Market Closed

नेप्सेमा करेक्सन जारी रहँदा खरिदबिक्री रकममा पनि गिरावट

05 Jul,2022
  • bull_n_bear_4_12_2022_3_11_17.jpg
नेपाली पैसा
 
काठमाडौं : सेयर बजारमा करेक्सन जारी रहेको छ । ट्रेडरहरुले नाफा बुक गर्नेक्रम मंगलबार पनि जारी रहँदा बजारमा करेक्सन आएको हो । यस दिन नेप्से सूचक ४६.०८ अंकले घटेर २०३०.५९ विन्दुमा बन्द भएको छ । २ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत केही दिनको तुलनामा कम हो । खरिदकर्ताहरु पनि ‘पर्ख र हेर’ को अवस्थामा बसेपछि कारोबार रकममा ह्रास आएको विश्लेषण गरिएको छ । 
 
सेयर बजार करेक्सनहरु हुँदै अघि बढ्ने गर्दछ । बजार घट्ने र बढ्ने प्रक्रिया निरन्तर चलिरहन्छ । अहिले आर्थिक वर्ष सकिने बेला भएको छ । यससँगै सूचीकृत कम्पनीहरुले वर्षभरीको कमाई सार्वजनिक गर्ने दिन पनि नजिकिँदै गएको छ । लगानीकर्ताहरुमा सूचीकृत कम्पनीहरुको वित्तीय विवरण कस्तो आउँछ भन्ने चासो पनि बढ्दै गएको छ । यसअर्थमा, लगानीकर्ताहरु पनि अहिले ‘पर्ख र हेर’ को अवस्थामै देखिएका छन् ।
 
यता, केन्द्रीय बैंकले पनि साउन पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । मौद्रिक नीतिलाई पनि लगानीकर्ताहरुले चासोका साथ हेरिरहेका छन् । मौद्रिक नीतिमा समेटिने विषयवस्तुहरुले पनि सेयर बजारमा ठूलो प्रभाव पार्ने गर्दछ । विगत करिब १ वर्षदेखि बजार घट्नुको मुख्य कारण नै लगानीकर्ताहरुले चालु आर्थिक वर्षको मौद्रिक नीति भएको बताउँदै आएका छन् । नयाँ मौद्रिक नीतिमा विगतमा बजार घटाउने कारण बनेका नीतिहरु हटाउनुपर्ने लगानीकर्ताहरुले माग राख्दै आएका छन् । 
 
लगानीकर्ताको लगानी सम्बन्धी निर्णयमा सूचीकृत कम्पनीहरुको वित्तीय विवरण र नीतिगत विषयले ठूलो भुमिका खेल्ने भएकाले बजारमा पर्ख र हेरको अवस्था देखिएको हो । लगानीकर्ताले बजारको समग्र गति, कम्पनीहरुको वित्तीय विवरणका साथै मुलुकको वर्तमान अर्थतन्त्रलाई पनि ख्याल गरेर लगानी रणनीति बनाउनुपर्ने हुन्छ । साथै, अध्ययनका आधारमा दीर्घकालीन लगानी रणनीति बनाउनसक्दा बजारबाट अधिक फाइदा मिल्नसक्ने पनि अनुभवीहरुले सुझाव दिने गरेका छन् ।


 
यस दिन ८६ लाख १३ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ । सीवाईसी लघुवित्तको भाउ सर्किट लागेर बढेको छ । ३० करोड २० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली हाइड्रोपावर र शिवम् सिमेन्ट्स परेका छन् ।

Post Your Comment