नेपाली पैसा
काठमाडौं : पछिल्लो समय नेप्सेमा सूचीकृत बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरु धमाधम मर्जरमा जाने सम्झौता गरिरहेका छन् । मर्जरमा जाने सम्झौता गरेसँगै ती कम्पनीहरुको सेयर कारोबार रोक्का गर्ने प्रावधान छ । मर्जर तथा एक्विजिशन सम्झौता गरेको लामो समयसम्म एकीकृत कारोबार नहुँदा लगानीकर्ताको सम्पत्ति लामो समयसम्म बन्धक बन्दै आएको छ । यसले लगानीकर्तालाई हैरान बनाउँदै आएको छ ।
यसैसन्दर्भमा अब मर्जरमा जाने सम्झौता गरेका कम्पनीको सेयर कारोबार नरोकिने वा रोक्नै परे पनि निकै कम समयका लागि मात्रै हुने गरेर नीति बनाउने तयारीमा नेपाल धितोपत्र बोर्ड रहेको छ । यसका लागि मर्जर नियमावली संशोधन हुनुपर्ने तथा केन्द्रीय बैंकसँग पनि छलफल भइरहेको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए ।
उनले कुनै पनि कम्पनी मर्जर तथा एक्विजिसनका नाममा अब सेयर कारोबार रोक्का नहुने बताए । उनले भने, ‘अहिले कम्पनीको मर्जरका नाममा महिनौं वा वर्षौंसम्म पनि सेयर कारोबार रोक्का भइरहेको छ । अब साउनदेखि कुनै पनि कम्पनीको सेयर कारोबार रोक्का हुँदैन । यसका लागि हामीले केही गृहकार्य गरिरहेका छौं ।’
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ लाई २०७५ मा संशोधन गर्दा मर्जर तथा प्राप्तिमा जाने वित्तीय संस्थाहरुले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि तिनको कारोबार रोक्का रोख्नुपर्ने व्यवस्था गरेको छ । यहि व्यवस्थामा रहेर अहिले बैंक वित्तीय संस्थाको सेयर कारोबार रोक्का हुने गरेको छ । बैंकमात्र होइन, बिमा र जलविद्युत् कम्पनीहरुको समेत सेयर कारोबार यसरी नै रोकिदै आएको छ ।
लगानीकर्ताले उक्त नीति हटाउन विगत लामो समयदेखि माग राख्दै आएका छन् । यसबारेमा नियामक निकायलाई बारम्बार झक्झक्याउँदा पनि यसमा कुनै सुनुवाई नभएको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । लगानीका लागि पुँजी संकलनको केन्द्रका रुपमा हेरिने पुँजी बजारमा मर्जर तथा बुक क्लोजको बहाना देखाएर लामो समयसम्म सर्वसाधारणको लगानी बन्धक बनाइनु गलत भएको उनले बताए ।
‘मर्जरका नाममा लगानीकर्ताको सम्पत्ति वषौंदेखि बन्धक बनाएर राख्नु एक हिसाबले ठगी हो । अहिले नियामक निकायले लगानीकर्ता माथि ठगी नै गरिरहेको छ,’ उनले भने । यसरी लामो समयसम्म लगानीकर्ताको सम्पत्ति बन्धक बनाउने नीतिलाई तत्काल परिमार्जन गर्न उनले माग गरे । उनले वषौंदेखि सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताले आफूले चाहेको बेलामा सेयर बेच्न नपाएको बताए ।
‘सेयरको भाउ बढेको बेला ती कम्पनीहरुको बेच्न नपाउँदा बजार घटेर लगानीकर्तालाई घाटा भएको छ । यो कुरा नियामक निकायले किन नबुझेको ?’ उनले प्रश्न गरे । धितोपत्र बोर्डका अध्यक्ष हमालले भने अनुसार नै आगामी साउनदेखि मर्जर तथा एक्विजिसनमा गएका कम्पनीहरुको सेयर कारोबार रोक्का नहुने हो भने चाहिँ लगानीकर्तालाई पक्कै पनि केही राहत मिल्नेछ ।