Market Closed

अब १ महिनासम्म पनि पुँजीगत खर्च नबढे अहिलेको प्रणाली नै परिवर्तन गर्छु : अर्थमन्त्री

25 Nov,2021
  • IMG_9248_11_25_2021_7_36_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८–०७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो बताएका हुन् । पुँजीगत खर्च उल्लेख्य रूपमा नबढेकोप्रति असन्तुष्टि जनाउँनुहुँदै मन्त्री शर्माले विद्यमान प्रणालीमा अर्को १ महिनासमेत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्ने बताएका हुन् ।

‘यदि पुँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु’, उनले भने, ‘अरू १ महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने मान्यता छ । खर्च चाहिँ जसरी पनि गर्नुपर्छ ।’ उनले नयाँ प्रणालीबारे सबै मन्त्रालयलाई अवगत गराएर अवलम्बन गर्नुपर्ने बताए ।
 
मन्त्री शर्माले आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति समेत असन्तुष्टि जनाए । आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउनुहुँदै उनले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्ने बताए । 
 
मन्त्री शर्माले लघुवित्तको ब्याज घटाएर सिंगल डिजिटमा झार्दै साना किसान तथा लगानीकर्तालाई ऋण उपलब्ध गराउनुपर्ने, कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्ने तथा डिजिटल कारोबारलाई व्यापक गर्नुपर्ने समेत बताए । बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलता अभावको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताए ।

उनले हुण्डीमार्फत् नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुन कारोबार भइरहेको बताए । त्यसले विप्रेषणमा समेत नकारात्मक असर गरेको उनको भनाइ छ । उनले बाहिर बजारमा बजेट र अर्थतन्त्रबारे गलत प्रचार भइरहेकोप्रति संवेदनशील हुन आग्रह गर्दै पुँजीगत खर्च बढाउनमा ध्यान दिन सम्बन्धित मन्त्रालयहरूलाई आग्रह गरे । 
 
बैठकमा अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, महालेखा नियन्त्रक कार्यालयलगायतले कार्य प्रगति तथा त्रैमासिक समीक्षा प्रस्तुत गरेका थिए ।
 

Post Your Comment