Market Closed

चीनले सन्तानको संख्यामा लगाएको प्रतिबन्ध हटायो, अब धेरै सन्तान हुनेलाई कर छुट

22 Jul,2021
  • 1_7_22_2021_4_28_05.jpg
नेपाली पैसा
 
काठमाडौं : चिनियाँ दम्पती अबदेखि आफ्नो इच्छा अनुसार सन्तान जन्माउन स्वतन्त्र भएका छन् । चीन सरकारले यसअघि सन्तान नीतिमार्फत सन्तानको संख्यामा लगाउँदै आएका सबै प्रतिबन्धहरुको अन्त्य गरेको छ । अब प्रत्येक चिनियाँ दम्पतीहरु आफ्नो चाहना अनुसार जुनसुकै संख्यामा सन्तान जन्माउन स्वतन्त्र भएका छन् ।

चीनले धेरै सन्तान जन्माउने परिवारलाई कुनै पनि जरिवानाहरु नलिने पनि मंगलबार घोषणा गरेको छ । सन्तान जन्माउन प्रोत्साहन गर्नलाई चीनले धेरै सन्तान हुने परिवारलाई कर छुट दिनेलगायत नीतिहरु पनि सार्वजनिक गरेको छ । यद्दपि, एक वा दुई सन्तान मात्र जन्माउने परिवारलाई दिँदै आएको सुविधाहरु पनि यथावत राख्ने जनाएको छ । जनसंख्या वृद्धिदर न्यून हुँदै गएपछि चीनले सन्तान सम्बन्धी नीति खुकुलो गर्दै गएको थियो ।

चीनले गत मे महिनामा पनि प्रत्येक परिवारलाई ३ जनासम्म सन्तान जन्माउन दिने नीति लिएको थियो । यसअघि संन् २०१६ मा पनि चीनले एक सन्तान नीतिलाई खारेज गरी प्रत्येक चिनियाँ दम्पतिलाई २ जनासम्म सन्तान जन्माउन दिने नीति लिएको थियो । तर २ सन्तान नीतिपछि पनि जन्मदर निकै न्यून भएपछि चीनले पुनः नीति परिवर्तन गरेको थियो । 
 
मे महिनामा सार्वजनिक भएको जनगणनाको तथ्यांकले पछिल्लो दशकमा जनसंख्या वृद्धिदर (०.५३%) सन् १९५० यताकै न्यून देखाएको थियो । साथै, चीनमा महिला प्रजननदर पनि न्यून रहेको छ । सन् २०२० मा मात्र एक चिनियाँ महिलाले औसतमा १.३ जना सन्तानलाई जन्म दिएको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय चीनमा वृद्ध जनसंख्या अत्याधिक धेरै छ । न्यून जन्मदर र बढ्दो वृद्ध जनसंख्याका कारण चीनको अर्थतन्त्र धरासायी बन्ने प्रक्षेपणहरु पनि हुँदै आएका छन् । चीनले दीर्घकालीन आर्थिक सम्भावनाहरुलाई मध्यनजर गर्दै सन्तानको संख्यामा लगाएको प्रतिबन्ध हटाएको हो ।
 

Post Your Comment