Market Closed

बिल एकम्यानको रणनीति : सस्तो सेयर किनेर व्यवस्थापन आफ्नै हातमा लिने

09 Sep,2021
  • bill_ackman_9_9_2021_8_16_51.jpg
समिर गौतम 
 
काठमाडौं : बिल एकम्यान (विलियम अल्बर्ट एकम्यान १९६६) अमेरिकी लगानीकर्ता तथा हेज फन्ड म्यानेजर हुन् । एकम्यान ‘पर्सिङ स्क्वायर क्यापिटल म्यानेजमेन्ट’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पनि हुन् । बिल एकम्यान पनि कार्ल इकाहन जस्तै ‘एक्टिभिस्ट इन्भेष्टर (अभियन्ता लगानीकर्ता)’ को रुपमा चिनिने गरेका छन् । तसर्थ, पर्सिङ स्क्वायरको लगानी रणनीति पनि ‘एक्टिभिस्ट इन्भेष्टर’ को जस्तै हुने गरेको छ ।

सन् १९९२ मा हार्भर्डबाट ग्राजुएसन सकेपछि एकम्यानले आफ्नो साथीसँग सहकार्य गरी ‘गोथम पार्टनर्स’ नामक इन्मेष्टमेन्ट कम्पनी स्थापना गरेका थिए । सोही कम्पनीमार्फत उनले ‘रकफेला सेन्टर प्रोपर्टिज’ मा लगानी गरेका थिए । जुन लगानीबाट गोथमको सम्पति २ गुणा धेरै भएको थियो । रकफेलामा गरेको लगानीदेखि नै उनलाई एक्टिभिस्ट इन्भेस्टरको रुपमा चिनियो । रकफेलाको व्यवस्थापनले निरन्तर गलत निर्णयहरु लिएपछि एकम्यानले हस्तक्षेप गरी सही दिशा दिएका थिए । 
 
एक्टिभिस्ट इन्भेस्टरहरुले कमजोर व्यवस्थापन भएका कम्पनीहरुको पर्याप्त सेयर खरिद गरी त्यसको व्यस्थापनलाई नै परिवर्तन गर्ने गर्दछन् । विशेषगरी कमजोर व्यवस्थापनका कारण अवमूल्यनमा परेका कम्पनीहरु यस्ता लगानीकर्ताको रोजाईमा पर्ने गरेका छन् । सन् २००४ मा स्थापना भएको पर्सिङ स्क्वायरमार्फत यस्तै लगानी रणनीति एकम्यानले अपनाउँदै आएका छन् । यद्दपि, सफल लगानी गर्नका लागि एकम्यानका विभिन्न सिद्धान्तहरु रहने गरेका छन् । 
 
 व्यापार सामान्य र पूर्वअनुमान योग्य हुनुपर्छ  

 
बिलले सामान्य तरिकाले बुझ्न सकिने किसिमका व्यापार गर्ने कम्पनीमा लगानी गर्ने गरेका छन् । आफूले बुझ्न नसक्ने व्यापारमा कमै लगानी गर्दछन् । आफूले बुझेको व्यापारको प्रगति पूर्वानुमान गर्न सक्ने हुन्छन् । तसर्थ, यस्तै किसिमका कम्पनीमा उनको रुचि हुने गरेको छ ।
 
बजारमा ठूलो हिस्सा ओगट्ने कम्पनी 
 
एकम्यानले बजारमा ठूलो व्यापार हिस्सा ओगटेका कम्पनीमा लगानी रुचाउँछन् । कम प्रतिस्पर्धा भएका वा प्रतिस्पर्धा धेरै भए पनि बजारमा मजबुत पकड बनाएका कम्पनीमा उनको लगानी रहने गरेको छ । यस्ता कम्पनीको बजार हिस्सा र आम्दानीबीच प्रत्यक्ष्य सम्बन्ध हुने गर्दछ । साथै एकम्यानको लगानी निर्णय पनि सोही आधारमा रहन्छ ।
 
 बाहिरी जोखिमहरु कम भएका कम्पनी 
 
आर्थिक मन्दी, प्राकृतिक विपद, राजनीतिक परिवर्तन लगायत विषयहरु कम्पनीको अधिनमा नरहने बाहिरी जोखिमहरु हुन् । यद्दपि, यस्ता जोखिमहरुको असर कम भन्दा कम असर पर्ने कम्पनीहरु पहिचान गरी लगानी गर्न एकम्यान रुचाउँछन् ।
 
उत्कृष्ट व्यस्थापन र सुशासन 
 
कम्पनीको भविष्य कस्तो बनाउने भन्ने विषय त्यसको व्यवस्थापनले कस्तो निर्णय लिन्छ भन्नेमा भर पर्दछ । कम्पनीको व्यवस्थापन पक्ष आधारभूत विश्लेषणको एक महत्वपूर्ण विषय पनि हो । तसर्थ, राम्रो व्यवस्थापन भएका कम्पनीमा लगानी गर्नु सधैं फाइदाकारी हुन्छ । एकम्यान एक्टिभिस्ट इन्भेष्टर भएकाले उनको ध्यान भने नराम्रो व्यवस्थापन भएका कम्पनीमा हस्तक्षेप गरी सुधार्नेतर्फ पनि रहने गर्दछ ।
 
पुँजीमा प्रतिफल उच्च भएका कम्पनी  
 
कम्पनीले नाफा कमाउन पुँजीको उपयोग कति राम्रोसँग गरिरहेको छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ । पुँजीलाई जतिधेरै नाफायोग्य लगानीमा परिणत गर्न सक्ने क्षमता भएका कम्पनी छन् त्यति नै लगानीका लागि उचित मानिन्छन् । 
 
ब्यालेन्स सिट मजबुत भएका र बाहिरी पुँजी नचाहिने 

 
 ब्यालेन्स सिट मजबुत भएका र लेभरेज प्रयोग नगर्ने कम्पनीहरुमा लगानी गर्न एकम्यानले सुझाव दिएका छन् । लेभरेज त्यस्तो रणनीति हो जसमा लगानीको सम्भावित प्रतिफल बढाउनका लागि उधारो वा सापटी रकम अथवा पुँजीको प्रयोग गरिन्छ । यस्तो बाहिरी पुँजीको बढी प्रयोग गर्ने कम्पनीमा जोखिम धेरै हुने भएकाले लगानी गर्दा होस पुर्याउनुपर्दछ ।
 

Post Your Comment