Market Closed

ट्रेडिङ स्ट्राटेजी के हो, कसरी प्रयोग गर्ने ?

14 Jan,2022
  • trading_1_14_2022_7_41_06.png
समिर गौतम 
 
काठमाडौं : धितोपत्र बजारमा सेयर खरिद र बिक्री गर्नका लागि व्यवस्थित पद्धतिको प्रयोग अपरिहार्य हुन्छ । जसलाई ‘कारोबार रणनीति’ अर्थात ‘ट्रेडिङ स्ट्राटेजी’ भन्ने गरिन्छ । कारोबार रणनीति लगानीकर्ताका पूर्वनिर्धरित नियमहरु र कारोबार निर्णयहरु लिँदा प्रयोग हुने मापदण्डमा आधारित हुने गर्दछ । रणनीति सरल र जटिल दुवै किसिमका हुने गरेका छन् ।

कतिपयले रणनीतिमा लगानी शैली (भ्याल्यू र ग्रोथ), बजार पुँजीकरण, प्राविधिक सूचक, आधारभूत विश्लेषण, इन्डस्ट्री सेक्टर, पोर्टफोलियो विविधिकरणको तह, होल्डिङ अवधि, जोखिम बहन क्षमता लगायतलाई पनि विशेष ध्यान दिने गर्दछन् । मुलभूत विषय भनेको, कारोबार रणनीति वस्तुपरक तथ्यांक र विश्लेषण प्रयोग गरी तयार गरिनु पर्दछ र लगनशीलताका साथ पालना गर्नु पर्दछ ।

साथै, बजारको वातावरण तथा व्यक्तिगत उद्देश्य परिवर्तनशील हुने भएकाले कारोबार रणनीति पनि आवधिक रुपमा पुनर्मूल्यांकन गरिनुपदर्छ । कारोबार रणनीतिमा राम्रोसँग विचार पुर्याइएका लगानी तथा कारोबार योजना समावेश भएको हुन्छ । जसले लगानी उद्दश्यहरु, जोखिम बहन क्षमता, समयसीमा र करका प्रभावहरु निर्दिष्ट गरेको हुन्छ । कारोबार रणनीतिमा सामान्यतयाः ३ चरणहरु हुन्छन् । ती हुन् : योजना बनाउने, कारोबार प्रक्रिया सुरु गर्ने र कार्यान्वयन गर्ने ।
 
 योजना बनाउने चरणमा स्टक, बन्ड तथा इटीएफहरु खरिद र बिक्री गर्ने विधिको विकास गर्ने काम समावेश हुन्छ । साथै, अप्सन वा फ्यूचर्स जस्ता थप जटिल कारोबारमा विस्तार हुन सक्ने विषय पनि समावेश हुनसक्छ । कारोबार प्रक्रिया सुरु गर्दा ब्रोकर तथा ब्रोकर डिलरसँग काम गर्नुपर्ने हुन्छ ।

यस चरणमा कारोबार लागत, फि तथा कमिसन लगायतको पहिचान गरी व्यवस्थापन गर्ने कार्य हुन्छ । कार्यान्वयनको चरणमा गइसकेपछि आफ्नो ट्रेडिङ पोजिसनको नियमन र व्यवस्थापन हुन्छ । अवश्यकता अनुसार आफ्नो पोजिसनको मूल्यांकन र समायोजन हुन्छ भने जोखिम र प्रतिफलको लेखाजोखा पनि हुन्छ ।
 
कारोबार रणनीतिको विकास
 
कारोबार रणनीतिहरु विभिन्न किसिमका हुने गरेका छन् । हरेक लगानीकर्ताको आफ्नो छुट्टै कारोबार रणनीति पनि हुनसक्छ । कारोबार रणनीति जेजस्तो भएपनि तिनीहरु धेरै हदसम्म आधारभूत र प्राविधिक पक्षहरुमै आधारित हुने गरेका छन् । प्राविधिक कारोबार रणनीतिमा प्राविधिक सूचकहरुलाई आधार बनाएर कारोबार संकेत पत्ता लगाउने गरिन्छ । यस रणनीतिमा आधाति कारोबारीहरुमा कुनै पनि सेयरको सम्पूर्ण जानकारी यसको मूल्यमा समावेश हुन्छ र मूल्य निश्चित ट्रेन्डमा हिड्ने गर्छ भन्ने मान्यता रहेको हुन्छ ।

उदाहरणका रुपमा ‘मुभिङ एभरेज’ लाई लिन सकिन्छ । आधारभूत रणनीतिमा भने आधारभूत पक्षहरुलाई महत्व दिइएको हुन्छ । उदाहरणका लागि कुनै लगानीकर्ताले अवसरको पहिचान गर्न सेयर स्क्रिनिङको निश्चित मापदण्ड हुनसक्छ । यस्तो मापदण्डहरु कम्पनीको आम्दानीमा भएको वृद्धि, नाफा कमाउन सक्ने क्षमता, लाभांशको इतिहासलगायत आधारभूत सूचकहरुको विश्लेषण गरेर बनाइएको हुन्छ ।
 
पछिल्लो समय संख्यात्मक वा मात्रात्मक कारोबार रणनीतिले पनि चर्चा पाउँदै गएको छ । केही हदसम्म प्राविधिक कारोबारसँग समानता पाउन सकिन्छ । यद्दपि, मात्रात्मक आधारहरु संख्या वा तथ्यांकसँग सम्बन्धित छन् । तिनीहरु व्यवसायका मापनयोग्य विशेषताहरु हुन् । तसर्थ, मात्रात्मक तथ्यांकका लागि सबैभन्दा ठूलो स्रोत कम्पनीको वित्तीय विवरणहरुलाई लिन सकिन्छ ।

यसमा गणितीय मेट्रिक्सहरुको प्रयोग गरी सेयरको विश्लेषण गरिन्छ । प्राइस मुमेन्टम यसको एक उदाहरण हो । व्यवहारिक वित्तीय पूर्वाग्रहरुबाट बच्न र निरन्तर सफल परिणामहरु सुनिश्चित गर्नका लागि कारोबार रणनीति अपरिहार्य छ । आफ्नो नियमपूर्वक लगानी तथा कारोबार गर्नेहरुलाई अत्याधिक लोभ र त्रासबाट बच्न पनि मद्दत पुग्छ । स्थिरता मापन गर्नका लागि कारोबार रणनीतिलाई बजारका विभिन्न अवस्थाहरुमा तनाव–परीक्षण पनि गर्नुपर्ने हुन्छ ।

लाभदायक कारोबार रणनीति बनाउन निकै कठीन कार्य हुनसक्छ । यद्दति, रणनीति बिना कारोबार गर्नु भन्दा रणनीति बनाएर गरिएको कारोबारबाट प्रतिफल राम्रो पाउने सम्भावना हुन्छ । तर कारोबार रणनीति भने आवश्यकता अनुसार परिवर्तन गर्न सकिने गरी लचिलो भने हुनुपर्छ ।
 

Post Your Comment