Market Closed

ग्राहम नम्बर : भ्याल्यू स्टक पत्ता लगाउने बेन्जामिन ग्राहमको ‘फर्मुला’, कसरी गर्ने प्रयोग ?

06 May,2022
  • 5_5_6_2022_9_52_33.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्राहम नम्बर (वा बेन्जामिन ग्राहमको नम्बर) ले कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) र प्रतिसेयर बुक भ्याल्यु (बीभीपीएस) का आधारमा सेयरको आधारभूत भ्याल्यू मापन गर्दछ । ग्राहम नम्बरले एक रक्षात्मक लगानीकर्ताले सेयरका लागि तिर्नुपर्ने मूल्य रेन्जको माथिल्लो सीमालाई जनाउँछ । अर्थात, ग्राहम नम्बर भनेको लगानीकर्ताले कुनै निश्चित स्टकका लागि तिनुपर्ने अधिकतम मूल्य निर्धारण गर्ने एक मेट्रिक हो । 
 
सिद्धान्त अनुसार हेर्ने हो भने, ग्राहम नम्बर भन्दा तल रहेको कुनै पनि सेयरलाई अन्डरभ्याल्यूड मानिन्छ र लगानी गर्नका लागि योग्य ठहरिन्छ । भ्याल्यू इन्भेष्टिङका पिता भनेर चिनिने बेन्जामिन ग्राहमको नामबाट ‘ग्राहक नम्बर’ को नामाकरण भएको हो । विद्यमान बजारमा उचित मूल्यमा बिक्री भइरहेका स्टकहरुको पहिचान गर्न ग्राहम नम्बरलाई सामान्य परीक्षणको रुपमा प्रयोग गरिन्छ । 
 
ग्राहम नम्बर पत्ता लगाउने सूत्र :


 
यहाँ, मूल्य आम्दानी अनुपात (पीइ रेसियो) १५ गुणा भन्दा बढी हुनु हुँदैन र प्रतिसेयर बुक भ्याल्यू १.५ गुणा भन्दा बढी हुनु हुँदैन (अर्थात १५×१.५=२२.५) भन्ने ग्राहमको मान्यताका आधारमा सूत्रमा २२.५ अंक समावेश गरिएको छ । कम्पनीको खुद नाफालाई कुल साधारण सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ । त्यस्तै, प्रतिसेयर बुक भ्याल्यू भनेको सेयरधनीहरुलाई उपलब्ध हुने कुल इक्विटीलाई कम्पनीको कुल साधारण सेयरले भाग गर्दा आउने संख्या हो ।
 
ग्राहम नम्बरको उदाहरण :
 
यदि कुनै कम्पनीको प्रतिसेयर आम्दानी १.५० रुपैयाँ छ र प्रतिसेयर बुक भ्याल्यू १० रुपैयाँ छ भने उक्त कम्पनीको ग्राहम नम्बर १८.३७ रुपैयाँ हुन जान्छ । अर्थात, ग्राहमका अनुसार १८.३७ रुपैयाँ उक्त कम्पनीको सेयरका लागि एक लगानीकर्ताले तिर्नुपर्ने अधिकतम मूल्य हो । यदि बजारमा उक्त कम्पनी १६ रुपैयाँमै किन्न पाइन्छ भने लगानीका लागि उचित हुन्छ । तर बजार भाउ १९ रुपैयाँ छ भने लगानी नगर्दा राम्रो हुने ग्राहम नम्बरले जनाउँछ ।
 
ग्राहम नम्बरका सीमाहरु :
 
ग्राहम नम्बरको गणनामा कम्पनीका विभिन्न आधारभूत विशेषताहरु नपर्ने हुँदा कम्पनीको पूर्ण तस्बिर प्राप्त हुँदैन । अर्थात, ग्राहम नम्बर एक्लैका आधारमा लगानी गर्न मिल्दैन । ग्राहम नम्बरले कुनैपनि कम्पनी विश्लेषणमा अनिवार्य मानिएका कम्पनीको व्यवस्थापन पक्ष, प्रतिस्पर्धात्मक वातावरण, उद्योगको विशेषतालगायत विभिन्न आधारभूत पक्षहरु समावेश हुँदैन ।
 
लगानीका लागि उचित ग्रहम नम्बर कति हो ?
 
ग्राहम नम्बरले सधैं इपीएस र बुक भ्याल्यूका आधारमा सेयरको अधिकतम मूल्य निर्धारण गर्ने गर्छ । तसर्थ, ग्राहम नम्बर भन्दा कम सेयर भाउ भएका सबै कम्पनीहरु लगानीका लागि उचित मानिन्छन् ।

Post Your Comment