Market Closed

सेयर बजार साइडवेजमा, यसपछि कता जाला ?

25 Nov,2021
  • bull_n_bears_11_25_2021_3_16_01.jpg
नेपाली पैसा
 
काठमाडौं : सेयर बजारमा सामान्य गिरावट आएको छ । खरिदबिक्री रकम पनि तुलनात्मक रुपमा कम भएको छ । यस दिन नेप्से सूचक ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा अडिएको छ । ३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसआधारमा अल्पकालीन तथा दीर्घकालीन दुवैथरिका लगानीकर्ताहरु विस्तारै आकर्षित हुँदै जाने विश्वास गर्न सकिन्छ । बिहीबार कारोबार अवधिभर नै नेप्सेमा सामान्य अंकको मात्र उतारचढाव भएको देखिन्छ ।

यसआधारमा नेप्सेको घटाइ साँघुरिंदै गएको छ । समग्रमा बजार यतिबेला साइडवेजमा रहेको देखिन्छ । यसअघिको ठूलो अंकको गिरावट, त्यसपछि बीचबीचमा आएको मध्यमस्तर र सानातिना उतारचढावपछि बजार फेरि सम्हालिंदै अहिले साइडवेजमा आएको हो । अहिलेको अवस्था हेर्दा थोरैमात्र सकारात्मक विषय आउन सकेमा बजारले नयाँ उचाई तय गर्न सक्ने देखिन्छ ।

बजारले माथि जान कोशिस गरिरहेको तर त्यसलाई तान्ने फ्याक्टर खोजिरहेको जस्तो देखिन्छ । मौद्रिक नीति समीक्षमा थोरैमात्र सकारात्मक विषय आएमा बजारले नयाँ उचाई लिन सक्ने आधारभूत तथा प्राविधिक विश्लेषकहरुले बताइरहेका छन् । यतिबेला सर्वसाधारण लगानीकर्ताहरुले पनि नेप्सेको चाल हेरिरहेकाले खरिदबिक्री रकम भने अलि कम देखिएको छ ।

बजार बढ्न थालेपछि कारोबार रकम पनि क्रमशः विस्तार हुँदै जाने अपेक्षा गरिएको छ । बजार बढ्छ भनेर आम लगानीकर्तामा आत्मविश्वास वृद्धि हुन थालेपछि खरिदबिक्री रकममा पनि तेजी आउने गर्छ । अहिले सेयर बजारको मुख्य सिजन चलिरहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । नाफा औसतमा बढेको देखिएको छ । कम्पनीहरुको लाभांश प्रस्ताव गर्नेक्रम पनि जारी छ ।

कतिपयले बुक क्लोज मिति तय गरी साधारण सभा पनि बोलाउन थालेका छन् । अब धमाधम लगानीकर्ताको खातामा लाभांश जम्मा हुन थाल्नेछ । यी परिदृश्यहरुका कारण सेयर बजार क्रमशः सकारात्मक बन्दै जाने विश्लेषण गर्न सकिन्छ । बजार बढ्दा होस् वा घट्दा लगानीकर्ताले कम्पनीहरुको बारेमा निरन्तर अध्ययन गर्नुपर्छ । लगानी गर्ने वा गरिएका कम्पनीको प्रमुख वित्तीय सूचक ख्याल गर्नुपर्छ ।

लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना, भावी योजना पनि हेर्नुपर्छ । लगानी गर्दा जोखिम बहन क्षमतामा पनि ध्यान दिन बिर्सिन नहुने विश्लेषकहरु बताउँछन् । अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुन अवधिका लागि किन्ने भन्ने यकिन हुन जरुरी छ । लगानी गरिएका कम्पनीको आधारभूत पक्षमा ध्यान दिन पनि भुल्नु हुँदैन । २३३ कम्पनीको ७४ लाख ८६ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।

३ वटा समूहका सूचकमा हरियाली आएको छ । बाँकी समूह राता भएका छन् । २६ करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र सिभिल बैंक रहेका छन् । 

Post Your Comment