Market Closed

मौद्रिक नीति पुँजी बजार विरोधी नहुने : यस्तो छ केन्द्रीय बैंकको तयारी

21 Jul,2021
  • monetary_policy_7_21_2021_8_29_29.jpg
इशारा कोइराला
 
काठमाडौं : नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०७८–०७९ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको भए पनि सरकार परिवर्तन भएसँगै यसमा केही विलम्ब हुने भएको छ । वर्तमान देउवा सरकारले पूर्ववर्ती ओली सरकारले ल्याएको बजेट परिवर्तन गर्ने तयारी गरेपछि मौद्रिक नीति आउन पनि केही विलम्ब हुन लागेको हो । यसअघि केन्द्रीय बैंकले साउन पहिलो साताभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने गरी काम गरेको थियो । मौद्रिक नीति लेखनको काम सकिएको जानकारी दिइएको थियो ।

तर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो साता मौद्रिक नीति नआउने बुधबार नेपाली पैसालाई जानकारी दिए । उनले भने, ‘यसै साता मौद्रिक नीति ल्याउने भनिए पनि अब केही ढिला हुन सक्छ । यही शुक्रबारभित्र मौद्रिक नीति आउँदैन ।’ गभर्नरको यस भनाईसँगै अब मौद्रिक नीति आउन केही विलम्ब हुने भएको छ । स्रोतहरुका अनुसार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई अब प्रतिस्थापन अध्यादेशमार्फत विस्थापित गर्ने वर्तमान सरकारको तयारी छ ।

यसको अर्थ नयाँ गठनबन्धन सरकारले फेरि अर्को बजेट ल्याउनेछ । नयाँ बजेट आउँदा सरकारको नीति र कार्यक्रम नै परिवर्तन हुन सक्ने भएकाले मौद्रिक नीति पनि सोही अनुसार तर्जुमा गर्नुपर्ने हुन सक्छ । सोही कारण पनि केन्द्रीय बैंकले नीति सार्वजनिक गर्ने समय पर धकेलेको हो । स्रोतहरुका अनुसार गभर्नरलाई अर्थमन्त्रीले केही समय पर्खिन भनेका छन् । अर्थमन्त्रीको सोही आग्रह अनुसार केन्द्रीय बैंक पनि पछि हटेको हो । मौद्रिक नीतिलाई केन्द्रीय बैंक सञ्चालक समितिले अनुमोदन गर्नुपर्छ ।

सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका सचिव रहेका हुन्छन् । यसआधारमा पनि अर्थको स्वीकृति बिना मौद्रिक नीति आउन सक्ने अवस्थै हुँदैन । केन्द्रीय बैंकले सरोकारवाला सबै निकायसँग नीतिका बारेमा सुझाव लिएको थियो । गत वर्ष जस्तै यो वर्ष पनि कोरोना भाइरसको महामारीले शिथिल बनेको अर्थतन्त्रलाई माथि उकास्नुपर्ने चुनौती यो वर्षको मौद्रिक नीतिमा पनि रहेको छ ।

कोभिड संक्रमणको दोस्रो लहर कम भएसँगै चलायमान हुँदै गएको आर्थिक क्षेत्रको ध्यान यतिबेला गभर्नर महाप्रसाद अधिकारीको दोस्रो मौद्रिक नीतितर्फ गएको छ । यसपटकको मौद्रिक नीतिमा पनि गत वर्षकै जस्तै सुविधा तथा छुटको निरन्तरताको अपेक्षा व्यवसायीले गर्दै आएका छन् । तथापि, यसअघि बारम्बार गभर्नर अधिकारीले धेरै छुटको अपेक्षा नगर्न आग्रह गर्दै आएका छन् । 
 
 मौद्रिक नीतिमा के–के कुराले पाउँदैछ प्राथमिकता ?
 
अहिलेको तयारी अनुसार अन्तिम प्रहरमा मैद्रिक नीतिमा परिवर्तन गरिएन भने गत आर्थिक वर्षमा भएका धेरै जस्तो नीतिगत कुराले नै यसपटक पनि निरन्तरता पाउने केन्द्रीय बैंक स्रोतले बताएको छ । ऋण पुनरसंरचना र पुनरतालिकीकरणले निरन्तरता पाउने बताइएको छ । राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सीआरआर) र कर्जा–पुँजी–निक्षेप (सीसीडी रेसियो) को सीमालाई निरन्तरता दिने बताएको छ । अहिले सीआरआर ३% र सीसीडी ८५% रहेको छ ।
 
यता, बजारमा हाल्ला भए जस्तै बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको पक्षमा केन्द्रीय बैंक अहिलेसम्म नरहेको स्रोतले बताएको छ । त्यस्तै, जोखिम व्यवस्थापनका लागि गरिने ऋणको प्रोभिजनिङमा केही कडाइ गर्ने तयारी रहेको बताइएको छ । स्रोतले भन्यो, ‘प्रोभिजनिङमा केही कडाई हुन सक्छ । तर, यसले त्यति धेरै नाफालाई भने प्रभावित पार्ने छैन ।’ यसैबीच, बोनस सेयरमा पनि केही कडाई गर्ने संकेत केन्द्रीय बैंक स्रोतले दिएको छ । 
 
पुँजी बजारलाई खासै नकारात्मक प्रभाव पर्ने गरी मौद्रिक नीति आउँदैन 
 
राष्ट्र बैंक स्रोतका अनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत खासै ठूलो परिर्वतन गर्ने सोच छैन । स्रोतले भन्यो, ‘पुँजी बजारलाई नकारात्मक असर गर्ने गरी खासै ठूलो नीतिगत परिर्वतन हुँदैन । प्रायः सबै नीति यथावत नै रहन्छ ।’ मौद्रिक नीतिले प्रत्यक्ष रुपमा पुँजी बजारलाई नछुने भए पनि बैंक तथा वित्तीय संस्थालाई दिने निर्देशनको भने सीधा प्रभाव पर्ने गर्छ । सेयर धितो कर्जा, सीसीडी अनुपात अनि  प्रोभिजनिङ जस्ता निर्देशनले बजारमा प्रभाव पार्न सक्छ ।

यस्तै, हाम्रो पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको वर्चस्व रहेकाले पनि मौद्रिक नीतिको धेरै प्रभाव पर्ने गर्छ । यी विषयहरुमा सोचविचार गरेरै नीति आउने केन्द्रीय बैंकको भनाइ छ । अहिले भएको नीतिहरुलाई यथावत राखेर बजारलाई अझ सकारात्मक पाटोमा लैजाने खालको नीति आउनुपर्ने सेयर बजारका लगानीकर्ताहरुको भनाइ छ । साथै, मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ‘लङ टर्म’ अर्थात अलि स्थायित्व प्रदान गर्ने खालको नीति ल्याउनुपर्नेमा सेयरका लगानीकर्ताले जोड दिएका छन् । 
 
 

Post Your Comment