Market Closed

सेयर बजार तलमाथि हुनु ठूलो कुरा होइन तर नीतिगत चलखेल गरिनु घातक

17 Sep,2021
  • policy_9_17_2021_4_51_42.jpg
नेपाली पैसा 

काठमाडौं : केही समययता सेयर बजारमा गिरावट आइरहेको छ । छोटो अवधिमै आम लगानीकर्ताले खरबौं रुपैयाँ गुमाएका छन् । नेप्से सूचकका साथमा लगानीकर्ताको कुल सम्पति मापन गर्ने सूचक बजार पुँजीकरणमा पनि गिरावट आइरहेको छ । सेयर बजारमा ४३ लाख ७४ हजारभन्दा बढी लगानीकर्ता कुनै न कुनैरुपमा आबद्ध भइसकेका छन् । जनसंख्याको यति ठूलो हिस्सा पुँजी बजारमा आबद्ध भए पनि सरकारको रवैया भने सकारात्मक देखिएको छैन । सेयर बजारमा घटबढ भइरहन्छ ।

बजार तलमाथि हुनु स्वभाविक भए पनि यहाँ भने नीतिगत चलखेल गरेर बजारलाई बिगार्ने गरिएको छ । बजार बढ्यो भने नियामकहरुले विभिन्न बाहनामा बजार तल झार्ने प्रयत्न गर्दै आएका छन् । चाहे धितोपत्र बोर्ड होस् वा राष्ट्र बैंक नै किन नहोस् । विगतमा पनि पटकपटक यस्ता हर्कत गरिएका थिए । पछिल्लो समय आफ्नै लयमा रहेको बजारलाई केन्द्रीय बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा लगाएपछि समस्यामा परेको हो ।

यस्तै, केन्द्रीय बैंककै गलत नीतिकै कारण अहिले एकाएक तरलता अभावको अवस्था उत्पन्न भएको छ । यसर्थ, अर्थमन्त्री र गभर्नरले तत्काल गलत नीतिको पुनर्विचार गर्नुपर्दछ । तरलता स हज हुने बातावरण बनाउने अनि १२ करोडको सीमालाई हटाइदिने हो भने सेयर बजार फेरि आफ्नै गतिमा फर्किनेछ । यस्तै, सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले पनि सबैभन्दा ठूलो भूमिका निर्वाह गर्दछ ।

घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन आवश्यक छ । लाभांशको समय चलिरहेको छ । यस्तो बेला लगानीकर्ता सोचविचार नगरी हतार र आवेगमा सित्तैमा सेयर फाल्नु हुँदैन । लगानी गर्दा भने कम्पनीको समग्र पक्षमा विचार गर्नुपर्छ । लाभांश क्षमता, नाफा रिजर्भ, पीई अनुपात लगायतमा ख्याल गर्नुपर्छ ।  
 
यस्तो रह्यो साताको सेयर बजार 
 
नेप्से यस साता पनि करेक्सनमा गएको छ । बढ्दो ब्याजदर र बैंकिङ प्रणालीमा घट्दै गएको तरलताका कारण लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक प्रभाव परेको देखिन्छ । यस साताभर नेप्से सूचकमा गिरावट आएको छ । गत साताको तुलनामा नेप्से २.२१% ले घटेर बिहीबार २८१२.२६ विन्दुमा बन्द भएको छ ।  बिहीबार कारोबार रकम ९.०३ अर्ब रुपैयाँ र बजार पुँजीकरण ३९ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।


साताभर दैनिक कारोबार रकम
 
कारोबार रकम घट्ने क्रमले यस साता पनि निरन्तरता पाएको छ । आइतबार साताकै धेरै ९.३४ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । मंगलबार भने साताकै थोरै ५.१३ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस साता औसतमा दैनिक ७.६० अर्ब रुपैयाँको मात्र सेयर किनबेच भएको छ । 

 
सूचीकृत समूहहरुको प्रदर्शन
 
यस साता सूचीकृत सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स समूह ४.७७% ले घटेको छ । त्यसपछि, होटल तथा पर्यटन समूह ३.५६% र हाइड्रोपावर समूहमा ३.४५% को गिरावट आएको छ । 

 
धेरै कमाउने 
 
सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको सेयर भाउ ५२.८१% ले वृद्धि भएको छ । त्यसपछि, सानिमा लाइफ इन्सुरेन्स २३.३८% र छ्याङ्दी हाइड्रोपावर कम्पनी ५.८०% ले बढेका छन् । 

 
धेरै गुमाउने 
 
यस साता युनिभर्सल पावर कम्पनीको भाउ सबैभन्दा धेरै १३.४६% ले घटेको छ । दोस्रोमा युनाइटेड मोदी हाइड्रोपावरको १२.९८% र तेस्रोमा एभरेष्ट इन्सुरेन्सको ११.९७% ले गिरावट आएको छ ।

 

Post Your Comment