Market Closed

हजारौं विदेशीलाई नेपालमा श्रम स्वीकृति, युरोप र अमेरिकाबाट पनि आउँछन्

22 Jul,2021
  • 2_7_22_2021_9_01_12.jpg
नेपाली पैसा
 
काठमाडौं : रोजगारीको लागि नेपालमा पनि विदेशबाट कामदार आउँछन् भन्दा धेरैलाई अचम्म लाग्नसक्छ । तर, अचम्म नमान्नुहोस् नेपाली मात्रै रोजगरीको लागि विदेश जाने होइनन्, विदेशबाट पनि ठूलो संख्यामा रोजगारीका लागि नेपाल भित्रिने गरेका छन् । तथापि, नेपालबाट रोजगारीको लागि बाहिरिनेको संख्यामा रोजगारीको लागि नेपाल आउनेको संख्या भने ज्यादै न्यून रहेको छ । 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो एक दशकमा १७ हजारभन्दा बढी विदेशी नागरिकले नेपालमा रोजगार गर्नका लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये पुरुषको संख्या १४ हजार ९२५ जना रहेको छ भने महिलाको संख्या २ हजार ७६ जना रहेको छ । तथापि, नेपालबाट रोजगारको लागि बाहिरिन श्रम स्वीकृत लिनेको तुलनामा यो संख्या ज्यादै न्यून हो । 

पछिल्लो समय कोरोना महामारीको कारण नेपालबाट रोजगारीको लागी विदेशिनेको संख्यामा कमी आएको देखिएको छ । सामान्य अवस्थामा रोजगारीको लागि दैनिक विदेशिनेको संख्या औसतमा १५ सय थियो । विभागका अनुसार ७० भन्दा बढी देशबाट नेपालमा कामदार आउने गरेका छन् । यसमा चीन, जर्मनी, बेलायत अमेरीका लगायतका देशबाट पनि नेपालका काम गर्न आउने गरेको देखिन्छ ।
 
एक जना विदेशी नगारिकलाई नेपालमा काम गर्न ७ वर्षको श्रम स्वीकृति दिने व्यवस्था गरेको विभागले जनाएको छ । तसर्थ, एक पटक श्रम स्वीकृति लिएको विदेशी नागरिक नेपालमा ७ वर्षसम्म बस्न पाउँछ । सन् २०१७ देखि २०२१ सम्म (चार वर्षको अवधिमा) ७ हजार ५८९ जना विदेशी कामदारले नेपालमा रोजगारीको लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । 

यसअवधिमा सबैभन्दा धेरै चिनियाँ कामदारले श्रम स्वीकृति लिएका छन् । उत्पादन, सेवामूलक, निर्माण र अन्य क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई श्रम अनुमति जारी गरिएको विभागले जनाएको छ । चिकित्सक, इन्जिनियर, पाइलट, प्राध्यापक, निर्माण क्षेत्र, वस्तुकला, सूचना प्राविधि लगायत क्षेत्रमा काम गर्न आउने विदेशी कामदारलाई श्रम स्वीकृति जारी गर्ने गरेको श्रम विभागले जनाएको छ ।
 
एउटै आयोजनाको लागि २ सयभन्दा बढी विदेशीको श्रम स्वीकृत
 
एउटै आयोजनाका लागि २ सयभन्दा बढी विदेशी कामदारले श्रम स्वीकृति लिने गरेको विभागको भनाई छ । पछिल्लो समय चीन, भारत, दक्षिण कोरिया लगायतका देशले नेपालमा उद्योग, होटल, रेस्टुरेन्ट र अन्य आयोजनामा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । यसरी लगानी गरिएका उद्योग, आयोजना, होटल–रेस्टुरेन्टमा पनि धेरै विदेशीले नै काम गर्ने गरेका छन् । भुकम्पपछिको पुनर्निर्माणका लागि भने धेरै कामदार नेपाल आएको विभागले जनाएको छ ।
 
नेपाल र भारतको खुला सिमानाको कारण श्रम स्वीकृति लिएर अन्य मुलुकबाट नेपाल आउनेको संख्या भन्दा भारतबाट नेपाल आउनेको संख्या उल्लेख्य छ । नेपाल र भारतको खुल्ला सिमानाका कारण नेपाल आउन अथवा भारत जान भिसाको आवश्यक पर्दैन् । यसकारण पनि नेपालमा भारतीय कामदार अझै बढी रहेको छ । उनीहरुको रेकर्ड विभागसँग छैन ।

मेडिकल फल्डमा काम गर्न आउने डाक्टर लगायतका स्वास्थ्यकर्मीले भने मेडिकल कान्सिलबाट अनुमति लिने गरेका छन् । यस्तै कुनै कम्पनीमा सीइओ बनेर आउँदा उनीहरुले कमाई भने लैजाने भएकाले अनुमति लिने विभागले जनाएको छ । अन्यथा अन्य काममा लागि आउन अधिकांश अनुमति नलिई आउने गरेका छन् । 
 

Post Your Comment