Market Closed

डलरको तुलनामा भारतीय रुपैयाँ इतिहासकै कमजोर

05 Jul,2022
  • 1_3_7_2022_12_50_57.jpg
नेपाली पैसा
 
काठमाडौं : भारतीय रुपैयाँ (भारु) इतिहासकै न्यून विन्दुमा पुगेको छ । मंगलबारको कारोबारमा भारु अमेरिकी डलरको तुलना ४१ पैसाले घटेर हालसम्मकै कमजोर भएको हो । मंगलबारको कारोबारमा भारु प्रतिडलर ७९.३६ मा बन्द भएको छ । यस दिन भारु प्रतिडलर ७९.३८ विन्दुसम्म पुगेको थियो । सोमबार भने भारु प्रतिडलर ७८.९५ विन्दुमा बन्द भएको थियो ।
 
अन्तर्राष्ट्रिय बजारमा बलियो बनेको डलर र भारतको कमजोर घरेलु आर्थिक सूचकका कारण भारु पछिल्लो समय निरन्तर कमजोर बन्दै गएको छ । विश्व बजारमा कच्चा तेलको भाउमा उच्च वृद्धि भएसँगै भारतको व्यापार घाटा र चालु खाताको घाटा पनि फराकिलो बन्दै गएको छ । कस्चा तेलका साथै सुनको आयात पनि ह्वात्तै बढेपछि पछिल्लो समय भारतको व्यापार घोटा २५.६३ अर्ब अमेरिकी डलर पुगेको छ ।
 
यता, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर पुनः बढाउने संकेत गरेको छ । जसको आडमा डलर अझै बलियो भएर जाने अनुमान गरिएको छ । यसले भारतीय रुपैयाँ थप कमजोर बन्ने देखिन्छ । भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ । भारुसँग नेरुको स्थिर विनिमय दर भएका कारण भारुमा हुने हलचलको प्रत्यक्ष असर नेरुमा पर्ने गर्दछ ।

Post Your Comment