरूलाई लेखिएको पत्रबाट उद्योगहरू थप हतोत्साहित भएको व्यक्त गरेका छन् ।

भेटवार्तामा तत्कालिन विद्युत् महसुल निर्धारण आयोगको २०७२ पुस २९ मा भएको १०३ औं र २०७३ असार १६ मा भएको १०८ औं बैठकबाट कायम भएको महसुल दर सम्बन्धमा भएको निर्णय समेत जानकारी गराइएको थियो । आयोगको १०३ औं बैठकले प्राधिकरणको डेडिकेटेड फिडर लाइन मार्फत दैनिक निरन्तर विद्युत् उपभोग गर्ने उपभोक्ताको हकमा लागु हुने महसुल दर २०७२ पुस २९ पछि दैनिक निरन्तर २४ घण्टा विद्युत उपभोग गर्ने डेडिकेडेट लाइनका ग्राहकलाई मात्र लागू हुने भनि निर्णय गरेको छ ।


लोडसेडिङ न्यूनतम ६ घण्टा कायम रहेको बखत २० घण्टा वा सो भन्दा बढी अवधि विद्युत उपयोग गर्ने ट्रंक लाइन समूहका उपभोक्ता ग्राहकको हकमा समेत डेडिकेटेड सरहको दरमा महसुल लिनुपर्ने महासंघको भनाइछ । महासंघले चरम लोडसेडिङको अवधिमा दैनिक निरन्तर विद्युत उपयोग गर्ने उपभोक्ता विशेषको लागि तोकिएको दर लोडसेडिङ अन्त्य भएको २०७५ वैशाख ३१ पछि विद्युत खपतको हकमा उल्लेखित दरमा महसुल असुल नगर्न, नगराउन नेपाल विद्युत प्राधिकरणको नाममा आवश्यक निर्देशन गर्न सुझाव दिएको छ । 

महासंघसँगको भेटमा मन्त्री भुसालले ट्रङक तथा डेडिकेटेड विद्युत महशुल विवादमा महासंघले राखेका विषयमा आफूले कानुनी/विधि, प्रक्रिया समेत बुझेर निर्णय लिने विश्वास दिलाइन् । साथै, उनले बढी ऊर्जा खपत गर्ने उद्योगलाई कम महशुल लाग्ने व्यवस्था हुनुपर्ने भन्दै यस विषयमा अध्ययन अघि बढाउने आश्वासन दिइन् ।
 

Post Your Comment