Market Closed

बिमा कम्पनीहरुको आइपीओ अघिको प्रक्षेपित र वास्तविक तथ्यांकमा कति भयो भिन्नता ?

12 Sep,2021
  • reality-check_9_12_2021_7_56_09.jpg
नेपाली पैसा
 
काठमाडौं : पुँजी बजारमा (दोस्रो बजारमा) गत वर्ष उल्लेख्य मात्रामा कम्पनीहरु थपिएका छन् । विभिन्न समूहका कम्पनीहरुले आइपीओ बिक्री गरी पुँजी बजारमा भित्रिएका थिए । एक वर्षको अवधिमा मात्रै ६ बिमा कम्पनीहरुले आइपीओ जारी गरे । यसमध्ये ४ जीवन बिमा कम्पनी रहेका छन् भने २ निर्जीवन बिमा कम्पनी छन् । आइपीओ जारी गरेका बिमा कम्पनीहरु नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार हुन थालिसकेका छन् ।

दोस्रो बजारमा भर्खरै आइपीओ जारी गरेका कम्पनीहरुमा अझ बढी लगानीकर्ताको आकर्षण रहेको देखिन्छ । फलस्वरुपः यी कम्पनीहरुको भाउ पनि बढ्दोक्रममा छ । नयाँ बिमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिँदा बजारमा टिक्न सक्ने या नसक्ने भन्ने टिकाटिप्पणी भएको थियो । यस्तै, टिकाटिप्पणीका बीच नयाँ कम्पनीहरुले आकर्षक रुपमा बजार विस्तार गरेका छन् । तथापि, कम्पनीहरुले आइपीओ जारी गर्नुभन्दा पहिले प्रोस्पेक्टसमा प्रक्षेपण गरे अनुसार नाफा कमाउन सके कि सकेनन् ?

कम्पनीहरुको खुद नाफा, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ लगायतका प्रमुख सूचकहरु प्रक्षेपित आँकडा भन्दा धेरै आयो कि थोरै ? कतै कम्पनीहरुले आइपीओ बिक्री गर्नकै लागि राम्रो वित्तीय प्रक्षेपण गर्ने गरेका त छैनन् ? लगायतका प्रश्नहरु आम चासोको विषय बन्ने गर्दछ । तसर्थ, यही चासो सम्बोधन गर्न हामीले गत वर्ष आइपीओ बिक्री गरेका बिमा कम्पनीहरुले आफ्नो प्रक्षेपण अनुसार काम गर्न सफल वा भएनन् भन्ने बारेमा तथ्यांक प्रस्तुत गरेका छौं ।

हुन त प्रक्षेपित आँकडा ठ्याक्कै मिल्छ मिल्नुपर्छ भन्ने छैन । तथापि, प्रक्षेपण गरिए अनुसारकै वा निकै नजिक हुनुपर्ने विश्लेषकहरु बताउँछन् । यस्तो हुन सकेमा मात्र विश्वसनीयता कायम रहन सक्छ । लगानीकर्ताले पनि ढुक्क भएर सोही प्रक्षेपित तथ्यांकलाई आधार मानेर लगानी सम्बन्धी निर्णय लिन सक्छन् । 
 
(बिमा कम्पनीहरुले आइपीओ जारी गर्नुभन्दा पहिले सार्वजनिक गरेको प्रोस्पेक्टसमा आर्थिक वर्ष २०७७–७८ सम्मका लागि प्रक्षेपण गरेको नाफा, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई कम्पनीले आइपीओ ल्याएपछि सार्वजनिक गरेको चौथो त्रैमास (गत आर्थिक वर्षको अन्त्य) सँग तुलना गरेका छौं ।)
 
३ कम्पनीको खुद नाफा प्रक्षेपण भन्दा धेरै, ३ को थोरै
 
असार मसान्तसम्म ३ बिमा कम्पनीको नाफा प्रक्षेपण भन्दा धेरै भएको छ भने ३ कम्पनीको नाफा प्रक्षेपण भन्दा थोरै देखिएको छ । सानिमा जनरलले प्र्रक्षेपण भन्दा ४ करोड ८ लाख रुपैयाँ धेरै नाफा गरेको छ । ज्योति लाइफको भने प्रक्षेपण भन्दा १३ करोड ८३ लाख रुपैयाँ थोरै खुद नाफा रहेको छ । इस्तै, रिलायन्स लाइफ र जनरल इन्सुरेन्सको नाफा पनि प्रक्षेपण भन्दा थोरै छ ।

 
३ कम्पनीको प्रतिसेयर आम्दानी प्रक्षेपण गरेको भन्दा बढी 
 
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ३ कम्पनीको प्रतिसेयर आम्दानी प्रक्षेपण गरिएको भन्दा बढी रहेको छ । प्रक्षेपण गरिएको भन्दा बढी प्रतिसेयर आम्दानी प्रभु लाइफ, युनियन लाइफ र सानिमा जनरलको रहेको छ । सानिमा जनरल इन्सुरेन्सको प्रतिसेयर आम्दानी प्रक्षेपण गरिएको भन्दा ५ रुपैयाँ ९६ पैसाले बढेर ८ रुपैयाँ ६२ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको कम्पनी हो । रिलायन्स लाइफ, ज्योति लाइफ र जनरल इन्सुरेन्सको प्रतिसेयर आम्दानी भने प्रक्षेपण भन्दा थोरै छ ।

 
४ कम्पनीको प्रतिसेयर नेटवर्थ प्रक्षेपण गरेको भन्दा बढी 
 
४ कम्पनीको प्रतिसेयर नेटवर्थ प्रक्षेपण गरिएको भन्दा बढेको छ । प्रक्षेपण गरेको भन्दा प्रतिसेयर नेटवर्थ बढ्नेमा प्रभु लाइफ र युनियन लाइफ इन्सुरेन्स रहेका छन् । त्यस्तै, सानिमा जनरल इन्सुरेन्स र जनरल इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ पनि प्रक्षेपण गरेको भन्दा बढी छ । यता, रिलायन्स लाइफ र ज्योति लाइफ इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ भने प्रक्षेपण गरिएको भन्दा कम छ । 

 

Post Your Comment