Market Closed

सेयर बजार फेरि किन भयो प्रभावित ?

07 Dec,2021
  • bull-and-beads_12_7_2021_3_21_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा अन्तिम प्रहरमा बिक्रीकर्ता हावी भएका छन् । थोरै बढेको मूल्यमा बिक्रेता सक्रिय भएपछि एकाएक नेप्से सूचक प्रभािवत हुन पुग्यो । बजार खुलेको पहिलो सत्रमा नेप्से बढेर २५९० विन्दुसम्म पुगेको थियो । त्यसपछि झर्दै बन्द हुने बेलामा सूचक २५०८.९१ विन्दुमा आइपुगेको हो । यस दिन नेप्से सूचक ३७.१८ अंकले घटेको छ । ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यसअघि लगातारजसो बजार घटेकाले विशेषगरी साना र नयाँ लगानीकर्ताको मनोबल कमजोर भएको छ ।

उनीहरुको मनोविज्ञान सुधार हुन केही दिन लाग्ने देखिन्छ । यस्ता लगानीकर्तामा थोरै बढ्दा बेच्ने प्रवृत्ति हावी भएकाले पनि बजारको गिरावट नरोकिएको अनुमान गरिएको छ । बजार बढिहाल्छ भन्ने मनोविज्ञान कमजोर हुनु र कम्पनीको भाउमा थोरै हरियो हुने बित्तिकै बेच्ने समूह सक्रिय हुँदा दोहोरो अंकले बढेको बजारमा अन्तिम प्रहरमा फेरि रातो बनेको हो । तथापि, बजार निरन्तर घट्दा नेप्से सूचक र बजार पुँजीकरणमा भारी गिरावट आइसकेको छ । सस्तो मूल्यमा राम्रा कम्पनीहरुको सेयर खरिद गर्ने अवसर बजारमा आएको छ ।

यसर्थ, लगानीकर्ताहरुले आफ्नो स्वविवेक प्रयोग गरी जोखिम बहन क्षमता, होल्ड गर्न सक्ने अवधिसमेतलाई मध्यनजर गरी लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । बजारले माथि जान कोशिस खोजे पनि त्यसलाई तान्ने केही सकारात्मक फ्याक्टर खोजिरहेको विश्लेषकहरु बताउँछन् । यतिबेला सर्वसाधारण लगानीकर्ताहरुले पनि नेप्सेको चाल हेरिरहेकाले खरिदबिक्री रकम भने अलि कम देखिएको छ । बजार बढ्न थालेपछि कारोबार रकम पनि क्रमशः विस्तार हुँदै जाने अपेक्षा गरिएको छ । 
 
बजार बढ्छ भनेर आम लगानीकर्तामा आत्मविश्वास वृद्धि हुन थालेपछि मात्र खरिदबिक्री रकममा पनि तेजी आउने गर्छ । हामीकहाँ बजार बढ्दा मात्र ठूलो कारोबार भोल्यूम आउने गरेको छ । घट्दा सामान्यतयः खरिदबिक्री रकम कम नै हुन्छ । यस्तै, बजार साइडवेजमा गएका  बेला पनि कारोबार रकम थोरै हुने गरेको देखिन्छ । बजार बढ्दा होस् वा घट्दा लगानीकर्ताले कम्पनीहरुको बारेमा निरन्तर अध्ययन गर्नुपर्छ ।

लगानी गर्ने वा गरिएका कम्पनीको प्रमुख वित्तीय सूचक ख्याल गर्नुपर्छ । लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना, भावी योजना पनि हेर्नुपर्छ । लगानी गर्दा जोखिम बहन क्षमतामा पनि ध्यान दिन बिर्सिन नहुने विश्लेषकहरु बताउँछन् ।  अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुन अवधिका लागि किन्ने भन्ने यकिन हुन जरुरी छ । लगानी गरिएका कम्पनीको आधारभूत पक्षमा ध्यान दिन पनि भुल्नु हुँदैन ।



यस दिन २३१ कम्पनीको ८३ लाख ३० हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा प्राइम बैंक अग्रस्थानमा रहेको छ । यसको १२ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र आइसीएफसी फाइनान्स रहेका छन् । म्युअुल फन्ड र व्यापारिक बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 


Post Your Comment