Market Closed

आइपीओ रोकिंदा व्यवसाय विस्तारमा बाधा, नयाँ लगानीकर्ताको प्रवेशमा अवरोध

04 Jan,2022
  • iposs_1_4_2022_7_03_09.jpg
इशारा कोइराला
 
काठमाडौं : पछिल्लो ५ महिनायता नेपाल धितोपत्र बोर्ड (सेबोन) आइपीओ निष्कासन गर्न अनुमति दिएको छैन । अध्यक्ष नभएको भन्दै धितोपत्र बोर्डले आइपीओ निष्कासन अनुमति दिने प्रक्रिया रोकेको हो । अहिले धितोपत्र बोर्डमा २८ वटा कम्पनीहरुले आइपीओ निष्कासनका लागि अनुमति मागेका छन् । आइपीओ गर्न  अनुमति माग्ने कम्पनीहरु थपिरहँदा बोर्ड भने अध्यक्षविहीन भएको भन्दै एउटा कम्पनीलाई पनि अनुमति दिएको छैन । सोही कारण यतिबेला आइपीओ अनुमति माग्ने कम्पनीहरुको बोर्डमा चाङ लागेको छ ।

लामो समयदेखि आवेदन बन्धक बनेपछि कम्पनीहरु भने मारमा परेका छन् । उनीहरुले व्यवसाय विस्तारका लागि प्राथमिक बजारबाट पुँजी जुटाउन सकेका छैनन् । यस्तै, आइपीओ पारखीहरु पनि महिनौंसम्म एउटा पनि सेयर भर्न नपाएपछि निराश हुने अवस्थामा पुगेका छन् । आइपीओ निष्कासन भएमा बजारमा पुँजी परिचालनमा समेत सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । 
 
गत भदौमा बोर्ड नेतृत्वबिहीन बनेको केही समयपछि बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई अर्थ मन्त्रालयले जिम्मेवारी दिएको थियो । तर उनलाई पनि पूरा काम गर्ने अधिकार दिइएको छैन । दैनिक कार्य सञ्चालनको मात्र अधिकार भएको बताइएको छ । तथापि, उनले काम चलाउ जिम्मेवारी पाएपछि पटकपटक सञ्चालक समिति बैठक भने बसिसकेको छ ।

तथापि, हालसम्म कुनै कम्पनीलाई आइपीओ निष्कासन अनुमति दिइएको छैन । तर केही कम्पनीलाई हकप्रद र ऋणपत्र बिक्री गर्न भने धितोपत्र बोर्डले यसबीचमा पनि अनुमति दिएको छ । बोर्ड स्रोतका अनुसार सञ्चालक समितिको बैठकमा आइपीओ निष्कासन अनुमति दिने बारेमा समेत छलफल भए पनि अहिलेसम्म कुनै कम्पनीलाई अनुमति दिइएको भने छैन । 
 
प्राथमिक बजारमा मन्दी आउँदा दोस्रो बजारमा पनि पर्यो यस्तो असर 
 
प्राथमिक बजारमा मन्दी आउँदा दोस्रो बजारमा पनि कारोबार रकम खुम्चिएको छ । आइपीओ लगायत प्राथमिक बजारमा चहलपहल बढेमा दोस्रो बजारमा पनि नयाँ लगानीकर्ताहरु भित्रिने गर्दछन् । नयाँ सूचीकृत कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ता झुम्मिने प्रवृत्ति रहन्छ । तर यो कार्य अहिले ठप्पप्रायः छ । गत वर्ष आइपीओ निष्कासनमा लहर छाएको थियो ।

नयाँ इन्सुरेन्स कम्पनीसहित अन्य धेरैले आइपीओ बिक्री गरी देस्रो बजारमा सूचीकृत भएका थिए । जसका कारण लगानीकर्ताको संख्या बढेसँगै दोस्रो बजारमा पनि सेयर कारोबारमा पनि माहोल राम्रो बनेको थियो । आइपीओ निष्कासन भए अनुसार नै लगानीकर्ताको पनि बढ्दो आकर्षण थियो । आइपीओ जारी भएका सबै कम्पनीहरुमा लगानीकर्ताको मागभन्दा कयौं गुणा आवेदन बढी पर्ने गरेको थियो । 
 
२८ कम्पनीको आइपीओ धितोपत्र बोर्डको पाइप लाइनमा
 
धितोपत्र बोर्डको पाइपलाइनमा रहेका २८ कम्पनीले कुल ७ अर्ब ३९ करोड ६६ लाख ४ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् । यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ६ करोड ७२ लाख ४६ हजार ४ कित्ता सेयर थपिनेछ । आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । अनुमति माग्ने २८ कम्पनी मध्ये १९ जलविद्युत् कम्पनी रहेका छन् । ६ लघुवित्त कम्पनी, २ इन्सुरेन्स कम्पनी र अर्को डिस मिडिया नेटवर्क रहेको छ । 
 
माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने पस्ताव पारित गरिसकेका छन् । प्राथमिक बजारमा आइपीओ जारी भएपछि सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ । पछिल्लो समय सर्वसाधारणमा आइपीओ आकर्षण अत्याधिक देखिएको छ । अब हेरौं, कुन कम्पनीको कति कित्ता आइपीओ आउँदैछ :

Post Your Comment