Market Closed

हाइड्रोपावर कम्पनीहरुको वित्तीय विवरणमा भएन एकरुपता, प्रमुख सूचक किन हुन्छ गायब ?

10 Sep,2021
  • Financial-report-definition_9_10_2021_7_57_28.jpeg
नेपाली पैसा 
 
काठमाडौं : सूचीकृत कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यसैबीच नेप्सेमा सूचीकृत अधिकांश जलविद्युत् कम्पनी (हाइड्रोपावर) ले पनि गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको अवस्था छ । नेप्सेमा ४० वटा जलविद्युत् कम्पनीहरु सूचीकृत छन् । यी मध्ये केही कम्पनीले आफ्नो वित्तीय विवरणमा नाफा, इपीएसलगायतका प्रमुख सूचकहरु समावेश गरेका छैनन् । जसको कारण लगानीकर्ताले कम्पनीको वास्तविक अवस्था बुझ्न नपाएको गुनासो गरेका छन् ।

सूचीकृत अरु क्षेत्रका कम्पनीहरुको तुलनामा कतिपय जलविद्युत कम्पनीहरुको वित्तीय विवरण भरपर्दो पनि देखिएको छैन । केही कम्पनीले प्रमुख वित्तीय सूचक नै लुकाएका छन् भने केहीले तोडमोड गरेर वा वास्तविकता भन्दा केही बढाइचढाई गरेरसमेत रिपोर्ट सार्वजनिक गरेको पाइयो । यस्तै, एउटै क्षेत्रका सूचीकृत कम्पनीहरुले सार्वजनिक गर्ने रिपोर्टको फरम्याट र विषयवस्तुमा समेत एकरुपता हुने गरेको छैन । 
 
जस्तो, आफ्नो वित्तीय विवरणमा नाफा, इपीएसलगायतका प्रमुख सूचक समावेश नगर्नेमा हिमालयन पावर पर्टनर, सिंगटी, ग्रीनलाइफ हाइड्रोपावरलगायतका कम्पनी परेका रहेका छन् । यसरी रिपोर्टमा सबै कुरा छर्लङ नहुँदा लगानीकर्ताहरुले सम्बद्ध कम्पनीको वास्तविक अवस्था बुझ्न पाएका छैनन् । तर केही प्राविधिक कारणले वित्तीय विवरणमा सबै पक्ष खुलाउन नसकिएको सम्बद्ध कम्पनी र नियामक निकायकै पदाधिकारीहरुको दाबी रहेको छ । 
 
 यी कम्पनीहरुले नाफा, इपीइसलगयातका प्रमुख सूचकहरु वित्तीय विवरणमा समावेश नगर्नु स्वभाविक भएको नियामक निकाय नेपाल धितोपत्र बोर्डको दाबी छ । धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार विद्युत् उत्पादन नगरेका कम्पनीले नाफा लगायतका प्रमुख सूचक वित्तीय विवरणमा समावेश नगर्नु कुनै गैर कानुनी काम नहुने बताउँछन् । 
 
उनले भने, ‘विद्युत् उत्पादन गर्न बाँकी जलविद्युत् कम्पनीहरुले अकाउन्टिङ प्रिन्सिपलमा टेकेर आफ्नो वित्तीय विवरणमा नाफालगायतका प्रमुख सूचकहरु समावेश नगरेका हुन् । यो स्वभाविक हो ।’ उनीहरुले विद्युत् उत्पादन हुनभन्दा अघिको खर्च क्यापिटल ओर्किङ प्रोगे्रस (सीडब्लुपी) मा राख्ने गरेको बताए ।
 
 पूर्वाधारण निर्माणअन्तर्गतका कम्पनीहरुले अकाउन्टिङ प्रिन्सिपल अनुसार वित्तीय विवरण सार्वजनिक गर्न पाउने व्यवस्था छ । सहप्रवक्ता केसीले कम्पनीहरुले आफ्नो क्यापिटल ओर्किङ प्रोगे्रशमा निर्माण खर्चलाई लगेर राखेर नाफा, इपीएसलगायतका प्रमुख सूचक खाली राखेर वित्तीय विवरण सार्वजनिक गरेको बताए । उनले भने, ‘यो स्वभाविक हो ।’ 
 
यता, लगानीकर्तालेहरुले पनि विद्युत् उत्पादन गर्नुभन्दा पहिले कम्पनीहरुले आफ्नो वित्तीय विवरणमा नाफालगायतका प्रमुख सूचक समावेश नगर्नु स्वभाविक भएको बताएका छन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राज लम्सालले भने, ‘विद्युत् उत्पादन नभएका कम्पनीहरुले आफ्नो वित्तीय विवरणमा नाफा लगायतका प्रमुख सूचक समावेश नगर्नु स्वभाविक हो ।’

विद्युत् उत्पादन गर्नुपूर्व कम्पनीहरुको उत्पादन लागत बढी हुँदा वित्तीय विवरणमा प्रमुख सूचक समावेश नगर्नुलाई नकारात्मक रुपमा हेर्न नहुने बताए । उनले पनि अकाउन्टिङ प्रिन्सिपलअनुसार कम्पनीलहरुले वित्तीय विवरण निकालेकाले प्रमुख सूचक खाली भएको बताए । तर यी प्राविधिक पक्षहरुका बारेमा आम लगानीकर्तालाई जानकारी हुँदैन । 
 
अनि, रिपोर्ट यी पक्षहरु खुलाइएका पनि हुँदैनन् । यसका कारण सर्वसाधारण लगानीकर्ता भने सधैं अन्योलमै पर्ने गरेका हुन्छन् । यसकारण सूचीकृत कम्पनीहरुको रिपोर्ट फरम्याट र सूचना सम्प्रेषण विधिलाई थप सहज र सरलीकरण गर्नुपर्ने मागसमेत उठ्न थालेको छ । यसमा नियामक निकायहरुले सहजीकरणको व्यस्था गर्नुपर्ने हुन्छ । सोही अनुसार सार्वजनिक गर्नका लागि निर्देशन दिन पनि आवश्यक देखिएको छ । 
 
यस्तै, केही कम्पनीहरुले आफ्नो वित्तीय विवरणमा कर अघिको नाफा समावेश गरे पनि कर पछिको नाफा भने समावेश गरेका छैनन् । यस्तो कार्य भने गतल भएको उपाध्यक्ष लम्सालले बताए । जलविद्युत् कम्पनीको वित्तीय विवरणमा एकरुपता ल्याउन पनि आवश्यक भएको उनी बताउँछन् । जलविद्युत् कम्पनीहरुलाई प्रत्यक्ष नियमन गर्ने नियामको आवश्यकता भएको औल्याउँदै विद्युत् नियमन आयोग त गठन भयो । तर, यसले हालसम्म पनि प्रभावकारी काम भने गर्न सकेको छैन । 
 

Post Your Comment