Market Closed

सेयर बजार प्रभावित हुनुमा यस्तो छ प्रमुख कारण

14 Sep,2021
  • bullbear_9_14_2021_3_13_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार मंगलबार प्रभावित भएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि घटेको छ । नेप्से सूचक १८.५४ अंकले घटेर २९२९.२९ विन्दुमा अडिएको छ । ५ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजेट पारित हुन केही दिन लाग्ने भएपछि सरकारी खर्च रोकिने भएको छ । यसको केही प्रभाव बजारमा देखिएको अुनमान छ । बजेटको प्रतिस्थापन विधेयक पारित भएको छैन । सोही कारण केही दिनका लागि सरकारी खर्च बन्द हुने भएको हो ।

प्रतिस्थापन बिधेयक पारित भएपछिमात्र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुनेछ । सरकारले खर्च गर्न नपाए पनि कर उठाउन भने पाउँछ । तथापि, मंगलबार संसदले विनियोजन बिधेयक प्रस्ताव भने पारित गरेको छ । यसअघि एमाले सरकारले ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गनु्पर्ने कानुनी प्रावधान रेहको छ ।

सोही आधारमा ६० दिनको समय बुधबार सकिँदैछ । तर सभामुखले असोज ४ गतेसम्का लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् । सोही कारण बुधबार यो विधेयक पारित नहुने भएको छ । एमालको अवरोधपछि सभामुखले मंगलबार विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित गरेर बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरेका हुन् । बजेट पारित भएपछि मात्र खर्च वृद्धि हुने र तरलतामा विस्तार हुने अनुमान गरिएको छ ।
 
साथै, वित्तीय प्रणालीमा तरलता प्रभावित भएका खबरहरु आएका छन् । बजारमा यसको पनि केही प्रभाव देखिएको हो । तथापि, यस्तो प्रभाव अल्पकालीन हुने बैंकरहरुले बताएका छन् । केही दिनमै तरलता सहज हुने उनीहरुको भनाई छ । चाडपर्व नजिकिएकाले रेमिटेन्स भित्रिनेक्रम अब बढ्नेछ । सरकारी खर्च पनि केही दिनपछि विस्तार हुनेछ । स्थानीय निकायमा पनि सरकारले रकम उपलब्ध गराउनेछ । त्यसपछि फेरि तरलताको अवस्था निकै सहज हुने अनुमान गरिएको छ । 
 
यस्तै, ठूला लगानीकर्तालाई १२ करोडको क्यापको पनि केही समययता बजारमा प्रभाव देखिंदै आएको छ । तथापि, समग्रमा सेयर बजारमा बुल रनमै छ । अहिले करेक्सनको क्रम चलिहरेको छ । करेक्सनको चक्र समाप्त भएपछि बजारले फेरि रफ्तार समाउने विश्लेषकहरुको भनाई रहेको छ । तर आम लगानीकर्ताले स्वविवेक प्रयोग गरेर लगानीसम्बन्धी निर्णय लिनुपर्छ । 
 
यो लाभांशको सिजन हो । सूचीकृत कम्पनीहरुले गत वर्षको मुनाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । कोरोना कहरका बीचमा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गरेका छन् । उनीहरुले अब लाभांश घोषणा गरेपछि साधारण सभा बोलाउनेछन् । सभाबाट पारित भएपछि लगानीकर्ताको खातामा लाभांश पठाउने कार्य सुरु हुनेछ । यसर्थ, यतिबेला आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । घटेको बजार बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी छ ।

लाभांशको मुखमा बजार घट्दा पेनिक हुन नहुने अनुभवी लगानीकर्ता विश्लेषकहरु बताउँछन् । मुखैमा आइसकेको लाभांश फुत्किन सक्नेतर्फ सर्वसाधारण लगानीकर्ता सचेत हुन आवश्यक छ । लगानी गर्दा कम्पनीहरुको प्रमुख वित्तीय विवरण, लाभांश क्षमता, कम्पनीको भावी योजना लगायतमा ध्यान दिनुपर्छ । यसैगरी, लगानी गरिने अवधि, होल्ड गर्न सक्ने समयका बारेमा पनि ख्याल गर्न जरुरी हुन्छ ।



यस दिन मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्सुरेन्सको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । २७ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा रैराङ हाइड्रोपावर र तेस्रोमा युनाइटेड मोदी हाइड्रोपावर परेका छन् । 



Post Your Comment