Market Closed

नेपालका बिमा कम्पनीहरुको विवरण कहिलेसम्म पठाइरहने भारत ?

05 Jan,2022
  • valuation_1_5_2022_7_37_13.jpg
इशारा कोइराला
 
काठमाडौं : सेयर बजारमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गरी साधारण सभासमेत गरिसक्दा बिमा कम्पनीहरुको भने अघिल्लो आर्थिक वर्षकै साधारण सभा हुन सकेको छैन । विभिन्न समूहका सूचीकृत संस्थाहरुले धमाधम गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गरिरहँदा अधिकांश बिमा कम्पनीका लगानीकर्ताहरु अघिल्लै आर्थिक वर्षको लाभांशको आशामा बसिरहेका छन् । 
 
विगत वर्षहरुदेखि नै बिमा कम्पनीहरुको लाभांश घोषणा र साधारण सभामा बिलम्ब हुँदै आएको छ । साथै, अर्को व्यवस्था नगरिए यो क्रमले अझै केही वर्ष निरन्तरता पाउने देखिएको छ । अर्कोतर्फ, नियामक निकाय बिमा समितिसहित इन्सुरेन्स कम्पनीहरु विलम्ब हुनुमा नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली (एनएफआरएस) र बिमांकीय मूल्यांकन (एक्चुअरी भ्यालुएसन) लाई प्रमुख कारण देखाउँदै पन्छिने गरेका छन् ।

बिमा समितिले आर्थिक वर्ष २०७४–७५ देखि नै एनएफआरएस प्रणाली लागू गरेको हो । तर, यो प्रणाली लागू भएको ४ वर्ष भइसक्दा पनि यही कारणलाई नै देखाएर लाभांश घोषणा र साधारण सभामा ढिलाई हुनु भनेको दुखद पक्ष भएको  सरोकारवालाहरुले बताएका छन् । यता, नियामक बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि बिमा कम्पनीहरुमा एनएफआरएस र बिमांकीय मूल्यांकनका कारण लाभांश घोषणा र साधारण सभामा ढिलाई भएको बताएका छन् ।

नेपालमा पर्याप्त एक्चुअरीहरु नभएकाले भ्यालुयसनका लागि भारत पठाउनु परेकाले यसमा विलम्ब हुने गरेको  उनको भनाई छ । अहिले नेपालमा एक्चुअरी भ्यालुयसनको पढाई सुरु भए पनि अहिलेसम्म कोही पनि दक्ष एक्चुअरीहरु भने उत्पादन भइसकेका छैनन् । उनले भने, ‘अहिले नेपालमा नै एक्चुअरीको अध्ययन सुरु भइरहेको छ । अब स्वेदशमा नै एक्चुरीहरु उत्पादन भएपछि यसमा केही सहज होला ।’ 
 
यता, भारतमै भने ‘इन्टरनेसनल फाइनान्सियल रिपोर्टिङ स्टान्डार्ड (आइएफआरएस)’ पूर्ण रुपमा लागू छैन । तर भारतमा लागू नभए पनि नेपाली कम्पनीहरु भने सोही मापदण्डका लागि भनेर आफ्ना सबै रिपोर्टहरु भारततिर लगिरहेका छन् । नियामकले पनि यही निर्देशन दिएको छ । भारतमा त्यहाँका स्वदेशी कम्पनीहरुमा यो प्रावधान लागू नै भएको छैन भने विदेशी कम्पनीहरुका लागि यसका केही पक्षहरु मात्र इन्डियन रिपोर्टिङ स्टान्डर्डमा समावेश गरिएको छ ।

वित्तीय विवरणको रिपोर्टिङमा बिमा कम्पनीहरुको अहिलेको अवस्था हेर्दा नेपालमा भने कुनै पर्याप्त पूर्वतयारी बिनै आइएफआरएसको नेपाली रुप एनएफआरएस लागू गरिएको देखिन्छ । सामान्यतया, आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गरिसक्नुपर्छ । तर, बिमा कम्पनीहरूले भने यही प्रक्रियालाई नै बहाना बनाउँदै समयमै साधारण सभा गरेको पाइँदैन । साधारण सभा गर्नुअघि बिमा कम्पनीले बिमा समितिमा आफ्नो अघिल्लो वर्षको लेखापरीक्षणसहित वार्षिक वित्तीय विवरण पेस गर्ने र समितिले सो विवरण स्वीकृत गरेपछि साधारणसभाको मिति तोकेर सभा गर्ने गर्छन् ।

साधारण सभाले नै ती संस्थाको आर्थिक तथा वित्तीय अवस्था कस्तो छ भन्ने मूल्यांकन गर्ने र अनुमोदन गर्ने गर्दछ । अझ, नाफामूलक र सार्वजनिक (पब्लिक) कम्पनीहरूले त अनिवार्य रुपमा आफ्नो सेयर सदस्यहरूलाई संस्थाको आर्थिक गतिविधि सार्वजनिक गर्नुपर्छ । तर, हाल २ वर्षदेखि अधिकांश बिमा कम्पनीहरूले साधारण सभा गर्न सकेका छैनन् । बिमा कम्पनीहरु पनि एनएफआरएसलाई देखाउँदै पन्छिदै आएका छन् ।

युनियन लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण नेपालमा एक्चुअरी भ्यालूएसन नभएकाले भारतमा एक्चुअरी गर्न पठाउनु परेको छ । सोही कारण यसमा विलम्ब भएको बताउँछन् । उनले भने, ‘एक्चुअरी भ्यालूएसन गराउन भारतमा डकुमेन्टहरु पठाउनुपर्छ । कतिपय अवस्थामा डकुमेन्टहरु नपुगेर पुनः माग गर्छन् । यसरी फेरि भारत पठाउँदा थप विलम्ब हुन्छ ।’ ‘सबै विवरण भारतीय एक्चुअरीलाई पठाउनुपर्ने र त्यहाँबाट स्वीकृत भएर आएपछि त्यो फाइल बिमा समितिमा पेस गर्नुपर्छ’ उनले भने । अहिले युनियन लाइफले भने बिमा समितिमा आफ्नो विवरण पेश गरेको कर्णले बताए । 
 
यसको अलावा कम्पनीहरुले त्रैमासिक रुपमा प्रकाशित गर्ने अपरिष्कृत वित्तीय विवरणमा बिमाकीय मूल्यांकन हुन सकेको छैन । जसका कारण ती कम्पनीहरुको वास्तविक वित्तीय विवरण सार्वजनिक हुन नसकेको अवस्था छ । यता, बिमा समितिको निर्देशन अनुसार सरकारी स्वामित्व अन्तर्गतका बिमा कम्पनीलाई पनि नियम पालना गर्न कठिनाई परेको छ । सरकारी स्वामित्वका राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले लामो समयदेखि लेखापरीक्षण नै गराउन सकेका छैनन् ।
 
 

Post Your Comment