नेपाली पैसा
काठमाडौं : हालसम्म नेप्सेमा सूचीकृत १३ जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिमा धेरै कम्पनीको खुद नाफालगायतको प्रमुख सूचक बढेको छ । अधिकांश सूचकमा माउण्टेन इनर्जी नेपाल अगाडि रहेको छ । अझै धेरै जलविद्युत् कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट सार्वजनिक हुन बाँकी छ ।
तथापि, अहिलेसम्म रिपोट आएकाहरुको औसतमा अवस्था राम्रो देखिएको छ । जलविद्युत कम्पनीहरुको प्रमुख आम्दानीको स्रोत विद्युत बिक्री नै हो । यसर्थ, जुन कम्पनीले बिजुली बेचेर राम्रो आम्दानी गर्न सक्छ, सामान्ययतः सोही कम्पनीको मुनाफा राम्रो हुन सक्छ । यसबाहेक, आम्दानीका अन्य सामान्य स्रोतहरु पनि हुने गर्छन् । अब हेरौं, कुन कम्पनीको अवस्था कस्तो ?
सबैभन्दा धेरै चुक्ता पुँजी माउण्टेन इनर्जी नेपालको

हालसम्म तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी माउण्टेन इनर्जी नेपालको रहेको छ । यसको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ छ । त्यस्तै, नेसनल हाइड्रोपावर, लिवर्टी इनर्जीको चुक्ता पुँजी पनि १ अर्ब रुपैयाँभन्दा धेरै छ ।
एक वर्षको अवधिमा ४ कम्पनीको मात्रै चुक्ता पुँजी बढेको छ । अरु ९ कम्पनीको चुक्ता पुँजी गत वर्षकै यथावत छ । सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा तेह्रथुम पावर रहेको छ । यसको पुँजी ४२.८६% ले बढेर ४० करोड रुपैयाँ पुगेको छ ।
जगेडा कोषमा पनि माउण्टेन इनर्जी नेपाल नै अगाडि

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै जगेडा कोष माउण्टेन इनर्जी नेपालको रहेको छ । यसको जगेडा कोष १४०.६९% ले बढेर ८२ करोड ८९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा ६ कम्पनीको जगेडा कोष बढेको छ भने ६ कम्पनीको जगेडा कोष ऋणात्मक रहेको छ ।
विद्युत् बिक्रीबाट धेरै आम्दानी गर्नेमा पनि माउण्टेन इनर्जी नेपालकै अग्रता

विद्युत् बिक्रीबाट धेरै आम्दानी गर्नेमा माउण्टेन इनर्जी नेपाल रहेको छ । यसअवधिमा यसको विद्युत् बिक्रीबाट हुने आम्दानी ८०४.०६% ले बढेर ८५ करोड २६ लाख ६ हजार रुपैयाँ पुगेको छ । यो नै सबैभन्दा धेरै विद्युत् बिक्रीबाट आम्दानी बढ्ने कम्पनी हो । यसअवधिमा १० कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको छ । यता, वित्तीय विवरण सार्वजनिक गर्ने ३ कम्पनीले भने हालसम्म विद्युत् बिक्रीबाट आम्दानी गरेका छैनन् ।
खुद नाफामा पनि माउण्टेन इनर्जी नेपाल नै अघि

यस अवधिमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा माउण्टेन इनर्जी नेपाल रहेको छ । यसअवधिमा यसको खुद नाफा ७५४.०६% ले बढेर ४२ करोड ६९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ९९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा ८ कम्पनीको खुद नाफा बढेको छ भने ५ कम्पनी नोक्सानमा रहेका छन् ।
प्रतिसेयर आम्दानीमा रुरु जलविद्युत् अगाडि

चैत मसान्तसम्ममा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी रुरु जलविद्युत् परियोजनाको रहेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७७ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ । एक वर्षको अवधिमा ८ कम्पनीको इपीएस बढेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा माउण्टेन इनर्जी रहेको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८७ पैसाले बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ । यसअवधिमा ५ कम्पनीको इपीएस भने ऋणात्मक छ ।