Market Closed

मार्जिन कारोबार अझै किन सुरु भएन, फेरि के आयो समस्या ?

09 Jun,2022
  • margin_-_Copy_6_9_2022_8_09_57.jpg
इशारा कोइराला
 
काठमाडौं : नेप्सेले वैशाख १५ गते ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७७’ लाई प्रथम पटक संशोधन गरेर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि संशोधन भएर लागू भएको करिब साढे एक महिना पूरा हुन लाग्दा पनि यो अझै पनि व्यवहारिक प्रयोगमा भने आएको छैन । संशोधित कार्यविधिमा पनि व्यवहारिक जटिलता कायम भएकाले कार्यान्वयनमा ढिलाई भएको सरोकारवालाहरुले बताएका छन् ।
 
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले अहिलेको टीएमएसमा मार्जिन कारोबारको अप्सन नै नभएका कारण अहिले समस्या भएको बताए । उनले भने ‘मार्जिन कारोबार सुविधा लिएका र नलिएका लगानीकर्ताको कारोबारको विवरण ब्रोकरले छुट्टाछुट्टै राख्नुपर्छ । अहिलेको कारोबार प्रणालीले ती विषय छुट्याउन सक्दैन । कारोबार प्रणाली नै नभएको अवस्थामा मार्जिन सुविधा कार्यान्वयनमा जान ब्रोकरलाई रिक्स छ ।’ साथै, मार्जिन कारोबारका लागि स्रोत व्यवस्थापनको पनि स्पष्ट व्यवस्था भएको छैन ।

सोही कारण ब्रोकरहरुले ठूलो रकममा स्रोत व्यवस्थापन गर्न नसक्ने अध्यक्ष मैनालीले बताए । उनले भने, ‘स्रोतका बारेमा कार्यविधिमा सम्बोधन नहुँदा ब्रोकरहरुले मार्जिन कारोबारका लागि ठूलो रकम व्यवस्थापन गर्न सक्दैनन् ।’ स्रोत व्यवस्थापनसहित मार्जिन कारोबार कार्यविधि संशोधन गर्न आफूहरुले नेप्सेलाई आग्रह गरेको उनले बताए । यता, नेप्से भने अहिले नै मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७७ मा कुनै संशोधन गरिहाल्ने तयारीमा छैन । 
 
मार्जिन कारोबार कार्यान्वयनमा ब्रोकरको आलटाल
 
ब्रोकरहरुले नै मार्जिन कारोबार सेवा सञ्चालनमा आलटाल गर्दै आएको नेप्सेका एक अधिकारीले बताए । उनीहरुले स्रोत व्यवस्थापनलाई देखाएर मार्जिन कारोबार सुबिधा दिन नखोजेको उनको भनाई छ । ती अधिकारीले भने, ‘ब्रोकरहरुले लगानीकर्ताले राखेको सेयर धितोलाई बैंकमा राखेर कर्जा लिन पाउनुपर्ने माग राखेका छन् । ब्रोकरको मागअ नुसार उक्त व्यवस्था भएमा सेयर बजार नै धरापमा पर्ने हुन्छ ।’

ब्रोकरको माग अनुसारको व्यवस्था गर्ने पक्षमा राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्से नरहेको ती अधिकारीले बताए । नेप्सेले २ वर्ष अघि नै ब्रोकरमार्फत हुने मार्जिन लेन्डिङका लागि कार्यविधि बनाएर लागू गरेको थियो । तर उक्त कार्यविधि व्यवहारिक नभएको भन्दै ब्रोकर र लगानीकर्ताले चासो नदेखाएपछि यसलाई संशोधन गरेर पुनः कार्यान्वयनमा ल्याएको छ । यो पनि प्रभावकारी नभएको ब्रोकरको भनाईछ । 
 
६ कम्पनीले मात्रै मार्जिन कारोबारका लागि लाइसेन्स नवीकरण गरे
 
चालु आर्थिक वर्षमा ६ वटा ब्रोकर कम्पनीले मात्रै मार्जिन कारोबारका लागि लाइसेन्स नवीकारण गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेपाली पैसालाई बताए । लाइसेन्स लिएका १६ कम्पनीले भने अहिलेसम्म लाइसेन्स नवीकरण गरेका छैनन् । नेप्सेले मार्जिन कारोबारको सुविधा ल्याएसँगै २२ ब्रोकर कम्पनीले लाइसेन्स लिएका थिए ।

लाइसेन्स प्राप्त ब्रोकर कम्पनीले हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद २ को दफा ६ (२) मा भएको व्यवस्था बमोजिम मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएका सदस्य दलालहरूको अनुमतिपत्र स्वतः खारेज हुने व्यवस्था छ ।
 
संशोधित कार्यविधिमा के–के व्यवस्था परिवर्तन भयो ?
 
संशोधित कार्यविधिमा अब ब्रोकरले सेयर धितो राखेर लगानीकर्तालाई ७०% सम्म कर्जा दिन सक्छन् । यसअघि ५०% सम्म मात्र कर्जा दिन पाउने व्यवस्था थियो । यस्तै, लगानीकर्ताले धितोका रुपमा राख्ने सेयर मूल्यांकन गर्दा १ सय २० दिनको औसत कारोबार मूल्य वा बजारमा कायम अन्तिम मूल्यमध्ये जुन कम छ, त्यसका आधारमा कर्जा दिन पाउने भएका छन् । यसअघि एक सय ८० दिनको औसत मूल्य राखिएको थियो ।
 
मार्जिन सुविधामार्फत लिएको कर्जा रकमबाट सेयर किन्दा एउटा कम्पनीमा बढीमा १०% सम्म मात्र लगानी गर्नुपर्ने सीमा हटेको छ । अब लगानीकर्ताले मार्जिन कर्जाबापतको रकम एकमुष्ट रूपमा एउटै कम्पनीमा वा धेरै कम्पनीमा लगानी गर्ने भन्ने छुट पाएका छन् । लगानीकर्ताले पाउने रकमबाट एकभन्दा बढी कम्पनीमै लगानी गर्न ब्रोकरहरूले प्रोत्साहन गर्नुपर्ने व्यवस्था संशोधित कार्यविधिमा छ ।
 
नयाँ व्यवस्था अनुसार अब मार्जिन कारोबार सुविधाका लागि सम्भार मार्जिन (मेन्टिनेन्स मार्जिन) २०% हुनेछ । मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २०% भन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ । मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले मार्जिन कारोबारयोग्य धितोपत्रहरू जम्मा गरी वास्तविक मार्जिन २०% भन्दा माथि कायम गर्नुपर्नेछ ।
 

Post Your Comment