Market Closed

‘मार्केट साइकल’का यी ४ चरण, बुझ्न सके लगानीकर्तालाई निकै फाइदा हुन सक्छ

07 Jan,2022
  • stock-equity-cycle_1_7_2022_7_43_11.jpg
समिर गौतम 
 
काठमाडौं : भनिन्छ जीवनका सबै पक्षहरु चक्रीय छन् । समय पनि चक्रीय छ भन्ने मान्यता रहेको छ । यस्तै चक्र सेयर बजारको पनि हुने मानिएको छ । जसलाई ‘मार्केट साइकल’ भनिन्छ । सेयर बजारको चक्रलाई बुझ्न सक्नु र नसक्नुले पनि नाफा कमाउने कि नोक्सान भोग्ने भन्ने कुराको निर्धारण गर्न सक्छ । उदाहरणका लागि, सेयर बजारमा कहिलेकाँही ‘मार्केट बबल’ को चर्चा हुन्छ र त्यही बबलमा फस्नेहरु पनि भेटिन्छन् । यस्ता बबलहरु आउँछन् अनि जान्छन्, तर प्रत्येक बबलमा फस्ने मानिसहरुको कमी भने हुँदैन ।

मार्केट बबल पनि बजारको विभिन्न चरणमध्ये एक मात्र हो । यसैगरी, बजार निकै तल्लो विन्दुमा पुगेका बेला भाउ निकै सस्तो भएको हुन्छ । किन्ने बेला भएको हुन्छ । तर आम लगानीकर्ता अझै घट्छ वा बजार क्र्यास हुन्छ भन्ने त्रासका कारण किन्न सकिरहेका हुँदैनन् । त्यही भएर माथिल्लो विन्दु र तल्लो विन्दु पत्ता लगाउन सक्नु लगानीकर्ताको निकै खुबीको विषय हो । 
 
सेयर बजारले कसरी काम गर्छ भन्ने बुझाई अनि प्राविधिक विश्लेषणको राम्रो बुझाईले जो कोहीलाई पनि बजारको चक्र चिन्न मद्दत गर्छ । मुख्यगरी बजार ४ वटा चरणबाट हिड्ने गर्दछ । हरेक चरणका बारेमा बुझ्न सक्दा लगानीकर्तालाई सुझबुझपूर्ण निर्णय लिन सजिलो हुन्छ । संसारको जुनसुकै बजारलाई हेर्यो भने पनि सोही ४ वटा चरण देखिन्छ । चक्रीय गतिमै चल्ने गरेका छन् । एउटा चक्र पूरा भएपछि बजारले अर्को चक्र सुरु गर्छ ।

तर समस्या के हो भने लगानीकर्ताले बजार चक्रीय हुन्छ भन्ने बुझ्न नसक्नु तथा वर्तमान चरणको अन्त्यलाई अनुमान गर्न नसक्नुमा रहेको छ । यद्दपि, बजार चक्रीय छ भन्ने जान्दाजन्दै पनि त्यसको सुरुवात विन्दु र अन्तिम विन्दु यही हो भनेर ठम्याउन भने लगानीकर्ताका लागि ठूलै चुनौतीको रुपमा रहेको छ । राम्रो प्रतिफल पाउन भने बजारको चक्र र यसका चरणका बारेमा जान्नु उपयुक्त हुन्छ । यहाँ बजार चक्र अर्थात ‘मार्केट साइकल’ का सोही ४ चरणको संक्षिप्त चर्चा गरिएको छ ।

 
१) ‘एक्युमुलेसन’ चरण
 
यो चरणको सुरुवात बजार न्यून विन्दुमा पुगेपछि सुरु हुन्छ । यहाँ बजारको गिर्ने क्रम सकियो वा अब तल झर्ने ठाउँ छैन भन्ने बुझेपछि कर्पोरेट इन्साइडर, केही भ्याल्यू इन्भेष्टर र बजारका अनुभवी कारोबारीहरुले सेयर किन्न सुरु गर्छन । यो चरणमा सेयरको भाउ निकै सस्तो भइसकेको हुन्छ । तर बजारमा आम लगानीकर्ताको मनोविज्ञान भने अझै कमजोर र बियरिसमै रहेको हुन्छ ।

बियरिस बजारको नराम्रो चरणबाट गुज्रिसकेकाहरुले हार मानिसकेका हुन्छन् । अनि, आफ्नो बाँकी होल्डिङ पनि धमाधम बिक्री गरिहेका हुन्छन् । बजार बढ्छ भन्ने उनीहरुलाई विश्वास हुँदैन । समग्रमा बजारमा चरम निराशा छाएको हुन्छ भने भाउ निकै सस्तो भइसकेको हुन्छ । जहाँ हरेक बिक्रीकर्ताले खरिदकर्ता भटिरहेका हुन्छन् । यसरी एक्युमुलेसन हुँदै गएपछि विस्तारै–विस्तारै बजारको नकारात्मक भावना तटस्थ बन्न थाल्छ ।
 
२) ‘मार्क–अप’ चरण
 
यस चरणमा बजार केही समयका लागि स्थिर वा साइडवेजमा जान्छ । अनि, विस्तारै र क्रमिक रुपमा माथि जान थाल्छ । प्रारम्भिक चरणमा अधिकांश लगानीकर्ताहरु ट्रेन्ड फलो गर्न थाल्छन् । यसमा धेरैजसो प्राविधिक विश्लेषकहरु हुन्छन्, जसले बजारको दिशा र सेन्टिमेन्ट परिवर्तन भएको संकेत गर्दछन् । मिडियाहरुमा पनि बजारको खराब चरण अन्त्य भएको वा अन्त्य हुने सम्भावना रहेका विषयमा छलफल हुन सुरु हुन्छ ।

यो चरण परिपक्क हुँदै जाँदा धेरै लगानीकर्ताहरु पछि परिने डर र लोभका कारण यही ट्रेन्डमा हामफाल्छन् । तर यो समय कहिलेकाँही लामै रहन पनि सक्छ । यस चरण अन्त्य हुने समय नजिकिँदै गर्दा बाँकी रहेका लगानीकर्ताहरु पनि बजारमा प्रवेश गर्छन् र सेयर कारोबार रकममा पनि उल्लेख्य वृद्धि हुन थाल्छ । सेयरको भ्याल्यूएसन ऐतिहासिक विन्दु नजिक पुग्ने सम्भावना पनि हुन्छ ।

सकारात्मकता धेरै ठाउँ पाएको हुन्छ । कतिपय अवस्थामा सर्वसाधारण लगानीकर्ताहरुले आफ्नो विवेक, अध्ययन, अनुसन्धान र तर्कलाई तिलाञ्जली दिन सुरु गर्छन् । लगानीकर्ताको अन्तिम हुल बजार प्रवेश गर्दैगर्दा स्मार्ट लगानीकर्ता, कारोबारी र इन्साइडरहरुले भने राम्रो भाउमा सेयर बिक्री गर्न सुरु गर्छन् । अर्थात् एक्सिट्रिम बुलको अवस्था आइपुगेको हुन सक्छ । 
 
३) ‘डिस्ट्रिब्युसन’ चरण
 
यो बजारको त्यस्तो चरण हो जहाँ बिक्रीकर्ताहरु हावी हुन थाल्दछन् । मार्केट साइकलको यो चरणलाई अघिल्लो चरणको बुलिस भावना बिस्तारै मिश्रित भावनामा परिणत हुँदै गएको अवधिबाट चिन्न सकिन्छ । सेयरको भाउ कारोबार रेन्जभित्रै चलिरहेको हुन्छ । यो अवधि केही सातादेखि महिनौसम्म पनि कायम रहन सक्छ । यो चरणमा सेयर भाउ निकै भोलाटाइल हुन्छ । यो चरण बजारका लागि निकै भावनात्मक समय हो । लगानीकर्ताहरु आशा र लोभका साथै डरले पनि घेरिएका हुन्छ ।

कहिलेकाँही बजारले फेरि ‘टेक अफ’ लिन खोजे जस्तो पनि देखिने गर्छ । तर भ्याल्यू इन्भेष्टर्स भने किनारा लागिसकेका हुन्छन् । बिस्तारै बजारको भावना परिवर्तन हुन थाल्छ । खराब सरकारी नीति तथा आर्थतन्त्रले झन् छिटो परिवर्तन गर्न मलजल गर्छ । नाफा बुक गर्न नसक्ने वा ढिलो गर्नेले नोक्सानमा ब्यहोनुपर्ने हुन्छ । यो चरणको अन्त्य हुँदा बजार उल्टो दिशामा गइसकेको हुन्छ ।
 
४) ‘मार्क–डाउन’ चरण
 
आफ्नो पोजिसन अझै पनि होल्ड गरेर बसिरहेकाहरुका लागि बजार चक्रको चौथो तथा अन्तिम चरण निकै पीडादायी हुन सक्छ । यस चरणमा बजार बियरिस गतिमा भइसकेको हुन्छ । धेरैजसो आफ्नो पोर्टफोलियोको भ्याल्यू लगानी गरेको रकम भन्दा तल झरेका कारण होल्ड गरेर बसेका हुन्छन् । जब मार्केट निकै तल आइसकेको हुन्छ, तब ‘डिस्ट्रिब्युसन’ चरणको अन्तिम तथा ‘मार्क–डाउन’ चरणको सुरुवातमा बजार प्रवेश गरेकाहरुले हार खान्छन् । अनि, भएको सेयर बिक्री गर्न सुरु गर्छन् ।

तर बिडम्बना, यतिबेला फेरि सेयर खरिद गर्ने समय आइसकेको हुन्छ । यस चरणले पनि यही कुराको संकेत गर्छ । बजार फेरि, एवं तरिकाले एक्युमुलेसन चरणमा जान्छ र बजारको अर्को साइकल सुरु हुन्छ । सेयर बजार यसैगरी, निरन्तर चक्रीय प्रणालीमा चलिरहन्छ । यसर्थ, लगानीकर्ताले आफ्नो पोजिसन आफैंले तय गर्नुपर्ने हुन्छ । 
 

Post Your Comment